देउवाले कार्यबहाक सभापति निधीलाई तोके, पौडेल असन्तुष्ट


काठमाडौं– नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आफु दिल्ली भ्रमणबाट नफर्केसम्मका लागि पार्टीको कार्यबहाक सभापति नेता विमलेन्द्र निधीलाई तोकेका छन् । केन्द्रीय सदस्य तथा पुर्व महामन्त्री निधिलाई  ५ दिनका लागि कार्यबहाक सभापति तोकेको कांग्रेस कार्यलयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जनाएका छन् । 


त्यस्तै सभापति देउवाले भारत भ्रमणअघि चारजनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । कांग्रेस विधानअनुसार देउवाले पाल्पाका हरिप्रसाद नेपाल, बाराका हरेचन्द्र यादव, मोरङका अमृत अर्याल र ध्यानगोविन्द रञ्जितलाई पार्टीको केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरेका हुन् । 


त्यसैगरी कांग्रेस केन्द्रीय समितिको निर्णय अनुसार केस रमेश रिजालको संयोजकत्वमा उमाकान्त चौधरी, कमला पन्त, सुरेन्द्रराज पाण्डे, हृदयराम थानी सदसय रहेको केन्द्रीय अनुसाशन समिति गठन गरेको कांग्रेसले जनाएको छ । 

यता नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विमलेन्द्र निधिलाई कार्यबाहक सभापति दिएकोमा असन्तुष्टि जनाएका छन् । पार्टीभित्र कुनै छलफल नै नगरी प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाले निधिलाई कार्यबाहक दिएको भन्दै पौडेल आक्रोसित बनेका हुन्।

विधान अनुसार सभापतिको अनुपस्थितिमा पार्टी उपसभापति कार्यबाहक सभापति बन्ने व्यवस्था रहेको भएपनि उपसभापति नभएको अवस्थामा छलफलका आधारमा कार्यबाहक दिनुपर्ने उनले बताए । पार्टीमा छलफल गरेर सहमति गर्ने परम्परा हराएकोमा आफूलाई चिन्ता लागेको पौडेलले बताए ।