प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन दुई चरणमा हुन्छ : गच्छदार


काठमाडौं– कार्यबहाक प्रधानमन्त्री विजयकुमार गच्छदारले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन दुई चरणमा हुने बताएका छन् ।  सरकारले दुवै तहको निर्वाचन आगामी मंसीर १० गते गर्ने निर्णय गरेको थियो । तर कार्यबहाक प्रधानमन्त्री गच्छदारले मंसीर १० गते पहिलो चरणको निर्वाचन हुने र दोस्रो चरणको निर्वाचनको मिति अव तत्काल घोषणा गर्ने तयारी भईरहेको बताए ।
उनले पहिलो चरणमा हिमाल र पहाड तथा दोस्रो चरणमा तराईमा निर्वाचन हुने गरी तयारी गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगलाई दिएको  खुलासा पनि गरे ।
निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन एकैचरणमा गर्न नसकिने अडान राख्दै आएको छ । कार्यबहाक प्रधानमन्त्री गच्छदारले निर्वाचन आयोगको आग्रह समेतलाई ध्यानमा राखेर प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन दुई चरणमा गर्न सरकार प्रतिवद्ध रहेको बताए ।
नेपाल लोकतान्त्रिक फोरमको अध्यक्ष समेत रहेका उनले बुधबारबाट सुरु भएको पार्टी केन्द्रिय कार्य सम्पादन समितिको बैठकमा बोल्दै मंसीर २५ गते भित्र प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा सम्पन्न गर्ने सरकारको योजना पनि सुनाए ।

कार्यबहाक प्रधानमन्त्री गच्छदारले असोज २ गते स्थानीय तह तेस्रो चरणको निर्वाचन हुनेमा शंका नगर्न पनि आग्रह गरे । उनले स्थानीय तह तेस्रो चरणको निर्वाचनको तयारीमा जुटन नेपाल लोकतान्त्रिक  फोरमका पार्टी नेता कार्यकर्तालाई निर्देशन पनि दिए ।
गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले आसन्न निर्वाचनको तयारीका लागि आवश्यक रणनीति तय गर्न पार्टी केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।