फिन्ल्याण्डमा दौडेर बाढीपिडितका लागि रकम संकलन


 श्रवण खनाल ,हेल्सिन्की  

बाढी र डुवानले आक्रान्त बनेको नेपालका पूर्वी तथा मध्य तराईका प्रभावित ब्यक्तिहरुलाई थोरै मात्रामा भएपनी राहत प्रदान गर्ने उदेस्यले गैर आवाशिय नेपाली सँघ फिन्ल्याण्डले राजधानी हेल्सिन्कीमा दौड प्रतियोगिता आयोजना गरेको  छ।  हरेक साल नेपालको सामाजिक क्षेत्रमा केहि सहयोग पुर्याउने हेतुले आयोजना गरिँदै आएको उक्त कार्यक्रम फिन्ल्याण्डमा बसोबास गर्नुहुने नेपालीहरुमाझ निकै नै लोकप्रिय बन्दै गएको छ।

गत साल आयोजना गरिएको यस्तै प्रतियोगिता मार्फत रामेछाप जिल्लाको भुकम्प प्रभावित बिद्यालयको पुनर्निर्माणमा खर्च गरिएको थियो। यस बर्ष पनि उक्त प्रतियोगिता मार्फत सँकलन हुने रकम नेपालको दुर्गम भेगको शैक्षिक क्षेत्रमा खर्च गरिने गरी परीयोजना प्रस्ताव आह्वान गरिएको भयतापनी देशमा हालै गएको बिपत्तीमा सहयोग गर्नु बढि सान्दर्भिक हुने देखिएकोले सँकलित रकम त्यसतर्फ खर्च गर्ने  निर्णय गरिएको हो।अगस्ट १९, शनिबारका दिन राजधानी हेल्सिन्कीको माल्मी एअरपोर्टको वरीपरी झन्डै ६ किलोमिटरमा दौडाइएको उक्त प्रतियोगिता प्रतिस्पर्धात्मक भन्दा पनि मनोरन्जनात्मक हुने हुँदा साना बालक देखि प्रौढ उमेरका महिला तथा पुरुषहरु स्वतस्फुर्त रुपमा सहभागी भएका थिए। प्रतियोगीहरुलाई उमेरका आधारमा १६ बर्ष मुनी र माथि गरी दुई समुहमा बाँडेर प्रत्यक समुहबाट महिला तथा पुरुष तर्फ पहिलो, दोस्रो र तेस्रो हुनेलाई पदक तथा प्रमाणपत्र बितरण गरिएको थियो। प्रतियोगितामा भाग लिने धावक हरुले आफ्नो स्पोन्सर खोज्ने र उनिहरुले दिएको रकम आफ्नो टी-सर्टमा लेखेका थिए।प्रतियोगितामा एक जना सहभागी ब्योमा ताम्राकारले मात्रै २७०७ युरोको स्पोन्सोर पाउनु भएको थियो भने अन्य सहभागीहरु सबैले झन्डै ८३०० यूरो जम्मा गरेका थिए । गैर आवाशिय नेपाली सँघले दौड प्रतियोगिता मार्फत  सँकलित ऊक्त रकममा यहाँका अन्य सँघ सस्थाहरुले बिभिन्न प्रकारले सँकलन गरेको रकम समेत थप गरेर सँयुक्त रुपमा कुनै निस्चित क्षेत्रमा सहयोग गरिने जनाएको छ। तस्बिर: सन्तोष पन्त