प्रगतिशील महिला समूहद्वारा सम्मान


भीमपाणि वराल,
लेखनाथ,  साउन १०

लेखनाथ १२ ढुंगेपाटनस्थित प्रगतिशील महिला समूहले २०७० सालको प्रवेशिका परीक्षामा वडाभित्र उत्कृष्ट हासिल गर्ने विद्यार्थीलाई सम्मान गरेको छ ।

लेखनाथमा शनिबार आयोजित सम्मान समारोहमा सामुदायिकतर्फ उत्कृष्ट हुने त्रिभुवन शान्ति उच्च माविका छात्र सन्देश न्यौपाने र छात्रा प्रतिज्ञा भण्डारी निजीतर्फ गोल्डेन नेचर बोर्डिङका छात्र विशाल न्यौपाने र छात्रा रञ्जु न्यौपानेलाई सम्मान गरिएको हो ।

साथै सोही अवसरमा प्रगतिशील महिला समूहसँग आबद्ध पदाधिकारी तथा सदस्यका छोराछोरी मध्ये एसएलसी उत्तीर्ण ७ जनालाई सम्मान गर्दै उज्जवल भविष्यको कामना गरिएको थियो ।

समारोहमा प्रमुख अतिथि पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयका उपनिर्देशक खेमराज पौडेल, नेपाली काँग्रेस वडा समितिका सभापति दुर्गा सुवेदी, एमालेका वडा अध्यक्ष श्रीराम पोखरेल, नेपाल महिला संघका जिल्ला अध्यक्ष तारा अधिकारी,स्थानीय कौशिला अधिकारी, समूहका सल्लाहकार दुर्गा न्यौपाने, शिक्षासेवी गजेन्द्रप्रसाद च्वाइँ, मित्रलाल सापकोटा, लेखनाथ बाल संरक्षण क्लबका अध्यक्ष सविन तिवारीलगायतले बोलेका थिए ।

समूहका अध्यक्ष इन्दिरा तिवारीको अध्यक्षतामा भएको समारोहमा समूहका उपाध्यक्ष पुष्पा अधिकारीले स्वागत मन्तव्य र संचालन सचिव विष्णु भण्डारीले गरेकी थिइन्

सो अवसरमा लेखनाथ बाल संरक्षण क्लबका तर्फबाट विपन्नस्तरकी स्थानीय बालिका सुमित्रा रानालाई शैक्षिक सामग्री तथा स्थानीय जनसेवा बाल समूहलाई खेलकुद सामग्री हस्तान्तरण गरिएको थियो