राष्ट्रपति विद्या भण्डारीसँग प्रमुख तीन दलका शीर्ष नेताको भेटवार्ता


काठमाडौं–  राष्ट्रपति विद्या भण्डारीले प्रमुख तीन दलका शीर्ष नेताहरुलाई बोलाएर पहिरो, बाढी तथा डुवान समस्याबारे छलफल गरेकी छन् ।छलफलमा राष्ट्रपतिले हालै देशमा गएको वाढी, पहिरो र समसामयिक विषयमा चासो व्यक्त गर्दै वाढी पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार,राहत तथा पुनःस्थापनको उचित प्रवन्ध मिलाउन, प्राकृतिक प्रकोप न्युनिकरण गर्न अल्पकालीन र दीर्घकालिन रुपमा नदी प्रणालीलाई व्यवस्थित गर्न ध्यानाकर्षण गराएकी थिइन् ।यस्तै  विपत्ति लाई रोकथाम गर्न पूर्व तयारी हुनु पर्ने कुरामा पनि राष्ट्रपतिको जोड थियो ।

यस्तै आगो र बाढीबाट वढी प्रभावित हुने फुस र परालका घरहरुलाई विस्थापित गर्ने, नेपाली सँस्कृति र कलालाई महत्व दिएर नयाँ वस्ती विकास गर्ने तर्फ यथोचित ध्यान दिनु पर्ने कुरा औंल्याउदै राष्ट्रपतिले मुसहर, चमार, डोमजस्ता सिमान्तकृत र अति विपन्न समुदायको व्यवस्थित वसोवास र जीविकाको यथोचित प्रवन्ध गराउने  कुरामा जोड दिएकी थिइन् ।

यस्तै राष्ट्रिय हितलाई सर्वोपरी राखेर असंलग्न परराष्ट्रनीतिको सिद्धान्तका आधारमा साझा परराष्ट्रनीति अवलम्वन गर्न पनिध्यानाकर्षण ध्यानाकर्षण गराउँदै राष्ट्रपतिले राजनीतिक समझदारीका साथ संविधान कार्यान्वयन गर्न सवै लाई आग्रह गरेको पनि राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता प्रह्लाद प्रसाद पुडासैनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त भेटघाट कार्यक्रममा प्रधानमन्त्री शेर बहादुर देउवा, विपक्षी दलका नेता के.पी. शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड,  कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, एमाले उपाध्यक्ष वामदेव गौतम र माओवादी  नेता नारायणकाजी श्रेष्ठको उपस्थिति रहेको थियो ।