आदिवासी जनजातिको अधिकार सुनिश्चित हुनुपर्छ : उपप्रम श्रेष्ठ


पोखरा – उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले आदिवासी जनजातिको अधिकार सुनिश्चित हुनुपर्ने बताउनुभएको छ ।
तमु धिं नेपालद्धारा मंगलवार पोखरामा आयोजना गरिएको ट्होटें पर्वको समारोहका प्रमुख अतिथि श्रेष्ठले आदिवासी जनजाति, कर्णाली, दलित लगायत उत्पिडित समुदायको अधिकार सुनिश्चित भएको समावेशी लोकतन्त्रबाट मुलुक समृद्धितर्फ लम्कने भएकाले आदिवासी जनजातिको अधिकार सुनिश्चित हुनुपर्ने बताउनुभएको हो । समावेशी लोकतान्त्रिक अधिकारका लागि आफु लगायत नेपाली काँग्रेस कटिवद्ध रहेको उहाँको भनाई थियो ।

दासत्व नस्विकार्ने, बीर गोर्खाली, स्वतन्त्र नेपाली, लोकतन्त्रको सेनानीमा गर्व गर्ने उपप्रधानमन्त्री श्रेष्ठले चार नम्बर प्रदेशलाई सम्बृद्ध बनाउन सबैको जुट्नुपर्ने बताउनुहुदै काठमाडौं पोखरा हुदै आँकीखोलमा सुरुङले जोड्ने बताउनुभयो ।उहाँले सँस्कृतिक संरक्षणमा तमु समुदायकै साथमा रहेको बताउनुहुदै तमु समाजसँग आफ्नो र नेपाली काँग्रेसको प्रगाढ सम्बन्ध रहेको भन्नुहुदै ट्होटेमा गोपालमान श्रेष्ठलाई गुरुङ बनाउदा आफु खुशीले गदगदभएको बताउनुभयो । उपप्रधानमन्त्री भन्दा पनि बढी काँग्रेस वक्ता झै देखिने गरी मन्तव्य व्यक्त गर्नुभएका श्रेष्ठले नेपाली काँग्रेस र तमु समुदायको प्रगाढ सम्बन्ध, प्रजातान्त्रिक आन्दोलनमा तमु समुदायको योगदान, पोखराका तमुहरुसँगको सम्बन्ध लगायत तमु धिं नेपालकी अध्यक्ष कर्म तमुको प्रसंशा गर्दै लिखित मन्तव्य व्यक्त गर्नुभएको थियो ।

तमु धिं नेपालमा आयोजित समारोहमा नेवा खल कास्कीका उपाध्यक्ष तथा संस्कृतिकर्मी प्राज्ञ तीर्थ श्रेष्ठले मन्तव्य व्यक्त गर्नुहुदै राज्यले सबै सँस्कृतिलाई समान रुपले सम्मान दिन नसकेको गुनासो गर्नुभयो । उहाँले सबैको मुलुक भन्ने वातावरण जरुरी छ भन्नुहुदै वर्तमानको दैवि प्रकोपमा राज्यले उचित भुमिका खेल्न नसकेको आरोप लगाउनुभयो । श्रेष्ठले पोखरामा रहेका समुदायहरुको विचको हार्दिक र एकता अभिवृभि हुदै गएको भन्दै खुशी व्यक्त गर्नुभयो ।
कार्यक्रममा तमु हिमाली साँस्कृतिक परिवार, स्टार्स स्टुडियो, आँधीखोला तमु समाज, कोल्माबहाकोट तमु समाज, चिउली पार्चे तमु समाज, अर्घौ तमु समाज, मुस्कान गुरुङले नृत्य प्रस्तुत गरी मनोरञ्जन दिलाएका थिए ।

उक्त कार्यक्रममा ट्होटें पर्वका लागि सहयोग प्रदान गर्नुहुने सहयोगदाताहरुलाई प्रमुख अतिथि उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ, कास्कीका प्रमुख जिल्ला अधिकार तारानाथ अधिकारी, तमु धिं नेपालकी अध्यक्ष कर्म तमु, साँस्कृतिक संयोजक मेनकाजी तमु लगायतले सम्मान गर्नुभएको थियो ।

तमु धिं नेपालकी अध्यक्ष कर्म तमुको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत साँस्कृतिक संयोजक मेनकाजी तमु, ट्होटे पर्वको औचित्वबारे प्रथम उपाध्यक्ष सरस्वती तमुले मन्तव्य व्यक्त गर्नुभएको थियो भने संचालन महासचिव गिरीप्रसाद तमु र सहसचिव दुर्गाबहादुर तमुले गर्नुभएको थियो ।
यस अघि पोखरा १ बगर टुँडिखेलमा प्रमुख अतिथि श्रेष्ठ, पोखरा लेखनाथ महानगरपालिकाकी उपमेयर मञ्जुदेवी तमु, तमु धिं नेपालकी अध्यक्ष कर्म तमु, साँस्कृतिक संयोजक मेनकाजी तमु लगायतले धुप हाली ट्होटें र्यालीको शुभारम्भ गर्नुभएको थियो ।

झाँकी, बाजागाजासहित टुँडिखेलबाट शुरुभएको ट्होटें र्याली, बागबजार, विन्दवासिनी, भैरबटोल, नालाको मुख, सिद्धार्थचोक, चिप्लेढुंगा, महेन्द्रपुल, नयाबजार हुदै तमु धिं नेपालमा पुगी समारोहमा परिणत भएको थियो । र्यालीमा तमु समाजहरु, आदिवासी जनजाति संंघ संस्था, विभिन्न समुदायगत र विभिन्न संघसंस्थाको बृहत सहभागीता रहेको थियो ।

ट्होटेंमा फूलवारी तमु समाज प्रथम

तमु जातिको परम्परागत साँस्कृतिक पर्व ट्होटे तमु धिं नेपालको आयोजनामा मंगलवार पोखरामा भव्यताका साथ सम्पन्न भएको छ ।
पोखरा १ बगर टुडिखेलबाट शुरु भएको प्रतियोगितात्मक ट्होटें र्यालीमा फूलवारी तमु समाज प्रथम हुदै पुरस्कृत भएको छ । प्रथम भएको फूलवारी तमु समाजले १५ हजार, ट्रफी, प्रमाणपत्रसहित पुरस्कृत भएको हो । यस भन्दा अघि सबै भन्दा बढी करिब १२ पटक भन्दा बढी फूलवारी तमु समाज सर्वोत्कृष्ठ हुदै पुरस्कृत भइसकेको छ ।

प्रतियोगितामा दुधपोखरी तमु समाज दोश्रो, चिउली पार्चे तमु समाज तेश्रो हुदै क्रमश १० र ५ हजार रुपैयासहित ट्रफी, प्रमाणपत्रसहित पुरस्कृत बन्यो । यसरी नै युवा सहभागीतामा जोगीमणी तमु समाज उत्कृष्ठ हुदै ५ हजार रुपैयासहित पुरस्कृत भयो । यसैगरी बगर तमु समाज, सुर्यमुखी तमु समाज र सिमपानी तमु समाजले सान्त्वना स्थान हासिल गर्दै जनही तीन हजार रुपैयासहित पुरस्कृत भयो ।

यसरी नै घाँटु र झोडासहित सहभागी कोल्माबहाकोट तमु समाज र आँधीखोला तमु समाजलाई जनही दुई हजार रुपैयासहित पुरस्कृत गरिएको थियो । प्रतियोगिताको नतिजाको घोषणा मूल्यांकन समितिका संयोजक तमु धिं नेपालकी सचिव अधिवक्ता जुनाकुमारी तमुले गर्नुभएको थियो । समितिको सदस्यहरुमा डा.दीर्घमान तमु, सुमे श्रीप्रसाद तमु र श्रीजंग तमु रहनु भएको थियो ।

विजेता समाजहरुलाई पोखरा लेखनाथ महानगरपालिका वडा नं. १० का वडा अध्यक्ष राजकुमार तमु, वडा नं. २० का अध्यक्ष सिम तमु, तमु धिं नेपालकी अध्यक्ष कर्म तमु, साँस्कृतिक संयोजक मेनकाजी तमु लगायतले पुरस्कृत गर्नुभएको थियो ।
प्रथम पुरस्कार आरएमसी पोखरा, दोश्रो पुरस्कार माउण्टेन ओभरल्याण्ड टुर्स एण्ड ट्राभल्स, तेश्रो पुरस्कार सँस्कृतिकर्मी बुद्धिमान धम्पु, युवा सहभागीता पुरस्कार गुरुङ चलचित्र मुर्बै मुसारा र सान्त्वना पुरस्कार पोखरा १० मिलन मार्गका राजु गुरुङ, बालविद्या मन्दिर बोर्डिङ स्कुल र स्टार्स स्टुडियोकी जसु तमुले प्रायोजन गर्नुभएको साँस्कृतिक संयोजक मेनकाजी तमुले जानकारी दिनुभयो ।

यसैविच तमु धिं नेपालद्धारा पोखरामा आयोजित ट्होटें समारोहमा प्रथम पटक सगरमाथा आरोहण गरेकी दुई तमु चेलीहरु सम्मानित हुनुभएको छ ।
सगरमाथा आरोही संखुवासभाकी भुमिका तमु र गोरखा गुम्दाकी नानुमाया तमुलाई कार्यक्रमका प्रमुख अतिथि उपप्रधान तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठले सम्मानपत्रसहित सम्मान गर्नुभएको थियो ।

तमु चेलीहरुले गत जेठ ७ गते सगरमाथाको सफल आरोहण गरेका थिए । उहाँहरुलाई साहसीक नारी तथा तमु समुदाय, नेपाली महिला एवं समग्र नेपाली कै गौरब अभिवृद्धि गरेको भन्दै सम्मान गरिएको तमु धिं नेपालका महासचिव गिरीप्रसाद तमुले जानकारी दिनुभयो ।