बाढी पहिरोमा ९१ जनाको मृत्यु, २५ जना घाइते र ३८ जना बेपत्ता (अपडेट)


काठमाडौं– केही दिनयताको अविरल वर्षाको कारण आएको बाढी, पहिरो र डुबानका कारण अहिलेसम्म ९१ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयले सोमवार विज्ञप्ति जारी गरी सोमवारसम्म बाढी पहिरोले ९१ जनाको मृत्यु, २५ जना घाइते र ३८ जना बेपत्ता भएको जानकारी दिएको हो ।

बाढीपहिरोका कारण २ हजार ८ सय ४७ घरहरु पूर्ण क्षति भएका छन् भने ३ हजार ७ सय २७ विभिन्न पूर्वाधार संरचनाहरुमा क्षति भएको छ ।

गृहमन्त्रालयकाअनुसार बाढी प्रभावितहरुको उद्धारका लागि सुरक्षाकर्मीसहित २६ हजार ७ सय बढी जनशक्ति परिचालन भएका छन् । खोज, उद्धार र राहत वितरणका लागि नेपाली सेनाका सात, निजी क्षेत्रका ६ वटा हेलिकोप्टरसहित मोटरबोट, रबरबोट लगायतका साधनहरु प्रयोग गरिएको पनि गृहले जनाएको छ ।

गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिमा विभिन्न जिल्लामा बाढीपीडितलाई वितरण गरिएको राहतको विवरणसमेत उल्लेख गरिएको छ । तराईका १२ जिल्लामा वितरित राहत विवरण उल्लेख छ ।

सोमवार नै प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, गृहमन्त्री जनार्दन शर्माले बारा, पर्सा, रौतहट, सार्लही, महोत्तरी, धनुष, सिरहा, सप्तरी, मोरङ, सुनसरी र झापा जिल्लाका बाढी पहिरो र डुबानबाट प्रभावित क्षेत्रको निरीक्षण गरी स्थानीय प्रशासनलाई राहत विरतरणमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएको गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।