बाढी र डुबानका कारण विश्वमै दुर्लभ मानिएका वन्यजन्तु मरे


काठमाडौं – लगातारको वर्षापछि आएको बाढी र डुबानका कारण विश्वमै दुर्लभ तथा लोपोन्मुख मानिएका वन्यजन्तु समेत मरेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले कोसी टप्पु वन्यजन्तु आरक्ष, चितवन र बर्दिया राष्ट्रिय निकुञ्जमा रहेका संरक्षित वन्यजन्तु बाढी र डुबानका कारण मरेको जानकारी दिए ।

चितवनमा एकसिङ्गै गैंडाको दुई वर्षको बच्चालाई नारायणी नदीले बगाएपछि मृत्यु भएको छ भने बर्दियास्थित कृष्णसार संरक्षण क्षेत्रका तीन दर्जनभन्दा बढी कृष्णसारलई बाढीले बगाएको छ । चिवनमा नारायणी र राप्ती नदीमा आएको बाढीले अझ बढी वन्यजन्तु मरेको हुन सक्ने विभागले अनुमान गरेको छ ।

बाढीका कारण चितवन राष्ट्रिय निकुञ्जभित्र जान सक्ने अवस्था नरहेकाले त्यहाँभित्र कति वन्यजन्तु मरे भन्न सक्ने अवस्था अझै नरहेको निकुञ्जका अधिकारीहरूले बताए । चितवनमा दर्जनौं मृग, हरिण, जरायो, बँदेल लगायतका वन्यजन्तु बगाएर मरेका हुन सक्ने आशङ्का गरिएको छ ।

सौराहामा डुबान हुँदा हात्तीसारका हात्तीलाई पनि सुरक्षित स्थानतर्फ लगिएको छ ।

कृष्णसार संरक्षण क्षेत्रका प्रमुख पुरुषोत्तम शर्माले बाढीले ३० देखि ४० वटा कृष्णसार बगाएको जानकारी दिए । त्यहाँ २७५ वटा कृष्णसार रेकर्ड गरिएको थियो । बाढीले बगाउनु केही दिनअघि त्यहाँ चितुवाले तीन वटा कृष्णसार खाएको थियो । कृष्णसार नेपालको संरक्षित जनावर हो भने यो जनावर नेपालको बर्दियामा मात्र संरक्षण गररे राखिएको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।