तटीय क्षेत्रमा बाढीको खतरा, सुरक्षित ठाउँमा बस्न पूर्वानुमान शाखाकोआग्रह


काठमाण्डौ – अर्को सूचना नआएसम्म सुरक्षित ठाउँमा बस्न बाढी पूर्वानुमान शाखाले नदी तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ। लगातार दुई दिनदेखि परेको पनी आइतबार पनि जारी रहेकाले विभिन्न नदीमा पानीको सतहले खतराको तह पार गर्ने सम्भावना भएको भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सावधानी अपनाउन बाढी पूर्वानुमान शाखाले अनुरोध गरेको हो।

पूर्वमा झापा, इलाम, सुनसरी, मोरङ, सप्तरी उदयपुर, जनकपुर, धनकुटाका मेची, निन्दा, बिरिङ, कन्काई, पथरी, त्रियुगा, बुढीखोला, रातु कमला लगायतमा सोमबार बिहानसम्म नै उच्च जोखिम छ । यस्तै पश्चिममा कञ्चनपुर, कैलाली र बर्दियाका चुरे र महाभारतबाट प्रवाह हुने पश्चिम राप्ती, बबई लगायतका नदीमा सोमबार बिहानैसम्म उच्च जोखिम भएकाले सुरक्षित ठाउँमा बस्न शाखाले अनुरोध गरेको छ ।

शाखाका अनुसार बबई नदीमा पानीको सतह अहिलेसम्म कै उच्च पुगेको छ। त्यहाँ पानीको सतह खतराको तह भन्दा धेरै माथि ९ दशमलव ९ मिटर पुगेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई आइतबार बेलुकासम्म नै सुरक्षित ठाउँमा बस्न बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ।

यस्तै पूर्वी राप्तीको रजैया र चितवनको माडीको रिउखोलामा पानीको सतहले खतराको तह पार गरेको छ। सोमबार बिहानसम्म नै रौतहट, सर्लाही, मकवानपुर, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, बागमती, पूर्वराप्ती, रिउ खोला, विनय खोला, अरुण खोला, तिनाउ, बाणगंगा लगायतका नदीमा उच्च जोखिम रहेकाले उच्च सतर्कता अपनाउन शाखाले अनुरोध गरेको छ ।