पोखराका होटल ब्यवसायी सफा पानीको माग गदै खानेपानी संस्थानमा


पोखरा – पोखरेलीले वर्षायाम सुरु भएसंगै धमिलो पानी खानुपर्ने बाध्यता सृजना भएको छ । खानेपानी धमिलो भएपछि पर्यटकीय शहर पोखराका होटल ब्यवसायी सफा पानीको माग गदै खानेपानी संस्थानको कार्यालय पुगेका छन् । धारामा धमिलो पानी आउन थालेपछि पश्चिमाञ्चल होटल संघ पोखराको एक टोली बुधबार नेपाल खानेपानी संस्थानको पोखरा शाखा पुगेर शुद्ध पानी वितरणको माग गरेको हो ।

संघका अध्यक्ष विकल तुलाचनको नेतृत्वमा संस्थानमा पुगेको टोलीले धारामा लेदो माटो सहितको धमिलो पानी आएको र उक्त पानी पिउन योग्य नभएको अवगत गराएको थियो । सबै उपभोक्ता निजी कम्पनीको पानी किनेर खान सक्ने हैसियतको नभएको भन्दै तुलाचनले शुद्ध पानी पिउन पाउने नागरिकको अधिकार भएको भन्दै यथाशक्य शुद्ध पानी वितरण गर्न संस्थानसँग तुलाचनले माग गर्नुभयो ।फोहोर पानीले रोगको महामारी फैलने डर पनि उत्तिक भएको संघका महासचिव गणेशराज पहारीले सुनाउनुभयो । सो अवसरमा संघका उपाध्यक्ष भेकेन्द्रकुमार श्रेष्ठ, सचिव राजेन्द्र ढकाल र कोषाध्यक्ष पार्वती पाण्डेले पनि पानीकै कारण विभिन्न रोग निम्तिने भन्दै सफा पानीको ब्यवस्था गर्न माग गर्नुभयो ।

नेपाल खानेपानी संस्थान पोखराका प्राविधिक अधिकृत दिनेश्वरप्रसाद यादवले पोखरामा पानी आउने मुहान क्षेत्र वरपर गएका पहिरोहरु, सडक संजालको विस्तार तथा बस्ती बढेसँगै खानेपानी धमिलो आएको बताउनुभयो । विगत केही दिन देखिको फोहोर पानीको कारण भने पहिरो भएको उहाँले सुनाउनुभयो । मर्दीखोलाबाट १६ इन्च र २० इन्चका पाइपबाट ल्याइएको पानी विना कुनै उपचार पोखराको विन्ध्यबासिनीमा भएका संस्थानको ट्यांकीमा खसाल्ने गरेको र त्यहाँ क्लोरिन मिसाएर पोखरामा पानी वितरण गर्ने गरिएको उहाँले जानकारी दिनुभयो ।

हामी पनि लेदो पानी पठाउने कि नपठाउने भनेर दोधारमा थियौं, तर धेरै दवाव आएपछि धमिलो नै भए पनि वितरण गरिरहेका छौं, उहाँको भनाई थियो । खोलाको पानी सिधै वितरण गर्ने वर्तमान अवस्था अझै चार वर्ष समाधान नहुने संस्थानले बताएको छ । खानेपानी ट्रिटमेन्ट प्लान्ट बनाउनका लागि संस्थानले जाइकालाई जिम्मा दिएको छ । चार अर्व रुपैयाँ हाराहारीको लागतमा जाइकाले मर्दीबाट पोखरा आउने पानी उपचार गर्ने कार्यक्रमका लागि टेण्डर आव्हान गर्न बाँकी छ । ट्यांकी लगायतका अन्य निर्माण कार्यका लागि जग्गा अधिग्रहण गरी मुअव्जा वितरणको काम करिव सकिएको बताइएको छ । तर पोखरामा मर्दी बाहेक भोटीखोला, कालिमुढा, माझकुला र घट्टेकुनाबाट पनि पानी आउँछ । मर्दीमा ट्रीटमेन्ट प्लान्ट बनाउने अन्यत्रबाट आउने पानीका लागि नबनाउने गर्दा समस्या समाधान नहुने प्राविधिक यादवले बताउनुभयो ।

यसैगरी पानी फोहोर नहोस् भनी मर्दीको मुहान क्षेत्र वरपर पोखरामा आउने पानीको मुख्य मुहानमाथि शैदी घट्टा, सिदिङ्ग, लुम्रे, घलेल, खोराकोमुख, रिभान मा महिला पुरुषका लागि सार्वजनिक शौचालय, कपडा धुने ठाउँ र शव दहन गृह बन्दै गरेका छन् । मुहान क्षेत्रमा मर्दी खोला किनारमा लास पनि जलाउने गरिएकोमा त्यसका लागि उल्लेखित काम सुरु भएको हो ।संस्थानका अनुसार पोखरामा चौबीसै घण्टा पानी पुर्याउन दैनिक ६ करोड ५० लाख लिटर आवश्यक छ । हाल बर्खामा दैनिक ४ करोड ५० लाख र अन्य मौसममा ४ करोड लिटर मात्रै वितरण भइरहेको छ । पोखरामा ४० हजार खानेपानीका ग्राहक छन् ।