जनैपूर्णिमा पर्वमा विन्ध्यवासिनी मन्दिरमा भत्तजनको भिड


पोखरा – श्रावण शुक्ल पूर्णिमाका अवसरमा शुक्रबार जनैपूर्णिमा पर्वमा पोखराको प्रसिद्ध धार्मिकस्थल विन्ध्यवासिनी मन्दिरमा भत्तजनको भिड लाग्यो । विहानै देखि मन्दिर परिसरमा जनै लगाउनेहरुको भिड लागेको थियो ।जनैपूर्णिमाका दिन सधै जनै लगाउनेहरुको भिड लाग्ने गर्छ ।

 

आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन अनुसार मन्दिरमा रहेका ब्राह्णहरुबाट रक्षा बन्धन गर्नेहरुको भिड दिनभर मन्दिरमा लागेको थियो ।दिदिबहिनि नहुने, काम विशेषले टाढाबाट आएर विभिन्न पेशा र ब्यवसाय गरेका ब्यक्तिहरुले मन्दिरमा गएर जनै तथा नाडिमा रक्षा बन्धन गरेका थिए ।

हिन्दु धर्मावलम्बीहरुले रक्षाबन्धन गरि शुक्रबार जनैपूर्णिमा पर्व मनाए । आफ्नो सुरक्षा, रोगव्याधी नलागोस्, सुख, शान्ति र समृद्धि होस् भन्ने कामनासहित नाडीमा बाँधी रक्षाबन्धन गर्दछन् ।

यसैगरी ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय पोखराले रक्षाबन्धन पर्वको पावन अवसरमा पोखरामा रहेका २० वटै सेवाकेन्द्रहरुमा स्नेहमिलन, रक्षाबन्धन ग्रहण, अवगुण दान सद्गुण धारण प्रतिवद्धता, एवम् प्रसाद वितरण कार्यक्रमहरु सम्पन्न गरेको छ ।


ब्रह्माकुमारी संस्थाको क्षेत्रीय कार्यालय नयाँबजार पोखरामा आयोजित रक्षाबन्धन ग्रहण एवम् स्नेहमिलन कार्यक्रममा रक्षाबन्धन पर्व मनाउनुको सन्दर्भ प्रष्ट्याउँदैै कार्यक्रमका अध्यक्ष तथा संस्थाका निर्र्देशक राजयोगिनी परणिता दिदीले विभिन्न प्रकारका विकार विकृति, खराब बानी बेहोरा नराम्रो सोच संकल्प, अपवित्रता आदिबाट प्रथमतः आफ्नो रक्षा गर्नु, अनि परिवार, समाज र समग्र राष्ट्र«कै रक्षा गर्नु नै वास्तविक रक्षाबन्धनको मर्म भएको कुरा बताउनुभएकोे थियो । कार्यक्रममा दिदीले संस्थाको अन्तर्राष्ट्रिय मुख्यालय आबु राजस्थानबाट मुख्य प्रशासिका १०२ वर्षिया राजयोगिनी डा.दादी जानकीले पठाउनुभएको रक्षाबन्धनको हृदयस्पर्शी सन्देश वाचन गर्नुभएको थियो ।

 

प्रमुख अतिथि रहनुभएका पोखरा लेखनाथ महानगरपालिकाका नगर प्रमुख मान बहादुर जी सीले शुभकामना सन्देश दिदै विभिन्न सामाजिक, आर्थिक, मानसिक समस्याहरुले ग्रस्त वर्तमान समाजमा हरेकलाई मर्यादा र अनुशाष्सनको डोरीमा बाँध्ने प्रयत्न गर्ने यो एउटा धार्मिक पर्व हो भने सबैको रक्षा होस् भनेर मर्यादाको बन्धनमा आफै बाँधिने एवं प्रतिबद्धता हुने यो एउटा शुभ अवसर पनि हो भन्ने कुरा बताउनुभएको थियो । सोही अवसरमा उहाँले डा.दादी जानकीले पठाउनुभएको आकर्षक राखी उपस्थित जनसमुदायविच प्रदर्शन गर्नुका साथै संस्थाका निर्देशक राजयोगिनी परणिता दिदीलाई हस्तान्तरण गर्नुभएको थियो । उहाँलाई नै सर्वप्रथम रक्षाबन्धन ग्रहण गराएर रक्षासूत्र बाँध्ने कार्यक्रमको शुभारम्भ भएको थियो ।

 

कार्यक्रममा सहभागी पूर्व सासंद शुक्रराज शर्मा, कृषि अनुसन्धान निर्देशक शरद चन्द्र श्रेष्ठ, पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, एस. एस. पी. घनश्याम अर्याल, साल्ट ट्रेडीङ्का प्रमुख सुरेश राज भण्डारी, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका पूर्व मे.सु. कृष्ण श्रेष्ठ, डा. निरज दुबे, पत्रकार एवम् अधिवक्ता सुष्मा पौडेल , डा. तिर्थलाल उपाध्याय, डा. राजेन्द्र मनन्धर,समाजसेवी रविन्द्र माकाजु, इन्जिनीयर यम ब. थापा लगायत विभिन्न कार्यालय तथा सामाजिक, धार्मिक, संघसंस्थाका प्रमुख, उद्योगी, व्यापारी, डाक्टर, इन्जिनीयर एवं सर्व साधारण समेत समाजका विभिन्न क्षेत्रका करिब दुई हजार अध्यात्मप्रेमीहरुलाई ब्रह्माकुमारी परणीता दिदीले रक्षाबन्धन बाँधि प्रसाद र जीवनउपयोगी सन्देशयुक्त कार्ड वितरण गर्नुभएको थियो ।

 

रक्षाबन्धनको अवसरमा ब्रह्माकुमारीज पोखराले जील्ला ट्राफिक कार्यालय, पश्चिमाञ्चल जील्ला कारागार एवम् सशस्त्र प्रहरी कालिका गण, घुम्ती नेपाल, बाल सुधार केन्द्र लगायतका स्थानहरुमा पनि रक्षाबन्धन ग्रहण गराई प्रसाद वितरण कार्यक्रम सम्पन्न गरेको थियो । सहभागी हजारौंले निकै उत्साहपूर्वक यसै दिनदेखि आफूभित्रका काम, क्रोध, लोभ, मोह, अहंकार, अशुद्ध आहार एवं दुव्र्यसन जस्ता अवगुणहरुलाई दान पत्रमा दान दिएर त्याग्ने प्रतिबद्धता जनाएका थिए ।