कास्कीलाई तरकारीको सुपरजोन बनाइदै


पोखरा – प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना (सुपरजोन) अन्तर्गत कास्कीमा तरकारी सुपरजोनको काम तिव्र रुपमा भइरहेको छ । परियोजना अन्तर्गत कास्कीमा ११ वटा कृषी फार्मले तरकारीका विभिन्न क्षेत्रमा काम गर्ने उद्धेश्यसहित भौतिक पूर्वाधार निर्माणलाई तिव्रता दिएका हुन् ।

कृषीलाई आधुनिकीकरण गर्ने, औद्योगिककरण र व्यबस्थित बजारीकरण गर्ने उद्धेश्यले सरकारले सुपरजोन परियोजना शुरु गरेको हो । श्रोत, लगानी र जनशक्तिका हिसाबले यो नेपालकै सबैभन्दा ठूलो परियोजना हो । पोखरा आवाज दैनिकमा खबर छ । जस अन्र्तगत कास्कीलाई तरकारीको पकेट क्षेत्र (सुपरजोन) घोषणा गरेर काम अघि बढाइएको छ । यसका लागि गत आर्थिक वर्ष २०७३÷७४ मा ११ करोड ६१ लाख ७० हजार रुपैयाँ छुट्याइएको र सोही बजेट अन्तर्गत अहिले काम भइरहेको प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई सुपरजोन कास्कीका प्रमुख तथा बरिष्ठ कृषी अधिकृत वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।

परियोजना अन्तर्गत दुई किसिमका क्षेत्रमा फरक÷फरक तरिकाले सरकारले अनुदान दिएको छ । तरकारी सुपरजोनका लागि औजार÷उपकरणको क्षेत्रमा काम गर्नका लागि सरकार र कृषकले बराबर अर्थात पचास÷पचास प्रतिशत र उत्पादन र उत्पादोनोपरान्त (पोष्ट हार्भेस्ट) को क्षेत्रमा सरकारले ८५ प्रतिशत र कृषकले १५ प्रतिशत लगानी गर्ने प्रमुख श्रेष्ठले बताए ।

परियोजना अन्तर्गत कास्कीमा उत्पादना ५ वटा फार्मले र अन्यमा ६ वटा फार्मले स्विकृति पाएर काम गरिरहेका छन् । जस अन्तर्गत चाउथेमा केवलबहादुर गौतमले खाम घले कृषी फार्म, पोखरा–१४ भोटेचौतारीमा दलबहादुर गुरुङसहितको समूहले दुधपोखरी कृषी फार्मको नाममा, हेमजामा हेमजा देविस्थान कृषी सहकारी संस्था, लेखनाथ तल्लो गगनगौंडामा वर पिपल कृषी फार्म र बुढीबजारमा सुरेन्द्र थापाले समृद्धी एग्रीकल्चर प्रालिको नाममा हाईटेक ग्रीन हाउस निर्माण गरिरहेका छन् ।

त्यस्तै, मल उत्पादनका लागि इको प्राङ्गरिक मल फार्मले काम अघि बढाएको छ । यसले प्राङ्गरिक मल बनाउने प्रमुख श्रेष्ठले जानकारी दिए । उनका अनुसार इको प्राङ्गरिक मल फार्मले शान्ति वन वाटीकास्थित कृषी उपज तथा तरकारी थोक बजार (सब्जीमण्डी)को फोहोर लगेर मल बनाउने जिम्मासमेत पाएको छ । उसले सुपरजोन क्षेत्र अर्थात पोखरा लेखनाथ महानगरपालिकाका एक हजार हेक्टर क्षेत्रफल भित्रका किसानलाई सहुलियत दरमा मल उपलब्ध गराउनुपर्नेछ ।

यसैगरी, कालिका कृषी सहकारी संस्था भरतपोखरीले साना सिंचाई मर्मतको काम गर्नेगरी प्रक्रिया अघि बढाएको छ । प्राकृतिक श्रोत ब्यबस्थापन कलेज पुरुञ्चौरले कृषी अनुसन्धान अध्ययन संस्थानको रुपमा काम गर्नेगरी तयारी थालेको छ । वराल कृषी फार्म र हिमालय इको फार्मले उत्पादन पछिको बजारीकरण (उत्पादोनोन्मुख) काम गर्नेगरी पूर्वाधार निर्माण गरिरहेको छ । अन्नपूर्ण एग्रो फार्म नागढुंगा पोखराले तरकारी कलेक्सन गरेर विक्री वितरण गर्नेगरी र लेखनाथ सामुदायिक कृषी समितिले कृषी प्रविधी केन्द्र स्थापना गर्नेगरी काम अघि बढाएको श्रेष्ठले बताए ।

कास्कीलाई १० वर्षभित्र तरकारीमा पूर्ण आत्मनिर्भर बनाई छिमेकी जिल्लामा निर्यातसमेत गर्ने उद्धेश्य अनुरुप काम भइरहेको उनले बताए । परियोजना अन्तर्गत आर्थिक वर्ष २०७४÷७५ मा समेत कृषक छनौट गरी काम गर्न स्विकृति दिइने उनको भनाई छ ।

हाइटेक ग्रीन हाउस निर्माण अन्तिम चरणमा

उत्पादनको क्षेत्रमा काम गर्ने स्विकृति पाएका ५ कृषी फार्मले अहिले हाइटेक ग्रीन हाउस निर्माण अन्तिम चरणमा पु¥याएका छन् । उनीहरुले साउन अन्तिम वा भदौ पहिलो हप्तादेखी तरकारी बिऊ राखेर कात्तिक भित्र उत्पादन गर्नेगरी काम अघि बढाएका बताएका छन् । यस अन्तर्गत हाइटेक ग्रीन हाउस लगभग तयार भइसकेका छन् भने केही प्राविधिक काम बाँकी रहेकाले ति सबै काम सकेर केही दिनमै माटो खनजोतको काम शुरु गर्ने तयारी गरिएको छ ।

के हो हाईटेक ग्रीन हाउस ?

हाइटेक ग्रीन हाउस अत्याधुनिक खालको अर्गानिक तरकारी उत्पादन गर्ने वातावरण अनुकुलित घर हो । घाम र पानी दुबैबाट बच्नेगरी तरकारी क्षेत्र सबै ठाउँमा ईजराईली प्रविधि अप्नाइएको हुन्छ ।

प्लाष्टिक र जालीले ढाकिएका कारण ग्रीन होम भित्र किटाणुसमेत पस्न सक्दैन । यो बनाउँदा जमिन मूनिबाटै प्लाष्टिक राखेर ३ तहले बेरिएको हुन्छ । तल्लो र बिचको दुई प्रकारको जाली प्रयोग गरेर बेरिएको हुन्छ भने सबैभन्दा माथिल्लो तहमा प्लाष्टिकले ढाकिएको हुन्छ । गर्मीमा प्लाष्टिक फोल्डिङ गरेर आवश्यक्ता अनुसार वातावरण अनुकुलन गरिन्छ भने जाडोमा पूरै ढाकेर तापक्रम अनुकल बनाईन्छ ।

कतैबाट पनि बाह्य किटाणु प्रवेश नगरोस् भन्नका लागि २ वटा गेट निर्माण गरिएको हुन्छ । एउटा गेटबाट जमिन जोत्ने ट्रयाक्टर मात्र प्रवेश गर्ने र अर्को गेटबाट मान्छे मात्र प्रवेश गर्ने ब्यबस्था हुन्छ । ट्रयाक्टर वा मान्छे प्रवेश गर्दा गेटमै बाह्य किटाणु निर्मलीकरण गर्न फिनेल प्रयोग गरिन्छ । त्यसपछि मान्छेले त्यहिं प्रयोग गर्ने एप्रोन र जुत्ता पहिरिएयर मात्र प्रवेश गर्नुपर्ने हुन्छ ।

८५ प्रतिशत सरकारको, १५ प्रतिशत कृषकको लगानी

यो खेती गर्नका लागि सरकारले प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना (सुपरजोन)मार्फत ८५ प्रतिशत अनुदान दिन्छ भने बाँकी १५ प्रतिशत कृषकको लगानी हुन्छ । यसका लागि प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना कार्यान्वन सुपरजोन कास्कीले निवेदन आह्वान गरेको थियो । निवेदन दिएका ३० कृषक मध्ये योग्य ठहरिएका ५ कृषकलाई अनुदान दिएर काम शुरु भएको प्रधानमन्त्री कृषी आधुनिकीकरण (सुपरजोन) परियोजना कार्यान्वयन एकाई पोखराका प्रमुख वसन्तकुमार श्रेष्ठले बताए ।

हाइटेक ग्रीन हाउसमा उन्नत जातका तरकारी लगाउने तयारी गरिएको छ । विशेष गरेर अफसिजन तरकारी उत्पादन गर्न यो घरको प्रयोग गरिन्छ । यसमा क्याप्सिकम, काँक्रा, टमाटर, रायोको साग, धनिया, गाजरलगायतका तरकारी लगाउन उपयुक्त हुने प्राविधिकले सुझाएको खाम घले कृषी फार्मका सञ्चालक केवलबहादुर गौतमले बताए । उनका अनुसार करेला पनि हुन्छ भन्ने सुझाव आएको छ, तर पुष्टी भइनसकेकाले यसलाई ट्रायलका रुपमा लगाउने सोंचमा कृषक छन् ।

उत्पादित तरकारी अर्गानिक

गौतमका अनुसार हाइटेक ग्रीन हाउसमा उत्पादित तरकारी अर्गानिक हुन्छ । यसमा फल्ने कुनैपनि तरकारीमा केमिकल प्रयोग गरिदैन । किटाणु छिर्न नसक्नेगरी घर निर्माण गरिने र मलपनि रासायनिक प्रयोग नगरी प्राङ्गरिक मलकै प्रयोग हुने भएकाले यसमा उत्पादन हुने तरकारी अर्गानिक हुने उनको दाबी छ । कुनै कारणवश तरकारीमा किरा लागिहाले पनि केमिकलरहित आयुर्वेदिक औषधी प्रयोग गरिने उनको भनाई छ । यद्वपी माटो र त्यसमा प्रयोग गरिने पानी पूर्ण रुपमा केमिकल मुक्त नहुने भएकाले यसलाई पूर्ण अर्गानिक भने भन्न नमिल्ने कृषी प्राविधिक बताउँछन् ।