राजश्व कार्यालयद्धारा स्वेच्छिक कर सहभागिताको लागि प्रोत्साहन


पोखरा – आन्तरिक राजश्व कार्यालय पोखराका कर अधिकृत विजयप्रसाद लामिछानेले नेपालको कर प्रणाली स्वेच्छिक भएकोले करदाताहरुलाई स्वेच्छिक कर सहभागिताको लागि प्रोत्साहित गरिएको प्रष्ट पार्नुभएको छ । पोखरा उद्योग वाणिज्य संघ,महिला उद्यमी विकास उपसमितिको आयोजना,आन्तरिक राजश्व कार्यालयको सहयोग तथा संघको शिक्षा उपसमितिको समन्वयमा शुक्रबार पोखरामा आयोजना गरिएको कर शिक्षा कार्यक्रममा बोल्दै उहाँले स्वेच्छिक रुपले कर तिर्न प्रोत्साहन गरिएकोले नै कर नतिर्दाको डण्ड जरिवाना बढी हुने गरेको उहाँको भनाई थियो । उहाँले प्रत्यक्ष कर र अप्रत्यक्ष करबारे व्यवसायीहरुले थोरैमात्र जानकारी राख्ने र आफ्नो आय–व्यय विवरण चुस्त दुरुस्त राख्न सके डण्ड र जरिवानाको मारबाट बच्न मद्धत पुग्ने बताउनुभयो ।
कानूनले करदातालाई सम्मानपूर्वक व्यवहारको अधिकार, करबारे जानकारी राख्ने अधिकार, आफ्नो प्रतिरक्षाको लागि कानून व्यवसायी राख्ने र उजुरीको अधिकार, विवरण दाखिलाको अधिकार,बढी रकम फिर्तालगायतका विभिन्न अधिकार दिइएको पनि उहाँले प्रष्ट पार्नुभयो । यसैगरी स्थायी लेखा नम्बर लिनुपर्ने,विवरण फेरबदल भएमा कार्यालयमा जानकारी दिनुपर्ने,अग्रिम करकट्टी तथा भुक्तानी करकट्टी दाखिला,किस्ताबन्दी विवरण र कर दाखिला,कार्यालयले मागेको सूचना दिनुपर्ने र आवश्यक परे आफै उपस्थित हुनुपर्ने कर्तव्य पनि तोकिएको उहाँले उल्लेख गर्नुभयो ।

 

पोखरामा विभिन्न पेशा÷व्यवसाय गरेका महिला उद्यमीहरुलाई करको बारे जानकारी दिने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा करसम्बन्धी सामान्य जानकारीको अलावा, आयकर,मूल्य अभिवृद्धि कर,अन्तःशुल्क,शिक्षा सेवा शुल्क,स्वास्थ्य सेवा कर, अग्रिम कर कट्टी,मिसम्याच, कर परिक्षण,, करदाताका अधिकार र कर्तव्यको बारेमा जानकारी दिनुका साथै कर्तव्य,,आर्थिक विधेयक २०७४÷०७५ मा भएका संशोधनहरुबारे समेत चर्चा गरिएको थियो ।

 

कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघ तथा कार्यक्रमका अध्यक्ष विश्वशंकर पालिखेले ढिलै भए पनि महिला उद्यमीहरुलाई लक्षित गरी कर शिक्षा कार्यक्रम आयोजना गरिएको भन्दै करको दायित्वबारे सबै व्यवसायी जानकार भए पनि नियम तथा भुक्तानी प्रक्रियाबारे जानकारी नहुँदा कर ठूलो विषय बन्न पुगेको उहाँको भनाई थियो । उहाँले कर नीतिमा समयसापेक्ष रुपले हुने परिवर्तनबारे जानकारी राख्नको लागि पनि आग्रह गर्नुभयो । महिला विकास उपसमिति संयोजक सीता बरालको अध्यक्षतामा भएको कार्यक्रममा महिला उद्यमी÷व्यवसायीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।