स्पेनमा हुने पाँचौ अन्तरास्ट्रिय एकीकरण र्‍यालीमा नेपाल सहभागी हुँदै


बार्सिलोना/ स्पेनको बार्सिलोनामा हुने पाँचौ अन्तरास्ट्रिय एकीकरण र्‍यालीमा नेपालले पनि भाग लिने भएको छ। पाँच बटा महादेशका १०० भन्दा बढी मुलुकहरुले भाग लिने उक्त कार्यक्रममा नेपालले पहिलो पटक सहभागिता जनाउन  लागेको हो। कामारेरा इन्टरनेशल दे कोमेरसियो तथा टुरिज्मो एसोसियसन ईक्कोटोरियन कातालान (सिक्टाएक) को संयुक्त आयोजनामा आगामी जुलाई २२ तारिख बार्सिलोनामा कार्यक्रम हुँदैछ ।

अन्तरास्ट्रिय एकीकरण र्‍याली नामाकरण दिईएको उक्त कार्यक्रममा बिभिन्न देशहरुका कला,संस्कृति,भेषभूसा तथा खाना प्रदर्शनी गरिदै छ। नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधि दीपक खरेलले नेपाली टोलीको संयोजन गरिरहेका छन्। खरेलले भने,” नेपाली कलाकारहरुको गीत संगीत,नृत्यका साथै नेपाली हस्तकलाका सामानहरु स्टल नै राखेर प्रदर्शन गर्दै छौ यसले नेपाललाई कुनै न कुनै रुपमा अबश्य चिनाउँने छ।” यस्तै नेपाल बारे जानकारी भएका पुस्तकहरु,सिडी तथा नेपाली नक्साहरु पनि बाँडिने खरेलले बताए।

कार्यक्रममा फुटबल प्रतियोगिता पनि हुने हुँदा नेपाली समुदायबाट स्थानीय टिमले भाग लिदै छ।अन्तरास्ट्रिय ख्याती प्राप्त कलाकारहरुको समेत लाइफ प्रस्तुति हुने उक्त कार्यक्रममा करिव १० हजार दर्शकहरु सहभागि हुने अनुमान छ।

स्पेनबासी  समुदायलाई नेपाली पहिचान झल्कने पोशाक सहित कार्यक्रममा उपस्थित हुन खरेलले अनुरोध गरेका छन्। १२ बर्ष मुनिका बालबालिकाहरुलाई प्रबेश निशुल्क रहेको उक्त कार्यक्रमको टिकट अन्यका लागि भने ७ युरो रहेको छ।

कार्यक्रम बारे पूर्ण बिबरण:-

  • स्थान:-फोरम पार्क बार्सिलोना
  • शुल्क:- ७ युरो , १२ वर्ष मुनिका लाई निशुल्क
  • समय:- बिहान १० बजे देखि राति १० बजे सम्म
  • मिति :- २२ जुलाई शनिबार  २०१७