कुन-कुन दललाई कहाँ-कहाँ भयो त अन्तर्घात


काठमाडौं – पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको अमरगढी नगरपालिकाका ९ वडामा कांग्रेसका बागी उम्मेदवार खडा भए । मेयरमा कांग्रेस डिल्लीराज जोशी १२८ मतले पराजित भए । वडा नम्बर ४ र ५ मा कांग्रेस वडाध्यक्षका उम्मेदवारले पाएको मतको आधा पनि मेयरका उम्मेदवारले पाएनन् । आजको नयाँ पत्रिकामा यो खबर छ ।

अजेयमेरुमा विद्रोहीको धेरै भोट
डडेल्धुराकै अजयमेरु गाउँपालिकाको प्रमुखमा कांग्रेसका आधिकारिक उम्मेदवारभन्दा बागी उम्मेदवारको मत झन्डै दोब्बर आयो । कांग्रेसका कमलसिंह भाटले ८७२ मत ल्याउँदा बागी उम्मेदवार लोकराज भट्टले १,५६८ मत ल्याए । यो गाउँपालिकामा माओवादी केन्द्रका उमेश भट्ट विजयी भए ।

खुमबहादुरका भतिजा नै विद्रोही
दाङको लमही नगरपालिकामा कांग्रेस उम्मेदवार जोगबहादुर चौधरीविरुद्ध डिल्लीराज खड्का बागी उम्मेदवार बने । खड्काले २३९ मत ल्याउँदा कांग्रेस उम्मेदवार चौधरी एमालेका कुलबहादुर खत्रीसँग १३७ मतले पराजित भए । बागी उम्मेदवार खड्का कांग्रेस नेता खुमबहादुर खड्काका भतिजा हुन् । त्यस्तै, गढवा र शान्तिनगर गाउँपालिकामा पनि बागी उम्मेदवार मैदानमा आए ।

तुल्सीपुर र घोराही उपमहानगरमा पनि कांग्रेसले हार व्यहोर्नुप-यो । १० तहमध्ये ६ वटामा एमाले र एकमा माओवादीले जित्यो । कांग्रेसले तीन तहमा मात्रै चित्त बुझाउनुप-यो । दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसले पाँचवटै निर्वाचन क्षेत्रमा भारी मतले जितेको थियो ।

अन्र्तघातको आरोपमा झापामा कांग्रेस कार्यकर्ता कारवाहीमा
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला मतदाता रहेको झापाको भद्रपुरमा समेत कांग्रेस पराजित भयो । अन्र्तघात गरेको आरोपमा भद्रपुर–१ का क्रियाशील सदस्य उकीन्द्र खरेल, सरोज संग्रौला, कुलप्रसाद संग्रौला र अरुणकुमार उप्रेतीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ । यस्तै, भद्रपुर–४ का मनोज केसी, ७ का हरिप्रसाद निरौला, दुर्जनसिंह राजवंशी, जगदीश काफ्लेलाई पनि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ । भद्रपुर–८ माकुन्तीदेवी राई पनि कारबाहीमा परेकी छन् । पार्टीले उठाएको आधिकारिक उम्मेदवारविरुद्ध बागी बन्ने, अरूलाई सहयोग गर्ने जस्ता गतिविधि देखाउँदा पार्टी हारेको भन्दै उनीहरूलाई कारबाही गरिएको भद्रपुर कांग्रेस एकाइले जनाएको छ ।

अन्तर्घात सहन नसकेपछि सभापतिको राजीनामा
गुल्मी कांग्रेस सभापति भुवनप्रसाद श्रेष्ठ रेसुंगा नगरपालिका प्रमुखमा एमाले उम्मेदवारसँग १८७ मतले पराजित भए । आफू अन्तर्घातकै कारण हार्नुपरेको भन्दै श्रेष्ठले सभापतिबाट राजीनामा दिए । कांग्रेसकै अजय पन्थीले प्रमुखमा उम्मेदवारी दिएर एमालेलाई जिताउन भूमिका खेलेको आरोप श्रेष्ठले राजीनामा पत्रमा लगाएका छन् । पन्थीले ४० मत ल्याएका थिए ।

धनगढीमा रोचक प्रतिस्पर्धा, तर पनि कांग्रेसकै जित
कैलालीको धनगढी उपमहानगरपालिकामा कांग्रेसका नृप वडूले रोचक जित दर्ता गराए । कांग्रेसबाटै प्रमुखको टिकटका लागि दाबेदारी गर्दा पनि नपाएपछि गोपाल हमालले स्वतन्त्र उम्मेदवारी दिएका थिए । दलित समुदायका वड १४ हजार तीन सय २४ मत ल्याएर विजयी हुँदा कांग्रेसकै बागी हमाल ११ हजार पाँच सय २७ मत ल्याएर निकतम प्रतिद्वन्द्वी बने । माओवादी तेस्रो र एमाले उम्मेदवार चौथो हुन पुगे ।

यसकारण रुपन्देहीमा कांग्रेस हार्‍याे
रुपन्देही कांग्रेस सभापति अब्दुल रज्जाक पार्टीले सीमांकनको विषयमा गलत नीति लिँदा हार्न पुगेको बताउँछन् । ‘प्रचण्ड सरकारले सीमांकनका विषयमा कि संशोधन ल्याउनै हुने थिएन कि ल्याएको संशोधनको विषयलाई टेबल गर्नुपथ्र्यो, तर त्यस्तो भएन,’ रज्जाक भन्छन्, ‘ल्याइसकिएको विषय फिर्ता गरेपछि यसको फाइदा एमालेले लिन पुग्यो । यसमा कांग्रेसलाई दुवैतर्फबाट विश्वास भएन, त्यसैले हामी हार्‍यौँ ।’

प्रभावशाली नेताकै क्षेत्रमा पराजित
सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा मात्रै नभएर काठमाडौंको बसोबास भएको बुढानीलकण्ठ नगरपालिकामा पनि कांग्रेस पराजित भयो । यही नगरपालिका चर्चित युवा नेता गगन थापाको निर्वाचन क्षेत्र पनि हो । यो क्षेत्रमा पनि अन्तर्घात भएको कांग्रेस कार्यकर्ताकै आरोप छ ।

त्यस्तै, महामन्त्री डा. शशांक कोइराला मतदाता रहेको काठमाडौं महानगरपालिका–४ महानगरपालिकामा समेत कांग्रेस ठूलो मतान्तरले पराजित भयो । उपप्रधानमन्त्रीसमेत रहेका नेता गोपालमान श्रेष्ठको गृहजिल्ला स्याङ्जाको पुतलीबजार नगरपालिका, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला मतदाता रहेको झापाको भद्रपुर नगरपालिका, बालकृष्ण खाँणको तिलोत्तमा नगरपालिका, रमेश लेखकको वेदकोट नगरपालिका, खुमबहादुर खड्का मतदाता रहेको लमही नगरपालिकामा पनि कांग्रेसले नराम्रो हार बेहोर्‍यो ।

केन्द्रीय सदस्य डा.रामशरण महत मतदाता रहेको नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर २ मा एमाले उम्मेदवार विजयी भए । गाउँपालिका प्रमुख भने माओवादी केन्द्रले जित्यो । अर्जुननरसिंह केसी र डा.महतको द्वन्द्वका कारण नुवाकोटको विदुर नगरपालिका कांग्रेसले गुमाउनु परेको कांग्रेस कार्यकर्ताहरु बताउँछन् ।

सोलुखुम्बुमा नेता बलबहादुर केसी र जिल्ला सभापति आङ्गेलु शेर्पाका कारण दलका उम्मेदवार पराजित हुने पुगेको कांग्रेस नेता कार्यकर्ता बताउँछन् । संखुवासभाको खाँदबारी नगरपालिका, नवलपरासीको गैंडाकोट नगरपालिका र गुल्मीको रुरु गाउँपालिका अन्तर्घातका कारण गुमाउन पुगेको समीक्षा कांग्रेस नेताहरूले गरेका छन् ।

कांग्रेसले दोस्रो चरणमा सुधार गर्दै तीन सय ३४ तहमध्ये कम्तीमा एक सय ५० तहमा जित्ने आशा राखेको थियो । तर, एक सय २२ तहमा जितेर फेरि पनि दोस्रो भएको छ । संविधानसभा निर्वाचनमा पहिलो भए पनि कांग्रेस स्थानीय तहको निर्वाचनमा एमालेभन्दा ५० तहले पछि परेको छ ।

नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा आएको नतिजाप्रति कांग्रेस सन्तुष्ट छैन । सात उपमहानगरपालिकामध्ये कांग्रेसले कैलालीको धनगढी र विराटनगर महानगरपालिकामा विजय हासिल ग¥यो । प्रदेश नम्बर १ मा कांग्रेस ५१ तह र एमाले ६९, प्रदेश नम्बर ५ मा कांग्रेस ३३ र एमालेले ४३ तहमा जित पारे । ७ नम्बर प्रदेशमा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा भयो । एमालेले ३९ र कांग्रेसले ३८ तहमा जित हात पारे ।

के कारबाही हुन्छ अन्तर्घातीलाई ?
कांग्रेसले उम्मेदवार चयन गर्दा नै पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिनेलाई कारबाही गर्ने बताइसकेको छ । केही दिनअघि नेता रामचन्द्र पौडेल पक्षको भेलामा नेताहरूले निर्वाचनमा पराजित हुनुको दोष एक–अर्को समूहलाई नदिएर स्वच्छ समीक्षा गर्दै आगामी निर्वाचनमा पार्टीलाई बलियो बनाउनुपर्ने सुझाब दिएका थिए । संस्थापन पक्षले भने अझै औपचारिक बैठक डाकेर अन्तर्घातका विषयमा छलफल गरिसकेको छैन ।

अन्तर्घातले २५ सिट गुमेको एमाले निष्कर्ष 
शुरोजंग पाण्डे / काठमाडौं – स्थानीय तह दोस्रो चरणको निर्वाचनमा अन्तर्घातका कारण कम्तीमा २५ स्थानमा हार व्यहोरेको एमालेको निष्कर्ष छ । फरक गुटका नेता-कार्यकर्ताले आफ्नै उम्मेदवार हराउन भूमिका खेलेका उजुरी केन्द्रमा पुगेका छन् । अध्यक्ष केपी ओलीको गृहजिल्ला झापामा त उनकै गुटका नेताबाट अन्तर्घात भएको चर्चा एमालेभित्र छ ।

झापा, मोरङ, सुनसरी, भोजपुर, बाजुरा, अछाम, पाँचथरलगायतका जिल्लामा पार्टीको गढ मानिने नगरपालिका र गाउँपालिका गुमेको निष्कर्षसहित एमालेले अन्तर्घाती नेता–कार्यकर्तामाथि छानबिन गरी कारबाही अघि बढाउने तयारी गरेको छ । ‘एमालेले केही स्थानमा मुख्य पद गुमाउनुको प्रमुख कारण पार्टीभित्रको अन्तर्घात नै हो,’ उपाध्यक्ष वामदेव गौतमले भने, ‘यसमा पार्टीले छानबिन गरेर कारबाही गर्छ, सम्बन्धित कमिटीले नै पनि कारबाही गर्न सक्नेछ ।’ अन्तर्घातीलाई कारबाही गर्नुपर्ने विषयमा अध्यक्ष ओलीदेखि वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, उपाध्यक्ष गौतमदेखि महासचिव ईश्वर पोखरेलसम्मका नेताहरू एकै ठाउँ उभिएका छन् ।

अन्तर्घातले २५ सिट गुमेको निष्कर्ष
दोस्रो चरणमा जित्ने सूचीमा राखिएका कम्तीमा २५ सिट अन्तर्घातकै कारण गुमेको एमालेले प्रारम्भिक निष्कर्ष निकालेको छ । कम्तीमा एक सय ७० सिट जित्ने सर्वेक्षण गरेको एमालेले एक सय ५१ स्थानमा प्रमुख पद जितेको छ । मोरङको सुन्दरहरैँचा, रतुवामाई, केराबारी लेटाङसहित चार तह, झापाको गौरादह, हल्दिबारी, बुद्धशान्ति, गौरीगन्ज र मेचीनगरपालिका, भोजपुरको भोजपुर र षडानन्द नगरपालिका, कपिलवस्तुको वाणगंगा र बुद्धभूमि, पाँचथरको फिदिम, पाल्पाको रामपुर, ओखलढुंगाको लिसंखु, सुनसरीको इनरुवा नगरपालिका, नवलपरासीको सुनवल, रुपन्देहीको देवदह, बाजुराको मार्तडी, अछामको मेल्लेख, बान्नीगढी जयगढ र विनायक नगरपालिका, बर्दियाको गुलरिया, राप्ती सोनालीलगायतका २५ भन्दा बढी स्थान जित्ने निश्चित हुँदाहुँदै अन्तर्घातकै कारण गुमेको एमालेको निष्कर्ष छ ।

कारबाही गर्न ओलीको निर्देशन
एमाले अध्यक्ष केपी ओलीले अन्तर्घातका कारण धेरै सिट गुमाउन पुगेको भन्दै त्यसमा संलग्न नेता–कार्यकर्तालाई तत्काल कारबाही गर्न निर्देशन दिएका छन् । गृहजिल्ला झापा पुगेर ओलीले कडाइका साथ सो निर्देशन दिएका हुन् । अन्तर्घातका कारण झापामा मात्रै कम्तीमा चार सिट गुमेको एमालेको निष्कर्ष छ । १४ स्थानीय तहमध्ये सात तहमा प्रमुख पद जितेको एमालेले ११ तहमा उपप्रमुख जितेको छ । प्रमुख पद गुमाएको चार तहमा उपप्रमुखसहित बहुमत वडा अध्यक्ष र सदस्य जितेकाले एमालेले झापामा अन्तर्घात भएको निष्कर्ष निकालेको हो ।

केन्द्रीय सदस्यले २१ लाख खाएको उजुरी
मोरङको मिक्लाजुङ नगरपालिकामा एमालेका देवीप्रसाद आचार्य नगर प्रमुखमा विजयी बनेका छन् । यो नगरपालिकाको टिकट वितरणमा एक केन्द्रीय सदस्यले २१ लाख रुपैयाँ मागेको केन्द्रीय सचिवालयमा अडियोसहितको उजुरी परेको छ । त्यसविषयमा छानबिन नभएको भन्दै एमाले कार्यकर्ता भेषराज काफ्लेले चुनावअघि नै पार्टी परित्याग गरेका थिए ।

चार जिल्ला अध्यक्ष र दुई सचिव पराजित
एमालेका चार जिल्ला अध्यक्ष र दुई जिल्लासचिव निर्वाचनमा पराजित भएका छन् । झापा जिल्ला कमिटी अध्यक्ष चिन्तन पाठक बुद्धशान्ति गाउँपालिका अध्यक्षमा पराजित भए । त्यस्तै, मोरङ अध्यक्ष विनोद ढकाल विराटनगर महानगरपालिकाको मेयर, पाँचथर अध्यक्ष राजकुमार भण्डारी फिदिम नगरपालिका प्रमुख, बर्दियाका अध्यक्ष हरिप्रसाद ज्ञवाली गुलरिया नगरपालिकाको प्रमुख, झापाका सचिव मदन अधिकारी गौरादहको प्रमुख, सोलुखम्बुका सचिव हर्क राई सोताङ गाउँपालिकाको वडा सदस्यमा पराजित भएका छन् । पहिलो चरणको निर्वाचनमा ललितपुर अध्यक्ष हरिकृष्ण व्यञ्जनकार, सिन्धुपाल्चोकका अध्यक्ष झम्क नेपाल र रुकुमका अध्यक्ष विमल पुन प्रमुख पदमा पराजित भएका थिए ।

कमिटीहरूमा एक दर्जनभन्दा बढी उजुरी
अन्तर्घात भएको सम्बन्धमा एमाले केन्द्रीय सचिवालयसहित जिल्ला र प्रदेश कमिटीमा एक दर्जनभन्दा बढी उजुरी परेका छन् । झापा, मोरङ, भोजपुर, सिन्धुपाल्चोक, सुनसरीलगायतका जिल्ला कमिटीमा अन्तर्घातका उजुरी परेका छन् । चुनावअघि एमाले स्थायी समितिले अन्तर्घात गर्ने नेता–कार्यकर्तामाथि पार्टी सदस्यसमेत नरहने गरी अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो ।

ओलीको गृहजिल्लामाको रामकहानी

झापाका १५ स्थानीय तहमध्ये १२ मा संस्थापन र बाँकी तीन तहको प्रमुखमा नेता माधवकुमार नेपालनिकटले टिकट पाएका थिए । जसमध्ये सात तहमा प्रमुख र ११ तहमा एमालेले उपप्रमुख जितेको छ । प्रमुख नजितेको चार तहमा उपप्रमुखसहित बहुमत वडाध्यक्ष एमालेले जितेको छ । पार्टी संस्थापननिकट जिल्ला अध्यक्ष चिन्तन पाठक बुद्धशान्ति गाउँपालिकाको अध्यक्ष, नेपालनिकट जिल्ला सचिव मदन अधिकारी गौरादहको प्रमुखमा पराजित भए । दुवै स्थानमा उपप्रमुखसहित बहुमत वडा अध्यक्ष एमालेले जितेको छ ।

नेता नेपालनिकट मञ्जु सिटौलाले हल्दिबारी गाउँपालिकाको अध्यक्षको टिकट पाएदेखि नै संस्थापननिकट नेता–कार्यकर्ता खुलेआम हराउन लागेको एमाले कार्यकर्ता नै बताउँछन् । झापामा नेपालनिकट जीवन श्रेष्ठले मात्रै भद्रपुर नगरपालिकामा प्रमुख जितेका छन् । बा“की पराजित ६ प्रमुख पदका उम्मेदवार संस्थापननिकट हुन् । कमल गाउँपालिकामा मेनका काफ्ले गोलाप्रथाबाट अध्यक्ष विजयी भइन् । नेपालनिकट नेता बेदुराम भुुसालले प्रदेश नम्बर १ का जिल्लामा सर्वसम्मत भएकाबाहेक प्रदेशमा पठाइएका नामबाट छनोट गरी उठाइएका अधिकांश उम्मेदवार पराजित भएकाले घात–अन्तर्घातको विषय बाहिर आएको बताए ।

मोरङका १७ स्थानीय तहमध्ये एमालेले पाँच तहमा मात्रै प्रमुख पद जितेको छ । निर्वाचनअगावै टिकट वितरणमा रकम बार्गेनिङ प्रकरण सतहमा आएको, सन्तुलित रूपमा टिकट वितरण नभएको भन्दै मोरङमा पार्टी पराजित हुनुमा संस्थापन पक्ष जिम्मेवार रहेको नेपाल पक्षको आरोप छ । संस्थापन पक्षले भने विराटनगर महानगरपालिकामा मेयरको टिकटका आकांक्षी महेश रेग्मीनिकट नेता–कार्यकर्ताले सक्रिय सहयोग नगरेकाले हार भएको आन्तरिक मूल्यांकन गरेको छ ।

सुनसरीको इनरुवा नगरलगायतमा अन्तर्घात भएको सचिव भीम आचार्यले नै बताउ“दै आएका छन् । भोजपुर, अछाम, बाजुराजस्ता जिल्लामा पनि यस्तै परिणाम आएपछि अध्यक्ष ओलीले सात दिनभित्र अन्तर्घात गर्नेमाथि छानबिन गरी कारबाही गर्न निर्देशन दिएका छन् ।

अन्तर्घात र नयाँ शक्तिका कारण ५० स्थानीय तह गुमेको माओवादी निष्कर्ष

वीरेन्द्र ओली / काठमाडौं – अन्तर्घात र नयाँ शक्तिका कारण माओवादीले ५० स्थानीय तह गुमाउनुपरेको निष्कर्ष निकालेको छ । माओवादीले अत्यधिक आशा गरेका रोल्पा, गोरखा, सल्यान, कञ्चनपुर, दाङजस्ता जिल्लामा अपेक्षित जित हासिल गर्न सकेन । २२ जिल्लामा त माओवादीले एउटा पनि तहको प्रमुख जितेको छैन । ती जिल्लाका कतिपय गाउँपालिकामा जित्न सक्ने अवस्था भए पनि सांगठनिक परिचालन मिलाउन नसकेको उसको समीक्षा छ । माओवादीले हारका विषयमा अनौपचारिक समीक्षा गरे पनि सचिवालयको औपचारिक बैठक भने २ साउनमा बोलाएको छ ।

रोल्पामा अन्तर्घातले तीन तह गुमे
माओवादीको सर्वाधिक प्रभाव क्षेत्र मानिने रोल्पाका १० स्थानीय तहमध्ये माओवादीले ७, कांग्रेसले एक र एमालेले दुई तह जितेका छन् । उम्मेदवारी छनोटमा मिलाउन नसक्दा रोल्पाका तीन तह गुमाउनुपरेको जिल्ला इन्चार्ज दीपेन्द्र पुन ‘सिजल’ले बताए । जिल्लाका सबै तह जित्न सक्ने आधार हुँदाहँुदै पनि पार्टीको आन्तरिक समस्याले माओवादीले हारेको उनको भनाइ छ । ‘हामीले आफ्ना साथीहरूलाई उम्मेदवार छनोटमा सन्तुष्ट बनाउन सकेनौँ,’ पुनले भने, ‘जसले गर्दा गाउँपालिका र वडामा समेत हाम्रा साथीहरू बागी उठ्ने र अन्तर्घात गर्ने काम भयो, अन्ततः कांग्रेस एमालेले पनि जित्ने मौका पाए ।’

माओवादीकै कारण रुन्टीगढी र मादी गाउँपालिकामा एमाले तथा त्रिवेणीमा कांग्रेसले जितेको उनले बताए । सँगैको रुकुममा भने ९ वटा तहमा माओवादीले सबै जितेको छ ।

मतदाता नामावली छुट्दा पनि माओवादी हार्‍यो
पार्टी समर्थकको नाम मतदाता नामावलीमा नाम छुट्दा पनि हार व्यहोर्नुुपरेको माओवादी केन्द्रका नेता गोपाल किरातीले बताए । दोस्रो संविधानसभा निर्वाचन हुँदा वैद्य नेतृत्वको माओवादीले बहिस्कार गरेको थियो । बहिस्कार गर्ने समूहले नाम दर्ता गराएको थिएन । तर, वैद्यलाई छोडेर माओवादी केन्द्रमा समाहित भएका बादल समूहका अधिकांशको पनि नामावलीमा नाम नहुँदा माओवादीले हार्नुपरेको उनको भनाइ छ ।

निर्वाचनपछि समीक्षा गर्दै माओवादी
माओवादी केन्द्रले स्थानीय तहको पहिलो र दोस्रो चरणमा ल्याएको मतपरिणामको विषयमा समीक्षा गर्न २ साउनमा (सोमबार) केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।

कांग्रेस एमालेभन्दा धेरै अन्तरले पछाडि परेकोमा माओवादीले गम्भीर समीक्षा गर्ने भएको छ । माओवादीले पहिलोभन्दा पनि दोस्रो चरणमा कम तह जितेको छ । माओवादीले दुवै तहमा एक सयभन्दा बढी तह जित्ने आँकलन थियो । तर, अहिलेसम्म परिणाम आएका ६१७ स्थानीय तहमध्ये माओवादीले जम्मा ८४ तह मात्र जितेको छ ।

२२ जिल्लामा माओवादी शून्य
पहिलो र दोस्रो चरण गरी अहिलेसम्म ६७ जिल्लामा स्थानीय तहको निर्वाचन हुँदा माओवादीले २२ जिल्लामा एउटा पनि तहको प्रमुख जितेन । प्रदेश नम्बर १ का १४ जिल्लामध्ये सात जिल्लामा शून्य भएको छ । जसमा झापा, सुनसरी, इलाम, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम र धनकुटा छन् । प्रदेश नम्बर ३ का १३ जिल्लामध्ये चार जिल्लामा शून्य भएको छ । जसमा काठमाडौ, भक्तपुर, रसुवा, दोलखामा शून्य भएको छ । प्रदेश नम्बर ४ का ११ जिल्लामध्ये पाँच जिल्लामा माओवादी शूून्य भएको छ । जसमा कास्की, स्याङ्जा, म्याग्दी, मनाङ र मुस्ताङ छन् । प्रदेश नम्बर ५ का १२ जिल्लामध्ये २ जिल्लामा शून्य भएको छ जसमा पाल्पा र कपिलवस्तु छन् । प्रदेश नम्बर ६ का १० जिल्लामध्ये २ जिल्लामा शून्य भएको छ जसमा मुगु र सुर्खेत छन् । प्रदेश नम्बर ७ का ९ जिल्लामध्ये बझाङ र बाजुरामा माओवादी शून्य भएको छ ।

नयाँ शक्तिका कारण २० भन्दा धेरै तह गुमे
माओवादीबाट अलग भएका बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिका कारण माओवादीले २० भन्दा धेरै स्थानीय तह गुमाउनुपरेको विश्लेषण गरेको छ । गोरखा, रसुवा, धादिङ, धनकुटा, ताप्लेजुङलगायतका जिल्लामा २० भन्दा धेरै तह गुमाउनुपरेका आन्तरिक रिपोर्टिङ छ । माओवादी र नयाँ शक्तिबीच तीव्र प्रतिस्र्धा हुँदा गोरखाका थप सात तह कांग्रेसले जितेको छ । गोरखाका पालुङटार र गोरखा नगरपालिका तथा अजिरकोट, धार्चे, गण्डकी, सिरानचोक र भीमसेन गाउँपालिका कांग्रेसले जितेको माओवादी भनाइ छ । त्यसो त कांग्रेसले गोरखाकै आरुघाट र चुमनुब्री पनि जितेको छ । माओवादीले सहिद लखन थापा र सुलिकोट गाउँपालिका मात्रै जितेको छ ।