रुपा गाउँ पालिकाको बजेट २७ करोड ३५ लाख ७६ हजार


पोखरा- रुपा गाउँ पालिकाले आर्थिक बर्ष २०७४।०७५ का लागि २७ करोड ३५ लाख ७६ हजार रुपैया बजेट विनियोजन गरेको छ । गाउँपालिकाद्धारा आज आयोजित प्रथम गाउँ सभामा बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँ पालिकाका प्रमुख नवराल ओझाले गाउँ पालिकाको आर्थिक विकास सामाजिक क्षेत्र, पूर्वाधार विकास,वातावरण तथा विपद्ध व्यवस्थापन, संस्थागत विकास, सेवा प्रवाह र सुशासन लागयतका क्षेत्रमा उक्त बजेट विनियोजन गरिएको बताउनु भयो ।

गाउँ सभाको उद्घाटन गर्दै व्यवस्थापिका संसद विकास समितिका सभापति रविन्द्र अधिकारीले अवको राजनिति विकास र समृद्धिका साथै सामाजिक रुपान्तरणका क्षेत्रमा केन्द्रित हुनु पर्ने बताउँदै पूर्वाधार विकास संगै समग्र विकासका योजना साकार बन्ने बताउनु भयो ।

प्राकृतिकरुपमा उपलव्ध साधन श्रोतलाई पर्यटन लगायतका विविध पक्षसंग जोडदै रुपा गाउँ पालिकालाई समृद्ध बनाउन सम्पूर्ण राजनीतिक दल, नागरिक समाज एवम् सरोकार वाला सवैको एकिकृत प्रयास आवश्यक हुनेमा उहाँले जोड दिनुभयो ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मला सुवेदीले गाउँमा नै स्वरोजगार सिर्जना गरि बढ्दो युवा पलायन रोक्नुपर्ने बताउनु भयो ।

नेकपा एमाले जिल्ला उपाध्यक्ष मन बहादुर गुरुङले कृषि र पर्यटनलाई जोड दिंदै यहाँका पर्यटकीय सम्भावनालाई उजागर गर्न सके आर्थिक समृद्धि र विकासमा अघि बढ्न सकिने बताउनु भयो । नेपाली कांग्रेस जिल्ला सदस्य नारायण कुमार श्रेष्ठले विकासमा राजनीति गर्न नहुने बताउँदै विकासका लागि सवै दलहरु सकारात्मक सोचका साथ सहकार्य गर्नु पर्ने धारणा राख्नुभयो ।

गाउँ सभाले गाउँ पालिकाका भित्र सडक योजनालाई पाँच बर्षे योजनाका साथ अघिवढाउने व्यवसायिक कृषिको विकास गर्ने, खानेपानी, शिक्षा, स्वास्थ्य, वन वातावरण, जलाधार संरक्षण लगायतका कार्यक्रम सार्वजनिक गरेकोछ ।  कार्यक्रममा गाउँ पालिकाका उपप्रमुख लाल सुब्बा गुरुङ, कार्यकारी अधिकृत भेषराज आचार्य लगायतले गाउँ पालिकाका संभावनालाई उजागर गर्दै विकासका मार्गमा उन्मुख गराउनु पर्नेमा जोड दिनुभएको थियो ।