पार्टीभित्र विकल्प खोज्नुपर्ने अबस्था आयो : कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल


पोखरा –  नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र विकल्प खोज्नुपर्ने अबस्था आएको बताएका छन् ।

स्थानीय निर्वाचन मार्फत कांग्रेसबाट निर्वाचित प्रतिनिधिलाई सम्मान गर्न आईतवार पोखरामा आयोजित कार्यक्रममा नेता पौडेलले कांग्रेसको विकल्प कांग्रेसभित्रै खोज्ने कि जनतालाई बाहिर खोज्न पठाउने भन्ने कुरा निक्र्योल हुनुपर्ने बताए । ‘अब सचेत हुनुपर्छ । सभापति देखि पार्टीका सबै नेतालाई भनेको छु कि कांग्रेसको विकल्प कांग्रेस भित्रैबाट खोज्ने हो कि जनतालाई खोज्न बाहिर पठाउने हो ? त्यसको निधो हुनुपर्छ ।’ पौडेलले भने । चुनावी परिणामले पार्टीभित्र विकल्प खोज्नुपर्ने अबस्था आएको उनको ठहर उनले गरे ।

स्थानीय निर्वाचनमा पार्टी पछाडि पर्नुको कारण बारे समिक्षा हुनुपर्ने समेत उनले बताए । नेता पौडेलले पार्टी सभापतिकै क्षेत्रमा कांग्रेस पछाडि परेको उदाहरण दिदै यसबारे समिक्षा हुनुपर्नेमा जोड दिए । ‘ पार्टी पछाडि पर्नुको कारण बारे समिक्षा हुनुपर्छ । बिपक्षीले के कुरालाई लिएर हामी माथि आक्रमण गरे ? बिपक्षीको कुन एजेन्डाले कांग्रेसलाई पेल्यो यो सबैको समिक्षा हुनुपर्छ । ’ नेता पौडेलले भने ।

अहिलेको हारको समिक्षा नभए कांग्रेसले फेरी पनि हार्न सक्ने बारे उनले सचेत गराए । साथै उनले एमाले अग्रस्थानमा आए कर्मचारीतन्त्र देखि सबै समुदाय कब्जा गर्ने समेत आरोप लगाए ।