सस्तो बजार खाली गर्न भनी दिइएको ७२ घण्टे अल्टिमेटम “हाललाई स्थगित गर्न” आदेश


पोखरा – पोखराको पृथ्वीचोकस्थित पोखरा सस्तो बजार खाली गर्न भनी दिइएको ७२ घण्टे अल्टिमेटमलाई उच्च अदालत पोखराले “हाललाई स्थगित गर्न” आदेश दिएको छ । उच्च अदालत पोखराका मुख्य न्यायधिश कुमार चुडालको एकल इजलाशले शुक्रबार यस्तो आदेश दिएको हो ।

सस्तो बजार खाली गर्न दिइएको ७२ घण्टे अल्टिमेटम शुक्रबार राती समाप्त हुदै थियो । उक्त अल्टिमेटमको अवधि सकिए लगत्तै स्थानीय प्रशासनको सहयोगमा नेपाल वायु सेवा निगमले उक्त बजार जुनसुकै समयमा खाली गर्न सक्ने अवस्था रहेको थियो । तर यो सम्भावना आगामी साउन १ गतेसम्मका लागि टरेको छ ।

पोखरा सस्तो बजार व्यवस्थापन समितिका सल्लाहकार शिवप्रसाद खनाल र अध्यक्ष केशबबहादुर भुजेलले बिहीबार उच्च अदालत पोखरामा जिल्ला प्रशासन कार्यालय कास्की, नेपाल वायु सेवा निगम लगायतकाविरुद्ध निशेधाज्ञासहितको अन्तरिम आदेश जारी गरि पाउँ भनी रिट दर्ता गराएका थिए । उनीहरुको माग वमोजिम उच्च अदालत पोखराले “नेपाल वायु सेवा निगम क्षत्रीय कार्यालय पोखराले मिति २०७४/३/२१ गते प्रकाशित गरेको सूचना वमोजिमको कार्य मिति २०७४/४/१ गतेसम्म नगर्नु नगराउनु” भनी आदेश गरेको छ । असार २१ गते नेपाल वायु सेवा निगमले ७२ घण्टे अल्टिमेटम सहितको एक सार्वजनिक सूचना जारी गरी पोखरा सस्तो बजार खाली गर्न चेतावनी दिएको थियो ।

उच्च अदालत पोखराको आदेशमा “यसमा के कसो भएको हो निवेदकको माग वमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? माग वमोजिमको आदेश जारी हुन नपर्ने कुनै आधार कारण भए सबुत प्रमाणसहित म्याद सूचना पाएका मितिले बाटाको म्याद बाहेक १५ दिनभित्र विरुद्ध खण्डमा उल्लेखित विपक्षी नम्बर १ का हकमा आफैं वा कानून वमोजिमको वारेश वा कानून व्यवसायी मार्फत् लिखित जवाफ पेश गर्नुहोला” भनिएको छ ।

साथै विपक्षीहरु नेपाल वायु सेवा निगम र जिलला प्रशासन कार्यालय कास्की लगायतका विपक्षीहरु लगायत निवेदकहरुलाई सँगै राखी “अन्तरिम आदेश समेत जारी गर्न पर्ने हो कि हैन भनी छलफल गर्न आगामी साउन १ गते दुवै पक्षलाई छलफल गराउन पेशी तोकिएको छ । सोही दिन दुवैपक्षले आ–आफ्नो प्रमाण र लिखित जवाफ समेत इजलाशसमक्ष पेश गर्नेछन् ।

उक्त रिटमाथि शुक्रबारको इजलाशमा निवेदकको तर्फबाट अधिवक्ताहरु हिमलाल पराजुली, डा. गोपाल शिवाकोटी चिन्तन, भूपनिधि पन्च र तिलक पराजुलीले बहश गरेका थिए ।