आर्थिक कारणबाट संघीयता संकटमा : पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक


पोखरा – पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक बेगेन्द्रराज शर्मा पौडेलले आर्थिक कारणबाट संघीयता संकटमा रहेको बताउनु भएको छ । पोखरा उद्योग वाणिज्य संघले पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक बेगेन्द्रराज शर्मा तथा कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीको सम्मानमा  आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उहाँले प्रदेश सरकारको लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माणको लागि आवश्यक पर्ने रकमको जोहो गर्न समस्या भएको बताउनुभएको हो ।

‘हरेक प्रदेशको लागि चाहिने पूर्वाधारको लागि ठूलो रकम चाहिन्छ, त्यसको लागि अब सोच्नैपर्छ’, उहाँले भन्नुभयो,‘प्रदेश नम्बर ४ले पनि आफूलाई सक्षम बनाउन पूर्वाधारमा ठूलो लगानी गर्नुपर्छ, यातायातले सम्वृद्धि ल्याउँछ ।’ प्रदेश नम्बर ४ को सम्वृद्धिको लागि मुक्तिनाथदेखि सुस्ता नाकासम्मको राजमार्ग आवश्यक भएको बताउँदै राजनीतिक नेतृत्वले राजमार्ग निर्माणको लागि पहल थाल्नुपर्ने उहाँको भनाई थियो । पोखराभित्र ठूला उद्योगको कल्पना गर्न नसकिने बताउँदै उहाँले ठूला उद्योगहरु अन्य जिल्लाहरुमा सार्नको लागि पहल गर्नुपर्ने बताउनुभयो ।

सो अवसरमा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ पौडेलले कूल ग्राहस्थ उत्पादनमा उद्योगको योगदान घट्दै जानु देशको लागि चिन्ताको विषय भएको बताउनुभयो । रेमिट्यान्सले धानेको अर्थतन्त्रलाई उत्पादनमूलक क्षेत्रमा लगाउन नसके देश जतिबेला पनि संकटमा पर्न सक्ने उहाँको भनाई थियो । भौगोलिक तथा सम्भावनाका दृष्टिकोणले समेत पोखराले अब धेरै जनसंख्या धान्ने अवस्थामा नरहेको बताउँदै उहाँले पोखरालाई सम्वृद्ध बनाउन निजी क्षेत्रले नै पूर्वाधार निर्माणमा हात हाल्नुपर्ने बताउनुभयो ।‘सार्वजनिक निजी साझेदारी अनुरुप अब ठूला राजमार्गहरु निजी क्षेत्रले बनाउनुपर्छ, कोत्रेदेखि पोखरासम्मको छ लेनको बाटो बनाउन निजी क्षेत्रसँग सहकार्य गर्नुपर्छ ’, उहाँले भन्नुभयो,‘पूर्वाधारका ठूला परियोजना संचालन नहुनु भनेको विकासमा पछि पर्नु नै हो ।’ गृहमन्त्रीले भनेजस्तै पोखराको लेकसाइडलाई २४सै घण्टा खुल्ला राख्नको लागि आवश्यक पर्ने सुरक्षा व्यवस्था मिलाउने दिशामा कास्की प्रशासन अगाडि बढेको उहाँले जानकारी समेत दिनुभयो ।

कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले पोखरालाई सम्वृद्ध बनाउनको लागि निजी क्षेत्र सम्बन्धित सबैसँग हातेमालो गर्न तयार रहेको बताउनुभयो । पोखराको पर्यटन प्रवद्र्धनको लागि अब ठाउँ प्रवद्र्धन अभियान चलाइनुपर्ने बताउँदै अध्यक्ष पालिखेले पोखराको सुन्दरता बचाई राख्नु चुनौतिपूर्ण भएको बताउनुभयो ।
पोखरा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रवीन्द्रबहादुर प्रजुको धन्यवाद तथा महासचिव दामु अधिकारीको संचालन रहेको सो कार्यक्रमकै अवसरमा राष्ट्रिय औद्योगिक व्यापार मेला २०७३ लाई विभिन्न विधामा प्रायोजन गरी सहयोग गर्ने उद्योग÷प्रतिष्ठानहरुलाई सम्मान समेत गरिएको थियो । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा गएको मंसिर महिनामा मेला आयोजना गरिएको थियो । आउँदो मंसिर १४ गतेदेखि पनि संघले मेला आयोजना गर्ने घोषणा गरिसकेको छ ।