पोर्क महोत्सवमा बंगुरका मासुका परिकारतर्फ दर्शकको आकर्षण


पोखरा – पोखराको प्रदर्शनी केन्द्रमा जारी तेश्रो राष्ट्रिय पोर्क महोत्सवमा बंगुरका मासुका परिकारतर्फ दर्शकको आकर्षण बढेको छ । महोत्सवमा पाइने बंगुरका मासुका विभिन्न परिकारहरुले महोत्सवमा आउने जो कोही दर्शकलाई आकर्षित गर्ने गरेको हो ।

महोत्सव स्थलमा रहेका रेष्टुरेण्टमा पाइने पोर्क बार वे क्यू, पोर्क फ्राई, पोर्क चिल्ली, सामगेपसाल, बंदेलको झिर, सेकुवा, पोर्क मः मः र चाउमिन प्रति दर्शकको आकर्षण बढेको आयोजक बंगुर बृडर कृषक सहकारी संस्था कास्कीका अध्यक्ष योग बहादुर आचार्यले वताए । महोत्सव स्थलमा राखिएको ६ वटा रेष्टुरेण्टमा बंगुरका परिकार खानेको भीड लाग्ने गरेको र रेण्टुरेण्ट सञ्चालकलाई ग्राहकको भीड थाम्न हम्मे हम्मे परेको आयोजकले जनाएको छ । महोत्सवमा सांझ पख दर्शकको भीड वढ्ने गरेकोे छ ।
बंगुरका मासुका परिकार संगै महोत्सव स्थलमा बंगुर बृडर कृषक सहकारी संस्था कास्कीले राखेको बंगुरको मासुको स्टलबाट २ सय केजी मासु बिक्री भएको आचार्यले वताए । महोत्सवमा आउने हरेक ग्राहकले बंगुरको मासु लिएर जाने गरेको उनको भनाइ रहेको थियो । महोत्सवको दोश्रो दिन चर्चित दोहोरी गायक पुरुषोत्तम न्यौपाने र चन्द्रा कार्कीको दोहोरीले दर्शकलाई भरपुर मनोरन्जन प्रदान गरेको महोत्सवका प्रचार प्रसार संयोजक सिताराम भण्डारीले वताए । महोत्सवको दोश्रो दिन लोकदोहोरी गायकहरु सुरेन्द्र गुरुङ, शंकर बिरही गुरुङ, शिवहरी ढुंगाना, जीवन दाहाल, घनश्याम रिजाल, दुर्गा गुरुङले लोकदोहोरी मार्फत दर्शकलाई मनोरन्जन प्रदान गरेका थिए । महोत्सवको अन्तिम दिन प्रजापति पराजुली, शंकरबिरही गुरुङ, चोलेन्द्र पौडेल, रामजी पौडेल, प्रेमराज अधिकारी, इन्द्रा गुरुङ, सरला पाण्डे लगायतको प्रस्तुती रहने छ ।

आइतबार सम्म सञ्चालन हुने महोत्सवमा विशेष गरी बंगुर उत्पादनका लागि ब्रिडर फार्म, उपकरण, दाना, औषधि, वित्तिय संस्थाको बारे जानकारी तथा प्राविधिक परामर्श, बंगुरको बधशाला तथा प्रशोधनका वारेमा जानकारीमुलक स्टलहरु, बंगुर उत्पादन देखि बजारी करणमा प्रयोग हुने विभिन्न औजारहरुको प्रदर्शनी तथा बिक्री, बंगुरको मासुको प्रशोधन तथा परिकार बनाउने सम्बन्धी तालिम, बंगुरपालक किसानहरु बीच अन्तरक्रिया, मासु उत्पादनमा प्रयोग हुने औजारहरुको प्रदर्शनी तथा बिक्री, बंगुरको दाना सम्बन्धी जानकारी, बंगुरपालनमा देखिएका संभावना तथा चुनौतीहरुको बारेमा परामर्श तथा छलफल, समेत गरिएको छ ।

त्यस बाहेक महोत्सवले बंगुरपालन क्षेत्र तथा बंगुरजन्य व्यवसायको प्रबद्र्धन र विकास गर्ने, लिन पोर्कको बजारीकरणलाई प्रोत्साहन गर्ने, उपभोक्तालाई स्वच्छ तथा स्वस्थ्य वंगुरको मासु उपलब्ध गराउनको लागि बंगुर काट्न अघि र काटि सकेपछि पशु चिकित्सकद्धारा निरिक्षण गर्ने परिपाटिको बिकास गर्ने, बंगुर उत्पादनका लागि आहाराको विकास, गोठ सुधार तथा यान्त्रीकरणका लागि प्रोत्साहन गर्न, बंगुरको मासुबाट बन्ने विभिन्न परिकारहरु बंगुर मासुको मःमः, चाउमिन, सेकुवा, ससेज, अचार विभिन्न विदेशी परिकारहरु चाइनिज र कोरियन परिकारहरुलाई प्राथमिकता दिइनुका साथै होटेल तथा रेष्टुरेण्टहरु बंगुरको मासु समावेस गर्न प्रोत्साहन गर्नका लागी महोत्सवले उल्लेख्य भुमिका खेल्ने अपेक्षा गरिएको छ ।