सुत्केरीको मत्युपछि मनिपाल अस्पतालमा तनाब


पोखरा – पोखरा नयाँबजारमा बस्ने शान्ता भण्डारी मंगलवार विहान सामान्य अबस्थामै मनिपाल शिक्षण अस्पताल पुगिन् । गर्भवती उनी १० बजे अस्पतालको प्रशुति वार्डमा भर्ना भइन् ।

धादिङ स्थायी घर भएकी ४३ बर्षीय शान्ताले यसअघि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा नियमित गर्भवती जाँच गराइरहेकी थिइन् । चिकित्सकले गर्भवतिका लागि उनलाई जेठ २२ गतेको मिति तोकेका थिए । पहिलो बच्चा पनि मनिपालमै भएकाले सोहि अस्पतालमा जाने भन्दै उनी मनिपालनै गइन् ।

अस्पतालका चिकित्सकले चेकजाच गरे । उनी र उनको गर्भमा रहेको बच्चा सामान्य अबस्थामै थिए । चिकित्सकले ‘नर्मल डेलिभरी’ हुने भन्दै नआत्तिन आफन्तलाई आग्रह समेत गरे । शान्तालाई राती ब्याथाले च्याप्यो । रातको झण्डै साढे २ बजे उनले सामान्य रुपमै शिशुलाई जन्म दिइन् । जन्मनुभन्दा अघि सम्म सामान्य अबस्थामै रहेपनि जन्मिने क्रममै शिशुको मृत्यु भएको चिकित्सकले बताए । मृत बच्चा जन्मिएको भन्दै आफन्तलाई खबर गरे । त्यसपछि शोकमा डुबेका आफन्तलाई एक घण्टापछि अर्को शोक थपियो सुत्केरी आमाको पनि मृत्यु भयो ।

‘अस्पतालमा भर्ना हुनुभन्दा अघि र भर्ना भएदेखि सुत्केरी नभएसम्म सामान्य अबस्थामै रहेका आमा छोराको कसरी मृत्यु भयो ? ’ आफन्तले जवाफ खोज्न थाले र अस्पताल परिसरमा बुधवार केहिबेर तनावको अबस्था समेत आयो । आमा र शिशुको मृत्यु बारे चित्तबुझ्दो कारण दिनुपर्ने र अर्की ८ बर्षीय छोरीको सम्पूर्ण खर्च अस्पताल प्रशासनले ब्यहोर्नुपर्ने माग सहित अक्रोशित मृतकका आफन्त र प्रहरीविच केहिबेर धकेलाधकेल समेत भयो ।

भण्डारीको उपचारमा संलग्न डा. महेन्द्र पाण्डे थिए । अस्पताल प्रशासनले भने अत्याधिक रक्तश्राबको कारण सुत्केरीको ज्यान गएको दावि गरेको छ ।