“नमुना नेपालका” लागि स्पेनबाट गिरीले एक लाख रुपैयाँ सहयोग गर्ने


बार्सिलोना/धुर्मुस-सुन्तलीको ‘नमुना नेपाल’ अवधारणाका लागि गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य एकराज गिरीले एक लाख रुपैयाँ सहयोग घोषणा गरेका छन्। धुर्मुस-सुन्तली फाउन्डेशनले ५ अर्ब बजेटमा तयार हुने ‘नमुना नेपाल’को अवधारणा अगाडि सारे लगत्तै गिरीले सहयोग घोषणा गरेका हुन्।

पैयुँपाटा बलेवा बाग्लुंग स्थायी घर भएका गिरी बिगत एक दशक देखि स्पेनमा बसोबास गर्दै आएका छन्। गिरी एनआरएनए स्पेनका पुर्ब अध्यक्ष तथा स्पेनका लागि नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधि समेत हुन्। उनले भने,”हिमाल, पहाड र तराइलाई एउटै स्थानमा चित्रित गर्दै बन्ने ‘नमुना नेपाल’ को प्रस्तावित भिडियो हेरे पछि मन छोयो,जग्गा उपलब्ध भई योजनाको शिलान्यास हुने दिन मेरो १ लाख रुपैयाँ सहयोग पुग्नेछ।

हरेक नेपालीले २ सय रुपैयाँका दरले सहयोग गरे ६ अर्ब रुपैयाँ उठ्ने तथा विदेशमा बस्ने नेपालीले २ हजारका दरले सहयोग गरे ८ अर्ब रुपैयाँ भन्दा बढी रकम उठ्ने विश्वास धुर्मुस-सुन्तली फाउन्डेशनले लिएका छन्। गिरीले धुर्मुस-सुन्तलीको बिश्वासको एउटा हिस्सा आँफू पनि भएकाले सहयोग घोषणा गरेको बताए।