शेरबहादुर देउवा मुलुकको ४० औं प्रधानमन्त्रीमा निर्वाचित


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मुलुकको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । गणतान्त्रिक नेपालको उनी नवौं प्रधानमन्त्री हुन् । देउवा प्रधानमन्त्री बनेको यो चौथोपटक हो ।मंगलबारको संसद बैठकमा उपस्थित कुल ५५८ सांसदहरुमध्ये देउवाको पक्षमा ३८८ र विपक्षमा १७० मत परेको थियो ।

देउवालाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भनेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रस्ताव गरेका थिए भने कांग्रेस नेता रामचन्द्र पौडेल, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार लगायतले समर्थन गरेका थिए ।

विसं २०४८ मा गृहमन्त्री बनेका देउवाले त्यसपछि पटकपटक गरी तीन पटकसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हाले । उनी पहिलोपटक २०५२ भदौ २६ देखि २०५३ फागुन २६ गतेसम्म प्रधानमन्त्री भए । त्यसपछि २०५८ साउन ७ गतेदेखि २०५९ असोज १८ सम्म दोस्रोपटक प्रधानमन्त्री रहे ।

प्रधानमन्त्री देउवा २०६१ जेठ २१ गते तेस्रोपटक प्रधानमन्त्री भए । तर, राजा ज्ञानेन्द्रले प्रधानमन्त्री देउवालाई असक्षम भन्दै २०६१ माघ १९ गते पुनः पदबाट बर्खास्त गरे ।

विसं २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेल्धुराबाट निर्वाचित उनी २०६४ र २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर र कैलालीबाट समेत विजयी भएका थिए ।

त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक प्रधानमन्त्री देउवा लन्डन स्कुल अफ इकोनमिक्सका रिसर्च फेलो हुन् । उनीकी पत्नी डा आरजु राणा देउवा सांसद छिन् भने छोरा लण्डनमा अध्ययनरत छन् ।