अन्नपूर्ण हिमाल आरोहणको ६७ औं बर्षगाँठ विभिन्न कार्यक्रम गरी मनाइयो


पोखरा- विश्व प्रसिद्ध अन्नपूर्ण हिमाल आरोहणको ६७ औं बर्षगाँठ विभिन्न कार्यक्रम गरी मनाइएको छ । हिमाल आरोहणको क्षेत्रमा सबैभन्दा जेठो हिमालको उपमा पाएको अन्नपूर्ण प्रथम सन् १९५० जुन ३ तारिखमा फ्रान्सेली नागरिक मोरिस हर्जोेगले सफल आरोहण गरेका थिए । सोहि दिनको सम्झनामा प्रत्येक बर्ष पोखरा र आसपासका गाउँमा विशेष कार्यक्रम गरिदै आएको छ ।

आरोहण दिवसका अबसरमा आज पोखरामा अन्नपूर्ण हिमाल आरोहीलाई सम्मान गरियो भने कास्कीकै अन्नपूर्ण गाउँपालिकाको मोहरियामा नयाँ पर्यटकिय पदमार्गको संभाब्यताका विषयमा छलफल गरियो । टे«किङ एजेन्सिज एशोसिएसन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय संघको आयोजना एवम् नेपाल पर्यटन बोर्डको प्रवद्र्धन र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को सहयोगमा ६७ औं आरोहण दिवस मनाइएको हो ।

अन्नपूर्ण हिमालको काखमा रहेको अन्नपूर्ण गाउँपालिकाको दाङसिङस्थित मोहोरिया गाउँमा घरवास सहित भएको कार्यक्रममा सहभागीले अन्नपूर्ण क्षेत्रको थप पर्यटन प्रबद्र्धन, संभावित नयाँ पर्यटकिय पदमार्ग मार्फत पर्यटकिय गाउँहरुलाई जोड्नुपर्ने खाचो औल्याए ।

(टान) पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष दिपकराज अधिकारीले अन्नपूर्ण क्षेत्रकै संभावित पर्यटकिय गाउँमा पुगेर नयाँ गन्तब्यस्थलको खोजी र गाउँ पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले बार्षिक रुपमा नयाँ नयाँ स्थानमा पुगेर आरोहण दिवस मनाइदै आएको बताए । अन्नपूर्ण क्षेत्रको पर्यटन प्रबद्र्धनमा ६७ बर्ष अघि ढोका खोलिएको भन्दै उनले मोहरिया गाउँलाई पनि पदमात्रा मार्गले जोडेर पर्यटकिय गतिविधि बढाउदै बसाई लम्ब्याउन सकिने विश्वास ब्यक्त गरे । अन्नपूर्ण क्षेत्रमा छोटिदै गरेको पदयात्राको विकल्पमा दाङसिङ मोहरिया संभाबनायुक्त भएको बताए । पर्याप्त सम्भावना रहेर पनि ओझेलमा परेको मोहोरिया गाउँमा घरवास पर्यटन अभिबृद्धि गर्दै स्वदेशी एवम् विदेशी पर्यटको आकर्षक गन्तव्य बनाउन सकिने उनको विश्वास छ ।

अन्नपूर्ण गाउँपालिकाका नवनिर्वाचित प्रमुख युवराज कुँवरले मोहोरिया गाउँ प्रचुर सम्भावना युक्त क्षेत्र भएर पनि बत्ति मुनीको अँधेरो जस्तै भएको बताए । उनले पदमार्गको विस्तार गर्दै घरवास पर्यटनको विकास गर्न सके स्थानीय स्तरमा रोजगार अभिबृद्धि गर्न सकिने र त्यसका लागि नवनिर्वाचित टिमले काम गर्ने उनको प्रतिबद्धता छ । अन्नपूर्ण गाउँपालिका भित्र रहेका संभाबनायुक्त क्षेत्रको पहिचान गरी प्रबद्र्धनका लागि पूर्वाधार विकास गर्न आफु तयार रहको उनले बताए ।

टानका केन्द्रिय सचिव मुक्ति पाण्डेले आधुनिकताको मारमा नेपाली परम्पारा संस्कृति प्रभावित हुँदै गएको बताउँदै स्थानीय कला र संस्कृतिको संरक्षणमा ध्यान दिन आग्रह गरे । अन्नपूर्ण क्षेत्रमा नयाँ गन्तब्यको खोजी गर्नुपर्ने आवश्यकता औल्याउदै उनले स्थानीवासी पनि पर्यटकिय पूर्वाधार तयार गर्न अग्रसर हुनुपर्ने बताए ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका पर्यटन अधिकृत रश्मी आचार्यले मोहोरिया गाउँको घरवास कार्यक्रम विकासका लागि आयोजना कार्यालयले स्थानीयवासीलाई तालिम दिने तयारी गरिरहेको बताइन् ।

सो अबसरमा कार्यक्रम संयोजक श्यामकृष्ण थापा, टान पश्चिमाञ्चलका द्वितीय उपाध्यक्ष विश्वराज अधिकारी, पूर्व अध्यक्ष वासुदेव पराजुली, सचिव सुशिल पौडेल, स्थानीय विष्णुमाया गुरुङ, सन्तमान गुरुङ लगायतले ओझेलमा परेको मोहोरिया गाउँमा घरवास कार्यक्रमको विस्तार गर्न सके यसले थुप्रै स्वदेशी एबं विदेशी पर्यटकलाई आकर्षित गर्न सकिनेमा जोड दिए ।

बार्षिक रुपमा विभिन्न कार्यक्रम सहित सो दिनको सम्झना गरिरहदा विश्वकै उत्कृष्ट १० पदमार्गको सूचिमा परेको अन्नपूर्ण पदयात्रा मार्ग भने संकटमा छ । कुल २१ दिनको पदयात्रा मार्ग मोटरबाटोले छोटिएर अहिले एक सातामा झरेको छ । यसको विकल्पमा नयाँ पदयात्रा मार्गको पहिचान भएर पनि पूर्वाधार विकास गर्न नसक्दा त्यस तर्फ पर्यटक लैजान नसकिएको पर्यटक गाइडहरुको गुनासो छ ।