फिनल्याण्डको वर्ल्ड भिलेज फेस्टीबलमा नेपालको दमदार प्रस्तुति


श्रवण खनाल

हेल्सिन्की/सन् १९९५ देखी निरन्तर रुपमा फिन्ल्याण्डमा आयोजना हुँदै आएको “वर्ल्ड भिलेज फेस्टीबलमा” नेपालले समेत दमदार प्रस्तुति राखेको छ। बिभिन्न देशका गरी झण्डै ४ सय जति संघ सस्थाहरु सहभागि उक्त मेलामा नेपालले समेत प्रतिनिधित्व गरेको हो। गत शनिबार र आईतबार राजधानी हेल्सिन्कीमा चलेको मेलामा नेपाली लोकप्रिय खानाको साथै राष्ट्रियता झल्कने गीत संगीत प्रस्तुत भएका थिए।

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फिन्ल्याण्डका लागि आयोजकले समय प्रदान गरे पछि नेपाली राष्ट्रियता झल्कने प्रस्तुति राख्ने अबसर जुरेको हो। “नागरिक समाज” मूल नारा रहेको यस बर्षको मेलामा एनआरएनए फिन्ल्याण्ड अलवा नेपालका लागि काम गर्दै आएका संस्थाहरु माया नेपाल र दलित सोसाइटी पनि सहभागी थिए।  unnamed-26मेलाको पहिलो दिन नेपाली बालकलाकारहरु इशान काफ्ले र सारीका अधिकारीले राष्ट्रिय गानबाट सुरुवात गरे। नेपालको राष्ट्रिय चरा,जनावर र फूलको चिनारी कलाकारिताको माध्यमवाट प्रस्तुत गरे। यस्तै “पुर्बको मेची नि हाम्रै हो,पश्चिम महाकाली नि हाम्रै हो” बोलको गीतमा नृत्य प्रस्तुत गर्दा मेलाको बाताबरण नेपालमय नै बन्यो।

यस्तै मेलाको दोस्रो दिन सुदर्शन भण्डारी,पवन पाण्डे,आकृति खरेल र संस्कृति खरेलले “जुन जस्तै झलल” बोलको गीतमा लोक नाच प्रस्तुत गरे। नेपाली पहिचानलाई बिदेशी माँझ झल्काउने बिभिन्न प्रस्तुतीहरु,नेपाली परिकार, साथै भेषभुषा सहित उपस्थिति नेपाली दर्शकहरुले बिदेशीको ध्यान खिच्न्न सफल भए।