स्थानीय तह निर्वाचनमा संघीय गठबन्धन सहभागी नहुने


काठमाडौं – आगामी ३१ जेठमा हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनमा संघीय गठबन्धन सहभागी नहुने भएको छ । शुक्रबार सकिएको गठबन्धनको बैठकले आफू सहभागी नहुने निर्वाचन बिथोल्ने निर्णय गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा यो खबर छ ।

गठबन्धनभित्रै दुई धार
आन्दोलनको पक्ष र विपक्षमा गठबन्धनभित्र दुई धार देखिएको छ । राजेन्द्र महतो र राजकिशोर यादव निर्वाचन बिथोल्ने कार्यक्रमसहित चर्को आन्दोलनको पक्षमा छन् । त्यसविपरीत शरत्सिंह भण्डारी, महेन्द्र राय यादव, अनिल झाहरू निर्वाचनलाई उपयोग गर्नुपर्ने पक्षमा छन् । यो मुद्दामा महन्थ ठाकुर बीचमा उभिएका छन् ।

तराईमा को बलियो ?
तराईका २० वटा जिल्लामा को बलियो भन्ने बहस मधेसकेन्द्रित दलहरूमा देखिएको छ । संघीय समाजवादी फोरमको २० वटै जिल्लामा राम्रो प्रभाव देखिएको छ । फोरमका प्रमुख सचेतक डा. शिवजी यादवले मधेस आन्दोलन आफ्नो पार्टीको नेतृत्वमा भएकाले तराईका २० जिल्लामा पहिलो शक्ति बन्ने दाबी गरे ।

राजेन्द्र महतोको तत्कालीन सद्भावना पार्टीको प्रभाव तुलनात्मक रूपमा सप्तरी, सिरहा र सर्लाहीमा देखिन्छ । महन्थ ठाकुरको नेतृत्वमा रहेको तत्कालीन तमलोपाको प्रभाव नवलपरासी, रुपन्देही र कपिलवस्तुमा बढी छ । पूर्वी तराईमा उसको प्रभाव छैन । शरत्सिंह भण्डारीको नेतृत्वमा रहेको तत्कालीन राष्ट्रिय मधेस समाजवादी पार्टीको प्रभाव महोत्तरी, सप्तरी, सिरहामा, अनिल झाको प्रभाव रौतहट र महेन्द्र राय यादवको प्रभाव सर्लाहीमा मात्रै छ ।