पहिलो चरणको निर्वाचनमा नेकपा एमालेले सवैभन्दा बढि स्थानमा विजयी


काठमाडौ-  मुलुकका २ सय ८० स्थानको स्थानीय तह निर्वाचन नतिजा आइसकेको छ । काठमाडौ र भरतपुर महानगरपलिका तथा भक्तपुरको चागुनारायण नगरपालिकामा भने मतगणना जारी छ । मतगणना जारी रहेका यी तीन निकायको नतिजा पनि एकदुई दिनभित्रै आउँदैछ ।

नतिजा आइसकेका स्थानीय तहमा जित्नेहरु खुशीयाली र विजयोत्सव मनाउन व्यस्त छन् भने हार्नेहरु हारको कारण पत्ता लगाउन व्यस्त छन् । दुवै पक्ष हारजितको विश्लेषणसहित दोस्रो चरणको चुनावी तयारीमा पनि सक्रिय छन् ।

तीन प्रदेश ३,४ र ६ का ३४ जिल्लामा भएको पहिलो चरणको निर्वाचनमा नेकपा एमालेले सवैभन्दा बढि स्थानमा विजय हासिल गरेको छ । उसले अहिलेसम्म १ सय २३ स्थानको प्रमुख पद जितेको छ भने काठमाडौ र भरतपुरमा पनि अगाडी नै छ । एमालेले काठमाडौ जित्ने पक्का भएपनि भरतपुरमा भने माओवादी र एमाले कसले बाजी मार्छ भन्ने अड्कलबाजी गर्न कठिन नै छ ।

त्यस्तै कांग्रेसले १०४ स्थानका प्रमुख पद जितेको छ भने उसको अझै एक स्थान चागाुनारायण पनि जित्ने प्रवल सम्भावना छ । संसदमा दोस्रो दलका रुपमा रहेको एमालेले पहिलो चरणको चुनावमा राम्रो नतिजा ल्याएपनि संसदमा पहिलो पार्टीको रुपमा रहेको कांग्रेस यो चुनावमा दोस्रो स्थानमा चित्त बुझाउन बाध्य भएको छ ।

त्यस्तै संसदमा तेस्रो दलका रुपमा रहेको माओवादी केन्द्र अहिलेसम्म ४६ स्थान जितेर पहिलो चरणको चुनावमा तेस्रो स्थान नै कायम राख्न सफल भएको छ ।
स्थानबैशाख ३१ मा सम्पन्न स्थानीय तहको निर्वाचनको अन्तिम मत परिणाम निर्वाचन आयोगले आधिकारिक रुपमा घोषणा गरिनसकेपनि प्रतिशतका आधारमा भन्दा एमालेले ४४ प्रतिशत जितेको छ ।

त्यस्तै कांग्रेसले ३३ प्रतिशत अर्थात एमाले भन्दा दश प्रतिशत कम स्थान जितेको छ । उता माओवादी केन्द्रको भने झण्डै साढे १६ प्रतिशतमात्र जित्न सफल भएको छ ।

पहिलो चरणको निर्वाचनमा राप्रपा, राजपा र स्वतन्त्र उम्मेदवारले साढे २ प्रतिशत जित्न सफल भएका छन् ।