आइतबार हुने स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा


पोखरा – कास्कीसहित प्रदेश नम्बर ४ का सबै जिल्लामा आइतबार हुने स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । क्षेत्रीय निर्वाचन कार्यालय कास्कीले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले छिटपुट घटनाबाहेक प्रदेश नम्बर ४ का सबै ठाउँको निर्वाचन तयारी पुरा भएको बताए । मतदान सामग्री, कर्मचारी ब्यबस्थापन र राजनीतिक समझदारीको रुपमा निर्वाचनको तयारी पूरा गरिएको भन्दै उनले भने, ‘पूर्ण रुपमा त म भन्न सक्दिन, तर निर्वाचनका लागि आवश्यक सबै तयारी पुरा भएको छ ।’

निर्वाचन आयुक्त पौडेलले निर्वाचन आचारसंहिता पालना गर्न उनले राजनीतिक दल तथा उनका कार्यकर्तालाई आग्रह गरे । उनका अनुसार भाइबर, म्यासेञ्जर, फेसबुक, ट्विटरसहित कुनैपनि तरिकाबाट चुनावको प्रचार गर्न पाईंदैन ।

चुनावी प्रचारका क्रममा राखिएका झण्डा, पर्चा, पम्प्लेट लगायतका सामग्री पनि झिक्नुपर्ने उनले बताए । नझिकेका प्रचार सामग्रीहरु प्रहरी प्रशासनलाई झिक्न निर्देशन दिएको उनले बताए ।

निर्वाचन आयुक्त पौडेलले निर्वाचन आयोगले कुनैपनि उम्मेदवारको उम्मेदवारी रद्द नहोस् भन्ने चाहेको बताए । यद्यपि आचारसंहिता उल्लंघन गरेको पाइए कडा रुपमा प्रस्तुत हुनुपर्ने चेतावनी दिए । मतदाता सचेत भइसकेको भन्दै उनले मोटरसाइकल र्‍याली गरेर वा रक्सी मासु खुवाएकै भरमा चुनाव नजितिने बताए ।

निर्वाचन आयुक्त पौडेलले ३० गते शनिबार हुने भनिएको बन्द खुलाएर मतदाता परिचय पत्र वितरण हुने जानकारी पनि दिए । बन्द आहृवानकर्तालाई बन्द गरेर बन्द खुलाउने उनले बताए ।

कास्कीमा १ सय ५० मतदान केन्द्र र २ सय ८८ मतदान स्थल रहेको र यहाँ १ हजार ७ सय २३ कर्मचारी खटाइएको छ । निर्वाचन अधिकारी गंगालाल सुवेदीका आनुसार मतदान सामग्री र मतदान कर्मचारी सबै मतदान केन्द्रमा पुगिसकेका छन् । त्यस्तै सबै मतदान केन्द्रबाट बिहीबारदेखि मतदाता परिचय पत्र ब्यबस्थित रुपमा वितरण भइरहेको उनले बताए ।