नेपाल परिवार दल कास्कीले एमाले उम्मेदवारलाई समर्थन गर्ने


पोखरा –  वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा नेपाल परिवार दल जिल्ला समन्वय समिति कास्कीले आफ्नो समर्थन नेकपा एमालेलाई गर्ने भएको छ । कास्कीको महानगरपालिका सहित चारवटै स्थानीय तहमा नेपाल परिवार दलले सूर्य चिन्हमा मतदान गरेर विजयी गराउने घोषणा गरेको हो ।
आफ्नो दलले दर्ता गरेको उम्मेदवारी कानुनी रुपमा फिर्ता गर्न नमिले पनि राजनीतिक सहमतिका आधारमा नेकपा एमालेलाई समर्थन गरी सूर्य चिन्हमा मतदान गर्ने सहमति भएको नोपल परिवार दल कास्कीका अध्यक्ष शिवजी भट्टराई

ले बताए । नेपाल परिवार दलका अध्यक्ष शिवजी भटट्राई र नेकपा (एमाले) पोखरा लेखनाथ महानगर संगठन कमिटीका सचिव दिलीप न्यौपानेले बिहीबार संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरी उक्त सहमति गरेका हुन् ।

‘नेकपा (एमाले)अध्यक्ष के.पी. शर्मा ओलीको नेतृत्वमा बनेको सरकारमा नेपाल परिवार दलका नेता एकनाथ ढकालको नेतृत्वमा, राष्ट्रियताको पक्षमा प्रदर्शन गरेको भूमिका आम नेपालीले विर्सेका छैनन्,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले स्थानीय तहको निर्वाचनमा यस कास्की जिल्लाका सम्पूर्ण तहमा नेकपा (एमाले)का सूर्य ध्वजावाहक उम्मेदवारलाई परिवार दलको तर्फबाट मतदान गर्ने र आफ्नो दलका उम्मेदवारी कानूनी रुपमा फिर्ता लिन नमिले पनि राजनैतिक रुपमा फिर्ता लिई नेकपा (एमाले)लाई सहयोग गर्ने निर्णय गरेका छौं ।’ साथै आगामी दिनमा राष्ट्र, राष्ट्रियता र महानगरको समृद्धि र विकासको अभियानमा एकसाथ अगाडि बढ्ने दुबै दलको तर्फबाट प्रतिबद्धता व्यक्त गरिएको छ ।