मनाङ,गोरखा र लमजुङको क्षेत्रीय सुरक्षा समितिद्धारा निर्वाचन सुरक्षा अनुगमन


पोखरा – बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै पश्चिम क्षेत्रीय सुरक्षा समितिका पदाधिकारीहरुले पश्चिम क्षेत्र अन्तर्गतका विभिन्न जिल्लाहरुको अनुगमन गरेका छन् । क्षेत्रीय सुरक्षा समितिका पदाधिकारीले विहिवार मनाङ , गोरखा र लमजुङ जिल्लाको निर्वाचन सुरक्षा अबलोकन गरेका हुन् ।

नेपाली सेनाको हेलिकप्टरद्धारा पश्चिमाञ्चल क्षेत्रीय प्रशासक याम कुमारी खतीवडा, नेपाली सेनाका पृतनापति उपरथी जगदिश चन्द्र पोखरेल, पश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक मधुप्रसाद पुडासैनी, सशस्त्र प्रहरी नायव महानिरीक्षक सुबोध कुमार अधिकारी, राष्ट्रिय अनुसन्धान क्षेत्रीय अनुसन्धान निर्देशक रबिन्द्र पण्डित लगायतको टोलीले जिल्लागत रुपमा भएका सुरक्षा ब्यवस्थाको बारेमा जानकारी लिएका हुन् ।

सो क्रममा मनाङ, गोरखा र लमजुङ जिल्लाका जिल्ला सुरक्षा समिति, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतहरुसँग निर्वाचनको आवश्यक तयारी, सुरक्षा, मतदान सामग्रीहरुको व्यवस्थापन लगायतका विषयमा जानकारी लिएका थिए ।