स्थानीय तह निर्वाचनका लागि प्रदेश नम्बर ४ मा सबै सुरक्षा तयारी पूरा


पोखरा – बैशाख ३१ गतेको स्थानीय तह निर्वाचनका लागि प्रदेश नम्बर ४ मा सबै सुरक्षा तयारी पूरा भएको छ । ४ नम्बर प्रदेशका सबै मतदान स्थलमा आवश्यक मात्रामा सुरक्षाकर्मी परिचालन गरिसकिएको क्षेत्रीय प्रशासक यम कुमारी खतिवडाले जानकारी दिइन् ।

प्रत्येक जिल्ला र मतदान स्थलको सुरक्षा चुनौतीलाई दृष्टिगत गरी सोहि आधारमा सबै सुरक्षा निकायका सुरक्षाकर्मी परिचालन गरिएको उनले बताइन् । सुरक्षा तयारी सबै पूरा भएको र कतिपय मतदान स्थलमा सुरक्षाकर्मी पुगिसकेको तथा कतिपयमा पुग्ने क्रम जारी रहेको क्षेत्रीय प्रशासक खतिवडाले बताइन् ।

पर्याप्त स्रोत, साधन र उपकरण सहित चार वटै सुरक्षा निकाय खटिने गरी एकिकृत सुरक्षा योजना तयार गरिएको र सोहि आधारमा सुरक्षाकर्मी परिचालन गरिने उनले जानकारी दिइन् । उनका अनुसार निर्वाचन पूर्व, निर्वाचन भरी र निर्वाचन पश्चात् गरेर तीनै चरणको सुरक्षा कार्ययोजना बनाएर कार्यन्वयनमा ल्याइएको छ ।

खतिवडाका अनुसार कुनै घटना घटेमा तत्काल प्रहरीको १००, जिल्ला, अञ्चल, क्षेत्रीय कार्यालय प्रमुख एबं क्षेत्रीय प्रहरी कार्यालयको १११३ मा सिधै सम्पर्क गरी सुचना दिन सक्ने ब्यवस्था मिलाइएको छ । कुनै अप्रिय घटनाको सुचना प्राप्त भएको ५ मिनेट भित्र सुरक्षाकर्मी पुग्न सक्ने गरी ब्यवस्था मिलाइएको छ । त्यसका लागि मोवाइल र रिजर्भ समुहको ब्यवस्था गरिएको खतिवडाले बताइन् ।

कुनै जटिल परिस्थिति सिर्जना भएमा ब्यवस्थापनका लागि स्थानीय प्रशासन, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनासँग समन्वय तथा सहकार्य गरिने उनले बताइन् । अपराधिक घटना घटाउने र निर्वाचन विरोधी गतिविधि सञ्चालन गर्ने जो सुकैलाई पनि नियन्त्रणमा लिएर कारवाही अघि बढाउने नीति लिइएको क्षेत्रीय प्रशासक खतिवडाले बताएकी छिन् ।

१ महानगर, २६ नगरपालिका र ५८ गाउँपालिका गरी कुल ८५ स्थानीय तह रहेको ४ नम्बर प्रदेशमा एक हजार दुई सय ४७ मतदान स्थल र एक हजार ९ सय ५६ मतदान केन्द्र निर्धारण गरिएको छ ।

निर्वाचन तालिका अनुसार ४ नम्बर प्रदेमा कुल १३ हजार १० जनाले मनोनयद दर्ता गराएकोमा ४८४ ले उम्मेदवारी फिर्ता लिएको र १२६ जना निर्विरोध निर्वाचत भइसकेका छन् । यो प्रदेशमा कुल १२ हजार ४ सय उम्मेदवार चुनावी प्रतिश्पर्धामा छन् ।

समग्र पश्चिमाञ्चलका १६ वटै जिल्लालाई आधार मान्दा कुल २१ सय ५७ मतदान स्थल र ३७ सय ४४ मतदान केन्द्र तोकिएकोमा ५५५ अति संवेदनशिल, ७३१ संवेदनशिल र ८७० सामान्य सुरक्षा अबस्था भएका मतदान स्थल छन् । जस मध्ये कास्की जिल्लामा रहेका १५० मतदान स्थलमा ५० वटालाई सुरक्षाको हिसावले अति संवेदनशिलको सूचिमा राखिएको छ । ४९ वटा संवेदनशिल र ५१ वटा मतदान स्थल सामान्य सुरक्षा चुनौतीको रुपमा छन् ।

बैशाख ३१ गते निर्वाचन हुन लागेको प्रदेश नम्बर ४ मा महिला ७ लाख ४७ हजार ९४५, पुरुष ६ लाख ६५ हजार ३६७ र १० तेस्रो लिङ्गी गरी कुल १४ लाख १३ हजार ३२२ मतदाता छन् ।

सुरक्षा तयारी बारे जानकारी दिन सोमवार आयोजित पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीले कास्कीमा सौहाद्रपूर्ण वाताबरणमा चुनावी प्रचार भैरहेको र निर्वाचनमा भाग लिएका दलहरु विच आपसमा झडपको अबस्था नआएको बताए । निर्वाचनमा प्रत्येक पल नयाँ सुरक्षा चुनौति थपिन सक्ने भएकाले सबै सुरक्षाअंगलाई तयारी अबस्थामा राखिएको उनले जानकारी दिए । साथै उनले ३१ गते मतदान गर्नका लागि परिचयपत्र अनिवार्य भएकाले बैशाख २८, २९ र ३० गते सम्बन्धित मतदान स्थलमा पुगेर मतदाता परिचय पत्र लिन समेत आग्रह गरेका छन् ।

पश्चिमाञ्चल क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक मधु प्रसाद पुडासैनीले सबै जिल्लाको संवेदनशिलतालाई आकलन गरी सुरक्षा योजना तयार गरिएको र निर्वाचन विरोधी गतिविधि गर्ने जो कसैलाई पनि कारवाहीको दायरामा ल्याउने बताए । पश्चिमाञ्चलका विभिन्न जिल्लाबाट निर्वाचन विरोधी काम गर्ने १६ जनालाई अहिले सम्म कारवाहीको दायरामा ल्याइसकिएको जानकारी दिदै उनले अपराधिक कार्य गर्ने ब्यक्ति जुनसुकै पार्टीको भएपनि कारवाहीको दायरामा आउने दावि गरे ।

निर्वाचनको समयमा अपराधिक कार्य गर्ने, गुण्डागर्दी गर्ने, विष्फोटन गर्ने, आगो लगाउने, निर्वाचनमा खटिने कर्मचारी, उम्मेदवारलाई अपहरण गर्ने, धम्की दिने ब्यक्तिलाई पहिचान गरेर पहिले निगरानी गर्ने र त्यस्ता कार्य गरे कारवाही गर्ने उनले बताए ।

साथै उनले डर, धाक धम्कीलाई सुनेर मतदान गर्न सकिन्न कि भन्ने आशंका त्यागी ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह समेत गरे । चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न गर्न प्रतिबद्ध रहेको उनले बताए ।