देशकै ठूलो महानगर पोखरामा, मेयर उपमेयरमा को-को उठ्दै छन् ?


सन्देश श्रेष्ठ पोखरा । देशको सबैभन्दा ठूलो पोखरा लेखनाथ महानगरपालिकाको मेयर उपमेयरमा प्रमुख सबै दलले आ-आफ्ना उम्मेदवार तय गरेका छन् । एमालेले मंगलबार राति टुंगो लगाएको छ ।

कांग्रेसले पहिले टुंगो लगाएको उम्मेदबार परिवर्तन गरेको छ भने माओवादीले मंगलवार बिहान टुंगो लगाएको छ ।अब पोखराका मतदाताले ठूला दलका उम्मेदवार चिन्ने मौका पाएका छन् । गुरुङ र क्षेत्री समुदायको बाक्लो बसोबास रहेको पोखरामा प्रमुख तीन ठूला दलले क्षेत्रीहरुलाई मेयरको उम्मेदवार बनाएका छन् ।

कांग्रेसमा रामजी र सरस्वती

नेपाली कांग्रेसले शुरुमा नरेसशंकर पालिखेलाई मेयर र चन्द्रावती पौडेललाई उपमेयर बनाएको थियो । तर एमालेले मानवहादुर जिसीलाई मेयर र मन्जु गुरुङलाई उपमेयर बनाएपछि कांग्रेसले रामजी कुँवरलाई मेयर र सरस्वती गुरुङलाई उपमेयर बनाएको छ ।

कांग्रेसको सोमबार बसेको पदाधिकारी बैठकले कुँवरलाई टिकट दिने निर्णय गरेको हो । कुँवर नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय उपाध्यक्ष तथा पूर्व महासमिति सदस्य हुन् ।

मेयरका अन्य ३२ प्रतिस्पर्धीलाई उछिन्दै कुँवरले टिकट सुरक्षित गरेका हुन् । यसअघि कांग्रेस कास्कीले सर्वसम्मत उम्मेद्वार चयन गर्न नसकेपछि आकांक्षी सबै ३३ जनाकै नाम केन्द्रमा सिफारिस गरेको थियो । सिफारिस ३३ जनामध्ये कुँवरलाई उम्मेद्वार बनाउने निर्णय भएको कांग्रेस कास्कीले जनाएको छ ।

त्यस्तै, उपमेयरमा कांग्रेसले पत्रकार सरस्वती गुरुङलाई उम्मेद्वार बनाएको छ । गुरुङ कांग्रेसको कृयाशील सदस्य हुन् भने पोखराबाट प्रशारण हुने रेडियो अन्नपूर्णकी प्रस्तोता तथा पोखराबाटै प्रकाशित हुने कास्की आवाज दैनिककी अध्यक्षसमेत हुन् ।

कास्कीबाट सिफारिस १५ जना मध्ये गुरुङलाई टिकट दिने निर्णय भएको कांग्रेस श्रोतले बताएको छ ।

एमालेले क्षेत्रीलाई मेयर र गुरुङलाई उपमेयर बनाएपछि कांग्रेसले पनि उम्मेदवार परिवर्तन गरेर एमालेकै जसरी उम्मेदवार चयन गरेको स्रोतले जनाएको छ ।

एमालेमा मानबहादुर र मञ्जु

एमालेले केन्द्रीय कमिटी सदस्य मानवहादुर जिसीलाई मेयर उम्मेदवार तय गर्दा पोखराका पूर्वमेयर तथा पार्टी जिल्ला अध्यक्ष कृष्ण थापा टिकटको दौडबाट बाहिरिएका छन् । जिल्ला र नगरको मतदानमा एक नम्बरमा भोट पाएका जिसीलाई नै उम्मेदवार बनाउने निर्णय स्थायी कमिटीले गरेको हो ।

जीसी ०७० को संविधानसभा निर्वाचनमा कास्की १ बाट एमालेको उम्मेदवार हुँदा कांग्रेसका यज्ञबहादुर थापासँग करीव डेढ सय मतले पराजित भएका थिए ।

एमालेले उपमेयरको उम्मेदवारका अघि सारिएकी मन्जु गुरुङ एमाले निकट अखिल नेपाल महिला संघ कास्कीकी अध्यक्ष हुन् । उनी पोखराका विभिन्न सामाजिक संस्थाहरुमा आवद्ध छिन् ।

माओवादीमा विश्वप्रकाश र गोमा

नेकपा माओवादी केन्द्रले महानगरपालिकाको मेयरमा विश्वप्रकाश लामिछानेलाई उम्मेद्वार बनाएको छ । सोमबार दिनभरी छलफल गर्दा पनि उम्मेद्वार टुंगो लगाउन नसकेको माओवादी केन्द्रले मंगलबार बिहानै उम्मेद्वार टुंगो लगाएको हो ।

लामिछाने माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य हुन् । उनी पोखरा उपत्यका नगरविकास समितिका पूर्वअध्यक्ष समेत हुन् । बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला उनी नगर विकास समितिका अध्यक्ष बनेका थिए ।

त्यस्तै उपमेयरमा माओवादी केन्द्रले गोमा ढकाललाई उम्मेद्वार बनाएको छ । ढकाल माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य र पर्यटन व्यवसायी हुन् । उनी सामुदायिक सेवा केन्द्र बैदामकी पूर्वअध्यक्ष पनि हुन् । उनी सामाजिक अभियन्ता हुन् ।

राप्रपाको उम्मेद्वार गीता गुरुङ

राप्रपाले गीता गुरुङलाई मेयरमा उठाएको छ । यसैगरी उपमेयरमा रमेशबहादुर खत्रीलाई उम्मेद्वार बनाउने निर्णय भएको राप्रपा कास्कीका सहसचिव सूर्य बास्तोलाले जानकारी दिए । गीता मेयरका उम्मेद्वार गुरुङ राप्रपा यसैगरी संघीय समाजवादी फोरम नेपाल र नयाँशक्तिले संयुक्त रुपमा पत्रकार हुमबहादुर गुरुङलाई मेयरको उम्मेद्वार बनाएका छन् । उपमेयरमा भने लक्ष्मी खाती परियारलाई उम्मेद्वार बनाइएको छ ।

मेयरका उम्मेद्वार गुरुङ तमुवान आन्दोलन परिचालन समितिका संयोजक हुन् । उनी रेडियो अन्नपूर्णका न्यूज डेस्क को-अर्डिनेटर तथा कास्की आवाज दैनिकका प्रधान सम्पादक हुन् ।

उपमेयरका उम्मेद्वार लक्ष्मी खाती परियार नयाँशक्ति निकट महिला शक्तिकी कास्की संयोजक हुन् ।

९८ मतदान स्थल, २ सय १० मतदान केन्द्र 

पर्यटनको प्रमुख आधार रहेको पोखरा लेखनाथ महानगरपालिकामा ७७ हजार ३ सय ८१ पुरुष, ९० हजार ६ सय ८४ महिला र २ जना तेश्रो लिंगी गरी कुल १ लाख ६८ हजार ६७ मतदाता छन् ।

३३ वटा वडा रहेको यस महानगरपालिकामा ९८ मतदानस्थलमा कुल २ सय १० वटा मतदान केन्द्र तोकिएको छ ।बैशाख ३१ गतेको पहिलो चरणको स्थानीय निर्वाचनबाट पोखरा लेखनाथ महानगरपालिकामा १ सय ६७ जना निर्वाचित हुनेछन् । एक प्रमुख, एक उपप्रमुख, ३३ जना वडाध्यक्ष, खुल्ला प्रत्येक वडाबाट २/२ जनाको दरले ६६ जना, प्रत्येक वडामा १/१ जना महिला र दलित महिला गरी ६६ जनासहित कुल १ सय ६७ जना निर्वाचित हुनेछन् ।

त्यस्तै, निर्वाचित नगरसभाले ३ जना पछि मनोनित गर्ने प्रावधान रहेको छ । सो समेत गरी कुल १ सय ७० जना जनप्रतिनिधी नगरसभामा रहनेछन् ।