पोखराको मनिपाल शिक्षण अस्पताल र चिकित्सक दुबै दोषी छानविन समितिले निश्कर्ष


पोखरा – मुस्ताङको कागवेनी दुर्घटनाका गम्भिर घाइतेको उपचार नगर्ने पोखराको मनिपाल शिक्षण अस्पताल र चिकित्सक दुबै दोषी रहेको छानविन समितिले निश्कर्ष निकालेको छ । सरकारद्धारा गठित छानविन समितिले बुधवार स्वास्थ्य मन्त्रालयलाई प्रतिवेदन बुझाउदै अस्पताल प्रशासन र चिकित्सक दुबै दोषी रहको ठहर गरेको हो ।

प्रतिवेदनमा अत्याबश्यक स्वास्थ्य सेवा पाउने नागरिकको हकको वास्ता नगरिएको र दुर्घटनाका गम्भिर घाइतेको उपचार नगर्ने अस्पताल प्रशासन एबं त्यसमा कार्यरत चिकित्सक दुबै दोषी रहेको छानविन समितिका संयोजक एबं चिकित्सा सेवा महाशाखाका निर्देशक डा. भोलाराज श्रेष्ठले बताए । ‘यसमा दुबै पक्षको कमीकमजोरीहरु देखियो’, उनले भने ‘ चिकित्सकको पहिलो कर्तब्य भनेको विरामीको उपचार गर्ने हो । उनीहरुले विरामी हेर्दिन भन्नु जायज होइन । ’

स्वास्थ्य मन्त्रालयले आइतवार मनिपाल अस्पताललाई २४ घण्टे स्पष्टिकरण बुझाउन निर्देशन दिनुको साथै तीन सदस्यिय छानविन समिति गठन गरेको थियो । समितिमा श्रेष्ठ सहित स्वास्थ्य मन्त्रालयका उपसचिव भवनाथ खतिवडा र मेडिकल काउन्सिलका सदस्य प्रा डा. ढुण्डीराज पौडेल सदस्य थिए । सोमवार पोखरा आएको समितिले अस्पताल प्रशासन र चिकित्सकसँगको सोधपुछपछि छानविन प्रतिवेदन तयार गरी सरकारलाई बुझाएको हो । छानविन समितिको प्रतिवेदन र अस्पतालको स्पष्टिकरणलाई हेरी आवश्यक कारवाही अघि बढाउने मन्त्रालयले जनाएको छ ।

संविधानको धारा ३५ उपधारा १ मा प्रत्येक नागरिकलाई अकस्मिक स्वास्थ्य सेवाबाट बन्चीत गरिने छैन भन्ने संवैधानिक व्यवस्था विपरित मनिपालका चिकित्सकहरुले घाईतेहरुलाई आकस्मीक सेवा नदिएको भन्दै स्वास्थ्य मन्त्रालयले स्पष्टिकरण समेत सोधेको थियो ।

गत शनिवार मुस्ताङको कागवेनीमा तीर्थयात्री सवार बस दुर्घटना हुदा गम्भिर घाइते १५ जनालाई तत्काल उपचारका लागि नेपाली सेनाको हेलिकप्टरले मनिपाल अस्पताल परिसरमा ल्याएपनि उपचार गर्न नसक्ने भनेपछि पोखराकै अन्य अस्पतालमा लगिएको थियो । दुर्घटनाका घाइतेलाई उपचार नगरी अन्यत्र पठाएपछि मनिपाल प्रशासन र त्यहा कार्यरत चिकित्सकको चौतर्फी आलोचना भयो । स्थानीय अस्पतालको गेटमा तालाबन्दी समेत गरे ।

गएको फागुन १ गतेदेखि आन्दोलनमा उत्रिएका मनिपालमा कार्यरत नेपाली चिकित्सकहरु यो घटनापछि अस्पतालका सम्पूर्ण सेवा सुरु गर्न राजी भए । पछिल्लो दुई महिनादेखि बन्द अस्पतालको सेवा गत सोमवारदेखि पूर्ण रुपमा सञ्चालनमा आएको थियो । सरकारको चेतावनी र स्थानीयको दवावपछि अस्पताल प्रशासनसँगको वार्तामा आन्दोलनरत चिकित्सकले सेवा सुरु गर्ने सहमति गरेका थिए ।

मुक्तिनाथ दर्शन गरेर फर्किदै गरेका तीर्थयात्री सवार ना ५ ख ६०६७ नम्बरको बस कागवेनीमा दुर्घटना हुदा ५ जनाको घटनास्थलमै ज्यान गएको थियो । सामान्य १५ घाइते जिल्ला अस्पतालमा उपचारपछि घर फर्किएका छन् भने अन्य घाइतेको पोखराका विभिन्न अस्पतालमा उपचार भैरहेको छ । पत्रकार गोकुल वानियाले खबर लेखेका छन् ।