यस्तो छ राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण तालिका


काठमाण्डौ- राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो पहिलो विदेशयात्रामा सोमबार भारत जाँदैछिन्। पाँचदिने उक्त राजकीय यात्रालाई भारतले ‘विदेश सद्भावना यात्रा’ को संज्ञा दिएको छ । भारतीय समकक्षी प्रणव मुखर्जीको निमन्त्रणामा हुन लागेको राष्ट्रपति भण्डारीको यात्रामा ३४ सदस्यीय टोली सहभागी हुनेछ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

गत वर्ष अन्तिम समयमा केपी ओली सरकारले रद्द गरेको भ्रमण मुखर्जीको नेपालयात्राको करिब ६ महिनापछि सम्पन्न हुन लागेको हो । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका अधिकारी तथा सांसदहरूसहित राष्ट्रपति भण्डारीको भ्रमण टोली सोमबार बिहान ११ बजे नेपाल एयरलाइन्सको विमानबाट नयाँदिल्ली प्रस्थान गर्नेछ। राष्ट्रपति भण्डारी सोमबार भारत जाँदा र शुक्रबार आउँदा दुवै दिन सरकारले सार्वजनिक छुट्टी दिने निर्णय गरेको छ ।

राजकीय भ्रमणको परम्पराअनुसार उनलाई भारतीय राष्ट्रपति भवनमा राखिनेछ । भण्डारीले मंगलबार भारतीय राष्ट्रपति मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । अधिकांश भेटवार्ता त्यही दिन हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ । भारतीय उपराष्ट्रपति हमिद अन्सारी, भारतीय विदेशमन्त्री सुषमा स्वराज, भारतीय गृहमन्त्री राजनाथ सिंह, अर्थमन्त्री अरुण जेट्लीलगायतले भण्डारीसँग मंगलबार भेटवार्ता गर्नेछिन्।

मंगलबार साँझ भारतीय राष्ट्रपतिले भण्डारीको स्टेट ब्यांक्वेट दिने कार्यक्रम छ ।

मंगलबार नै राष्ट्रपतिले भारतीय उद्योगी र व्यापारीले आयोजना गर्ने बिजनेस इभेन्टमा सहभागिता जनाउने कार्यक्रम छ । दिल्लीपछि राष्ट्रपति भण्डारीले गुजरात र उडिसाको भ्रमण गरी द्वारिका, सोमनाथ र पुरीस्थित मन्दिरमा पूजा अर्चना गर्ने कार्यक्रम छ । दिल्लीस्थित जमुना बायोडाइभर्सिटी पार्कको अवलोकन गर्ने कार्यक्रम तय गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणको पूर्वसन्ध्यामा भारतले नेपालको संविधान कार्यान्वयनमा भारतले लिँदै आएको पुरानै अडान दोहोर्‍याएको छ । भारतीय विदेश मन्त्रालयका नेपाल डेस्क प्रमुखले नेपाली सरकार र दलहरूले नेपालका राजनीतिक पक्ष सबै राजनीतिक पक्षलाई साथमा लिएर नेपालको संविधान कार्यान्वयन प्रक्रिया अघि बढाउनेमा भारत विश्वस्त रहेको बताए।

उनले मधेसी दलले गरिरहेको आन्दोलन र संविधान संशोधनबारे सोधिएको प्रश्नमा भने, ‘नेपालको आन्तरिक राजनीतिक मुद्दामा अनुमान गर्न हामीले मिल्दैन तर सबै राजनीतिक पक्षलाई साथमा लिएर संविधान कार्यान्वयनका मुद्दा हल गर्ने नेपालको राजनीतिक नेतृत्वले हाम्रो राजनीतिक नेतृत्वलाई विगतमा बताएको म यहाँ स्मरण गर्न चाहन्छु ।’

भारतले सदैव नेपालको शान्ति, स्थिरता र विकास चाहँदै आएको उनले बताए। ‘भारत यो विश्वास गर्छ कि सहमति र संवादका माध्यमबाट नेपालको संविधान कार्यान्वयका मुद्दा हल गर्नमा सकारात्मक नतिजा आउनेछ’, उनले भने।

भारत सरकारले संविधान कार्यान्वयनका मुद्दामा सबै पक्षलाई संवाद र सहमतिका माध्यमबाट नेपाल सरकारले गर्ने प्रयासमा सहयोग गर्दै आएको उनले बताए। नेपालमा सबै पक्षको सहभागितामा संबिधान कार्यान्वयनका मुद्दा समावेशी ढंगले ब्यापक सहमतिमा अघि बढोस् भन्ने भारतले चाहेको उनको भनाइ थियो ।