ल हेरौ आजका दैनिक पत्रिकाको फ्रन्टपेज


काठमाडौं । नेपाली कांग्रेसका मधेसी नेताहरुले संविधान सर्वस्वीकार्य बनाएर मात्र निर्वाचनमा जुट्न पार्टी नेतृत्वलाई दिएको सुझावलाई आजका सबैजसो पत्रपत्रिकाहरुले प्रमुखताका साथ छापेका छन् । परराष्ट्र मन्त्रालयमा २४ करोड अनियमितता भएकोदेखि मोर्चाले निर्वाचन बिथोल्ने सम्मका खबर पत्रपत्रिकाको प्राथमिकतामा परेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनको वातावरण निर्माण गर्न जनाएको प्रतिबद्धतालाई प्राथमिकताका साथ छापेको गोरखापत्र दैनिकले मतदाता शिक्षामा २१ हजार कार्यकर्ता खटिएकोदेखि मुख्य निर्वाचन अधिकृतको कार्यालय ७५ वटै जिल्लामा आजदेखि स्थापना हुनेसम्मका खबर लेखेको छ ।

नागरिक दैनिकले महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनको हवला दिँदै परराष्ट्र मन्त्रालयमा एक वर्षमै २४ करोड अनियमितता भएको जनाएको छ । ‘मोर्चाले माने चुनाव दुई चरणमा’ शीर्षक दिएर नागरिकले अर्को खबर पनि लेखेको छ ।

राजधानी दैनिकले स्थानीय तह निर्वाचन निर्धारित मितिमै हुनेमा अझै ढुक्क हुन सक्ने अवस्था नबनेको लेखेको छ ।

कान्तिपुर दैनिकले संशोधनपछि मात्रै निर्वाचन गर्न कांग्रेसका मधेसी नेताले दिएको सुझावलाई प्रमुखताको साथ छापेको छ । सर्वोच्च अदालतको आदेशलाई लत्याउँदै निजी विद्यालयले मनपरी शुल्क असुलेको विषयलाई पनि कान्तिपुर दैनिकले जोडदार साथ उठाएको छ ।

अन्नपूर्ण पोस्ट दैनिकले ‘मोर्चासहित दुई चरणमा निर्वाचन’ शीर्षक दिएर मुख्य खबर लेखेको छ ।

नयाँ पत्रिका दैनिकले पनि कांग्रेसका मधेसी नेताले निर्वाचनको सम्बन्धमा दिएको सुझावलाई मुख्य खबर बनाएको छ । २८ अर्ब सकिँदा ४२० घर मात्र निर्माण भएको अर्को खबर पनि नयाँ पत्रिका दैनिकको पहिलो पृष्ठमा छ ।
6
1
5
2
4
3