‘जय नेपाल नारा लगाउँदै मुलुकलाई भारतमा गाभ्ने योजनामा काँग्रेस’: अध्यक्ष पहारी


पोखरा – युवा संघ नेपालका अध्यक्ष राजिव पहारीले निर्वाचनमा नेकपा एमाले विजयी हुने डरले काँग्रेस र माओवादी केन्द षड्यन्त्रमा लागेको आरोप लगाएका छन् । उनले यी दुई दल सकभर निर्वाचन हुनै नदिने र भएपनि जुनै हालतमा एमालेलाई जित्न नदिने तरिकाले लागेको उल्लेख गरे ।

नेकपा एमाले धादिङ पोखरा सम्पर्क मञ्चले पोखरामा शनिबार नयाँ वर्षको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रममा उनले काँग्रेस र माओवादीले राष्ट्रघाती कदम आफू गर्ने र जनतालाई भ्रम छर्ने गरेको आरोप लगाएका हुन् । ‘सत्ताको निम्ति मुलुक नै समाप्त गर्ने खेलमा उनीहरु छन् । काँग्रेसले काँक्रो चोरेर खाने तर वियाँ अरुको मुखमा टाँस्ने पार्टी हो ।’ पहारीले भने– ‘मुखले जय नेपाल नारा लगाउँदै मुलुकलाई भारतमा गाभ्ने योजनामा काँग्रेस छ ।’ पहारीले प्रजातान्त्रिक पार्टी भन्दै व्यवहार त्यो अनुरुप नभएको बताए । शेरबहादुर देउवाले उखान टुक्काले मुलुक चल्दैन भन्दै सभा गर्दै हिँडेकोमा आपत्ति जनाउँदै काँग्रेस भष्ट्राचारीको पार्टी रहेको आरोप लगाए ।

अहिले काँग्रेस र माओवादीले जुन एजेण्डा बोकेर हिँडेको छ त्यो सबै एमालेकै एजेण्डा भएको बताए । एमालेले ज्येष्ठ नागरिकको सम्मान गर्दा मुलुकको ढिकुटी सक्यो भनेर विरोध गर्नेहरु अहिले आफै दोब्बर बनाईदिन्छौं भनेर हिँडेको उनको भनाई थियो । उनले धादिङबासी भन्ने वित्तिकै श्रम गरेर स्वाभिमानीपूर्वक बाँच्ने नागरिकका रुपमा चिनिएको उल्लेख गरे ।

मुलुककै सबैभन्दा ठूलो पोखरा लेखनाथ महानगरपालिकाको मेयर पदमा उनको नाम समेत चर्चामा आईरहँदा पहारीले तालतलैया नगरी पोखराको ताल संरक्षण गर्नुपर्ने, पुरिएको तालमा माटो झिकेर विमानस्थल निर्माणमा उपयोग गर्ने, कर व्यवस्थित गर्नुपर्ने आवश्यकता औंल्याए ।

युवा संघ सचिवालय सदस्य रमेश आचार्यले एमाले सरकार नढलेको भए यतिबेलासम्म राष्ट्रियताका सबालमा मुलुक पछाडी फर्किनु नपर्ने अवस्था रहने थियो भन्दै स्थानीय तह निर्वाचनमा एमालेलाई सबै ठाउँमा जिताउन आग्रह गरे । उनले सिंहदरबारको अधिकार जिविसमा नभई अब गाउँ नगरमा आएको भन्दै देशी विदेशी प्रतिक्रियावादी शक्ति चुनाव हुन नदिने पक्षमा रहेकाले जसरी पनि निर्वाचन सफल बनाउनुपर्ने बताए ।

मञ्चका अध्यक्ष बेनी पाठकको अध्यक्षतामा भएको कार्यक्रममा धादिङ पोखरा सम्पर्क समाजका महासचिव हरि पन्तले जुनै पार्टीले स्थानीय तह निर्वाचन जितेपनि धादिङको विकासका लागि सोच्नुपर्ने बताए । धादिङ पत्रकार समाज पोखराका अध्यक्ष रञ्जन अधिकारीले पोखरामा रहेका धादिङबासी एकजुट भएर अघि बढ्नुपर्ने बताए । महिला सदस्य सरस्वती श्रेष्ठले महिलाहरुलाई अग्रपंक्तिमा राखेर अघि बढ्नुपर्ने बताईन् । सो अवसरमा पूर्व अध्यक्ष कृष्णबहादुर लम्साल, सल्लाहकार रामबहादुर अर्याल, वरिष्ठ उपाध्यक्ष अर्जुन खतिवडा, सचिव गोकर्ण अधिकारी लगायतले बोलेका थिए ।