‘धुर्मुस–सुन्तली भगवान् बनेर आए’ : १०३ वर्षीया मरनी


काठमाडौं – बुढ्यौलीले मुजा परेको उनको अनुहारमा खुशीको सीमै थिएन। घाम नछेक्ने, पानी चुहिने झुपडीमै लामो जिन्न्दगी काटेकी मरनी सहाय मुसहरले कहिल्यै सोचेकी थिइनन्, एक दिन पक्की घरमा बस्न पाउनेछु।

‘पक्की घरमा बस्न पाउँछु भन्ने कहिल्यै सोचेकी थिइनँ’, १०३ वर्षीया मरनीले भनिन्, ‘स्वर्ग देख्न मनै पर्ने रहेनछ।’ धुर्मस–सुन्तली फाउण्डेसनले बनाएर शुक्रबार समुदायलाई हस्तान्तरण गरेको ‘एकीकृत नमुना मुसहर बस्ती’ को ३३ नम्बरको घरमा बस्न पाएपछि उनीजस्तै सिंगो मुसहर बस्तीका ५० परिवार दंग परेका छन्। ‘धुर्मुस–सुन्तली भगवान् बनेर आए’, गहभरि खुशीका आँसु टिल्पिलाउँदै मरनीले भनिन्, ‘गरिबको पनि दिन आउँछ भन्थे हो रहेछ।’

फाउण्डेसनले करिब ३ महिना लगाएर निर्माण गरेको नमुना बस्ती नयाँ वर्षको अवसर पारेर हसतान्तरण गरिएको हो प्रवेशद्वारको रिबन काटेर कलाकार हरिवंश आचार्य र मदनकृष्णश्रेष्ठले मुसरहर समुदायलाई बस्ती प्रवेश गराएका थिए।

उपभोक्ता समितिका अध्यक्ष विल्टु सदाय मुसहरलाई बस्तीको साँचो हस्तान्तरणगरिएको थिया। कार्यक्रममा धुर्मुस–सुन्तलीले देश बनाउन पहिला आफूहरूलाई जिम्मेवार नागरिककका रूपमा सोच्नुपर्ने बताए। ‘हामीले सरकारलाई चुनौती दिएका होइनौं, बरु सघाउन हिमाल, पहाड र तराई हिँडेका हौं’, उनीहरूले भने ‘चाहे भने नागरिकले देश बनाउन सक्छन् भन्ने भावनाले अघि बढेका हौं।’ फाउण्डेसनले ३ कोठा, बरण्डा र चोटासहितका ५३ घर बनाएर मुसहर सुदायलाई हस्तान्तरण गरेको हो।

सामुदायिक भवन, प्रतीक्षालय, मुसहर सुमदायको कुलदेवता दिनाभद्रीको मन्दिर, बालउद्यान, भ्युटावर र पक्की सडक पनि बनाइएको छ।