नेपाली र चिनियाँ सेनाको विशेष संयुक्त सैन्य अभ्यास आइतबारदेखी हुने


काठमाण्डौ – अमेरिकालगायत पश्चिमी राष्ट्रहरू र भारतको समेत परोक्ष असहमतिबीच आतंकवादको सम्भावित सुरक्षा चुनौती मद्देनजर गर्दै नेपाली र चिनियाँ सेनाको विशेष संयुक्त सैन्य अभ्यास वैशाख ३ मा काठमाडौंमा सुरु हुने भएको छ । छिमेकी राष्ट्र भारत र अमेरिकाले चीनसँगको संयुक्त सैन्य अभ्यासबारे विभिन्न आशंका गरिरहेका बेला नेपाली सेनाले बिहीबार विज्ञप्ति जारी गरी चिनियाँ जनमुक्ति सेनासँगको संयुक्त सैन्य अभ्यास ‘नेपालको परराष्ट्र र सुरक्षा नीति’मा आधारित रहेको स्पष्ट पारेको छ । आजको अन्नपूर्ण पोष्माट शम्भु कट्टेलले खबर लेखेका छन्।

चीनको जनमुक्ति सेनासँग पहिलोपटक हुन लागेको सैन्य अभ्यास वैशाख १२ सम्म हुनेछ । नेपाल र चीनबीचको विशेष फौज संयुक्त सैन्य अभ्यासलाई ‘एक्सरसाइज सगरमाथा फ्रेन्डसिप’ नाम दिइएको छ । जंगी अड्डाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संयुक्त अभ्यासले आतंकवादविरुद्ध लड्ने क्षमता अभिवृद्धि गर्नुका साथै सैनिक ज्ञान र पेशागत क्षमता आदानप्रदान गर्दै सैनिक तथा कूटनीतिक सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुग्नेछ ।’

सेनाले सैन्य अभ्यास कुन तालिम केन्द्र वा वाहिनीमा हुनेबारे विवरण दिएको छैन । सेनाले अभ्यासमा सहभागी हुने दुवै राष्ट्रका सैनिकको संख्याबारे पनि उल्लेख गरेको छैन । जंगी अड्डाले अभ्यासमा सहभागी हुने सैनिकको संख्या नखुलाए पनि चिनियाँ जनमुक्ति सेनाबाट २० जनाभन्दा थोरै सहभागी हुने स्रोतले बताएको छ । सैनिक प्रवक्ता झंकरबहादुर कडायतले अभ्यासको तयारी पूरा भएको बताउनुभयो । अभ्यास विशेष वाहिनी महाराजगन्जमा गर्ने तयारी भइरहेको स्रोतले बताएको छ ।

चीनको रक्षा मन्त्रालयले गत पुस १४ मा पत्रकार सम्मेलन गरी नेपाल-चीन संयुक्त सैन्य अभ्यास हुने जानकारी दिएको थियो । चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता याङ युजुनले चिनियाँ जनमुक्ति सेना र नेपाली सेनाबीच पहिलोपटक सैन्य अभ्यासको तयारी भइरहेको बताउनुभएको थियो ।

मार्चभित्रै सैन्य अभ्यास गर्न दुवै देशले तयारी गरेका भए पनि नेपाली सेना शान्ति प्रयासलगायत अन्य कार्यक्रममा व्यस्त हुनुका साथै चीन-नेपाल संयुक्त अभ्यासबारे बाह्य शक्तिहरूले अनावश्यक टीकाटिप्पणी गरेपछि चीन सशंकित भएकाले अभ्यास अप्रिलमा सरेको स्रोतले बताएको छ । नेपाली सेनाले चीनसँगको सैन्य अभ्यास सामान्य भएको बताउँदै आएको छ । नेपालस्थित चिनियाँ दूतावासले नेपाल र चिनियाँ सेनाबीच हुन लागेको सैन्य अभ्यासबारे असम्बन्धित मुलुकहरूले अनावश्यक चासो र टिप्पणी गरेको भन्दै असन्तुष्टि जनाउँदै आएको छ ।

नेपालले अमेरिका र भारतसँग बेग्लाबेग्लै सैन्य अभ्यास गर्दै आएको छ । पछिल्लोपटक पाकिस्तान र बंगलादेशसँग तय भएको सैन्य अभ्यास स्थगित भएको थियो । पाकिस्तानसँग हुने भनिएको सैन्य अभ्यास प्रधानमन्त्री पुष्पकमल दाहालको दबाबमा नेपाली सेनाले स्थगित गरेको थियो । बिनाकारण सैन्य अभ्यास स्थगित हुँदा पाकिस्तान असन्तुष्ट बनेको स्रोतले बताएको छ । नेपाली सेनाले द्विपक्षीय सैनिक तालिम तथा अभ्यासबाट सैनिक ज्ञान तथा पेशागत क्षमता अभिवृद्धि हुनुका साथै सैन्य तथा कूटनीतिक सम्बन्ध सुदृढ पार्न सहयोग पुग्ने बताएको छ ।