नेपाली कांग्रेसलाई चुनावमा आफ्नै पार्टीबाट अन्तर्घात हुनेमा चिन्ता


पोखरा – नेपाली कांग्रेसका शिर्ष नेताहरुले चुनावमा अन्तर्घात हुने भन्दै चिन्ता व्यक्त्त गरेका छन् । कांग्रेसलाई आफ्नै पार्टी भित्रकाले हराउने भएकाले अन्तरघातलाई निर्मुल पानुपर्नेमा उनीहरुको जोड छ । बपोखरामा आज आयोजित प्रदेश नम्बर ४ स्तरीय आमसभालाई सम्बोधन गर्दै कांग्रेसका शिर्ष नेताहरुले आगामी निर्वाचन मार्फत कांग्रेसलाई कांग्रेसले हराउने प्रबृतिको अन्त्य गर्नुपर्नेमा जोड दिए ।

आमसभालाई सम्बोधन गर्दै पार्टी सभापति शेरबहादुर देउवाले अन्तरघात र बिद्रोह कांग्रेस भित्रको रोग भएकाले त्यस्तालाई कडा कारवाही गर्ने चेतावनी दिए । आगामी निर्वाचनमा पार्टीभित्र अन्तरघात गर्नेलाई कडा भन्दा कडा कारवाही गरिने उनले स्पष्ट पारे । ‘अन्तरघात र बिद्रोह पार्टीभित्रको रोग हो’, उनले भने ‘अन्तरघात गर्नेलाई कडा कारवाही गछौ । ’

सभापति देउवाले स्थानीय निर्वाचनका लागि उमेदवार छनौट गर्दा स्थानीय स्तरमै अत्याधिक सहमति जुटाएर नाम सिफारिस गर्न सुझाव दिए । ‘तेरो मान्छे , मेरो मान्छे भन्ने होईन जित्न सक्नेलाई टिकट दिने हो’, उनले भने ‘कसले जित्छ भनेर हामीलाई थाहा छैन त्यसैले अधिकतम सहमति जुटाएर उमेदवार तय गर्नुहोला । ’ उमेदवार छनौटका लागि केन्द्रबाट सर्कुलर पठाउने समेत उनले स्पष्ट पारे ।

पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई अरुले हराउने नसक्ने तर कांग्रेसले कांग्रेसलाई हराउने प्रबृति प्रति आपत्ती जनाए । उनले निश्पक्ष ढंगले पार्टीलाई योगदान दिने र जित्ने संभावना भएकालाई उमेदवार बनाउनुपर्नेमा जोड दिए । ‘कांग्रेस अरुसँग हार्दैन, कांग्रेसले कांग्रेसलाई हराउने प्रबृति रोक्नुपर्छ ।’ उनले भने ।

महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस भित्रकै अन्तरघातले पार्टी विजयबाट चुक्ने भएकालाई आफ्ना उमेदवार बिरुद्ध बागी उठ्नेलाई पार्टीबाटै निश्काशन गर्नुपर्ने बताए । ‘कांग्रेस भित्रकै अन्तरघातले विजयबाट चुक्छ , बागी उमेदवार उठे पार्टीले निश्काशन गर्नुपर्छ । ’ उनले भने ।

गृहमन्त्री समेत रहेका कांग्रेस नेता बिमलेन्द्र निधिले एमालेका शिर्ष नेताहरुले पूर्व राजासँग साइनो जोडेको आरोप लगाए । आगामी निर्वाचनका लागि एमालेको दोहोरो चाल खतराको रुपमा रहेको उनले बताए ।

आमसभामा पार्टी पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला, पूर्व सभामुख तारानाथ रानाभाट, नेताहरु गोपालमान श्रेष्ठ, शारदा पौडेल , अर्जुन जोशी लगायतले स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउने गरी तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गरेका थिए । आमसभाअघि पोखराका चोक चोकबाट निस्केको ¥याली चिप्लेढुङ्गामा पुगेको थियो ।