युभेन्टससँगको हार पेरिससँगको तेस्रो हाफ जस्तै:-लुइज इनरिके


युभेन्टससँग ३–० को हारपछि बार्सिलोनाका प्रशिक्षक लुइज इनरिकेले यो पेरिससँगको तेस्रो हाफ भएको टिप्पणी गरे ।पहिलो हाफमा आफ्नै गल्तीका कारण गोल खाएको भन्दै उनले दोस्रो हाफमा टिमको प्रदर्शन केही सुधार आएको बताए । उनले भने, शायद यो पेरिसको भाग होइन । तर, यो पेरिसको तेस्रो हाफ जस्तै भयो ।

पाउलो डिबालाको दुई गोलको मदतमा युभेन्टसले च्याम्पियन्स लिग क्र्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोनालाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा युभेन्टसले बार्सिलोनालाई ३–० गोल अन्तरले पराजित गरेको हो ।घरेलु मैदानमा भएको खेलमा डिबालाले सातौं मिनेटमा नै गोल गरेका थिए । २२ औं मिनेटमा उनले नै व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

खेलको ५५ औं मिनेटमा चिलिनीले गोल गर्दै युभेन्टसलाई ३–० को अग्रता दिलाए । बार्सिलोना खेलमा फर्कन सकेन र हार स्वीकार गरेको छ ।बार्सिलोनाले अन्तिम १६ को पहिलो लेगमा पनि पेरिस सेन्ट जर्मेनसँग ४–० को हार व्यहोरेको थियो । तर, दोस्रो लेगमा ६–१ को उत्कृष्ट पुनरागमन गर्दै अन्तिम ८ मा स्थान बनाएको थियो ।

दुई टोली पछिल्लो पटक २०१५ को फाइनलमा भिडेका थिए, जसमा ३–१ को जित निकाल्दै बार्सिलोनाले उपाधि उचाल्यो ।