रुसको सेन्ट पिटर्सवर्ग शहरस्थित भूमिगत रेलसेवामा विष्फोट


रुसी सन्चार माध्यमहरुले सेन्ट पिटर्सवर्ग शहरस्थित एउटा भूमिगत रेलसेवाका स्टेशनहरुमा भएको विष्फोटमा कम्तीमा दश जनाको ज्यान गएको जनाएका छन्।

तास तथा इन्टरफ्याक्स समाचार संस्थाहरुले शहरको मध्यभागमा सेनाया प्लोस्चाद र इन्स्टिच्युट अफ टेक्नोलोजी स्टेशनहरुमा ती विष्फोटहरु भएको जनाएका छन्। सामाजिक सन्जालमा प्रकाशित तस्वीरहरुमा सेनाया स्टेशनमा रेलको ढोका भत्किएको र नजीकै घाइतेहरु रहेको देखाइएका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आतंकवाद लगायत संभाव्य सबै कारणहरुको जाँचबुझ गरिने जनाएका छन्। राष्ट्रपति पुटिन सोमबार बिहान सोही शहरमा रहेका तर पछि उनी त्यहाँबाट फर्केका जनाइएको छ। समाचारहरुमा केटाकेटी सहित कम्तीमा पचास जना घाइते भएको जनाइएको छ।

इन्टरफ्याक्स समाचार संस्थाले एउटा विष्फोटक पदार्थ भित्र फलामे सुइरोजस्ता वस्तुहरु राखिएको हुनसक्ने जनाएको छ।सेन्ट पिटर्सवर्ग संसारकै व्यस्त भूमिगत रेल सेवाहरु मध्ये एक हो।दैनिक बीस लाख भन्दा बढी मानिसहरुले सो रेलसेवा प्रयोग गर्दछन्।

सन् २००९ मा मस्कोबाट सेन्ट पिटर्सवर्ग जाने एउटा तीव्र गतिको रेलमा भएको बम विष्फोटमा २७ जनाको ज्यान गएको थियो भने १३० जना अन्य घाइते भएका थिए। एउटा इस्लामवादी समूहले सो हमलाको जिम्मा लिएको थियो।-बीबीसी नेपाली सेवा