पोखरामा पहिलो पटक अनलाइन रेडियो र टेलिभिजन सञ्चालनमा आउने


पोखरा – पोखरा लेखनाथ महानगरपालिकामा काठमाडौंबाट रिले प्रशारण गर्ने वाहेक २५ वटा एफएम रेडियो छन् । पोखराको न्यूरोड, चिप्लेढुंगा क्षेत्रमा लहरै एफएम रेडियोको टावर ठडिएको देखिन्छ ।

सञ्चार मन्त्रालयबाट फ्रिक्वेन्सी लिने र टावर ठड्याउने प्रबृति बढ्दै छ । कतिपय रेडियोले पर्याप्त जनशक्ति राख्न सकेका छैनन् भने कतिपय जेनतेन सञ्चालनमा छन् । बजारमा बढ्दै गएको एफएम रेडियोहरुले प्रशारण गर्ने सामाग्रीमा पनि खसै भिन्नता छैन । एफएम ब्याण्ड मार्फत प्रशारणमा रहेका अधिकांश रेडियोले पछिल्लो समय इन्टरनेट प्रयोगकर्तालाई ध्यान दिदै अनलाइन मार्फत सुन्न सक्ने ब्यवस्था मिलाएका छन् । तर ती रेडियोद्धारा सञ्चालित अनलाइन सुचना विभागमा दर्ता छैनन् ।

पछिल्लो समय नयाँ अनलाइन निर्देशिका जारी भएसँगै सबै रेडियोले सञ्चालन गरेका अनलाइन पनि सुचना विभागमा अनिवार्य दर्ता हुनुपर्नेछ ।
त्यस्तै पोखरामा तीन वटा स्थानिय टेलिभिजन सञ्चालनमा छन् । केवल टिभी मार्फत सेटमा हेर्नसकिने ती टेलिभिजन प्रत्यक्ष अनलाइनमा हेर्न सक्नेगरी सहज ब्यवस्था छैन ।

फ्रिक्वेन्सी लिएर टावर मार्फत बजेका एफएम रेडियो र केवुल मार्फत हेर्न पाइने टेलिभिजनको भिड छिचोल्दै पोखरामा पहिलो पटक अनलाइन रेडियो र टेलिभिजन सञ्चालनमा आउने भएको छ । विश्वका कतिपय देशमा अनलाइन रेडियो र टेलिभिजन प्रभावकारी हुदै गएका बेला पोखरामा पनि त्यसको सुरुवात गर्न लागिएको हो ।

नेपाल प्लस प्रालिले पोखरामा नेपाल प्लस रेडियो र नेपाल प्लस टेलिभिजन सञ्चालन गर्न लागेको हो । प्रालिले बिहीबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार आइतबारबाट नेपाल प्लस रेडियोले नियमित प्रसारण सुरु गर्नेछ भने टेलिभिजन केहि समयपछि सञ्चालनमा आउनेछ ।

अनलाइन रेडियो/टेलिभिजन सञ्चालनका लागि आवश्यक सबै वैधानिक प्रक्रिया पूरा गरी सञ्चालनको तयारीमा रहेको प्रालिका प्रबन्ध निर्देशक नरमाया रसाइलीले बताइन् । सम्बन्धित सबै निकायमा दर्ता भएर पोखराबाट सञ्चालनमा आउन लागेको यो पहिलो अनलाइन रेडियो टेलिभिजन हो ।

अनलाइन रेडियो/टेलिभिजन पोखराको सभागृहचोक स्थित स्टुडियोबाट परीक्षण प्रसारणमा छ । http://www.nepalplusradio.com/ मा रेडियो र http://www.nepalplus.tv/ मा टेलिभिजन हेर्न सकिने जनाइएको छ । ‘देशदेखि परदेशसम्म’ भन्ने उद्घोषसहित सञ्चालनमा आउन लागेको रेडियोले नेपालीका सीप, क्षमता, पर्यटन विकास र नेपाली भाषा, कला, साहित्य र संगीतलाई उजागर गर्ने सञ्चालकको दावि छ ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले ढिलोचाडो सबै मिडिया डिजिटल प्रणालीमा जानैपर्ने अवस्था सिर्जना भएको बताए । उनले सञ्चारमाध्यममा आवद्ध पत्रकारको जीविका चल्ने गरी सेवा, सुविधा दिएर सञ्चारमाध्यम चलाउन आग्रह गरे । अनलाइन सञ्चारमाध्यमलाई हेर्ने सरकारी नजर पूर्वाग्रहपूर्ण रहेको उनको भनाइ छ । श्रेष्ठले भने, ‘केहीले गरेको कमजोरीलाई देखाउँदै हालै जारी भएको अनलाइन निर्देशिका निकै कडा छ ।’

सञ्चारिका समूह पश्चिमाञ्चल अध्यक्ष जमुना शर्मा वर्षाले आइलाइन अबको युगको भरपर्दाे र प्रभावकारी माध्यम भएको उल्लेख गरिन् । प्रालिका अध्यक्ष एवं प्रबन्ध निर्देशक नरमाया रसाइलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन फडिन्द्र अकिञ्चनले गरेका थिए ।