बार्सिलोनामा ‘लुट २’ देखाउँदा दर्शक खचाखच


बार्सिलोना/ निश्चल बस्नेतद्वारा निर्देशित बहुचर्चित नेपाली चलचित्र ‘लुट २ हेर्न दर्शकहरुको ठुलो भिड लागेको छ। चलचित्रको एउटा मात्र “सो” राखिएको भए पनि हलभित्र दर्शकहरुको खचाखची नै थियो।

माउन्ट एभरेष्ट गुप्र र सुजुरन ब्वाईजको सक्रियतामा आईतबार बार्सिलोनामा देखाईएको चलचित्र हेर्न दर्शकहरुको अहिले सम्म कै ठुलो उपस्थिति मानिएको छ। करिव ३ सय दर्शकहरुको उपस्थिति रहेको अनुमान छ।

तर चलचित्र हेरे पछि अधिकांश दर्शकहरु भने सोचे जस्तो चलचित्र नबनेको भन्दै निराश देखिए। तर बार्सिलोनाका युवाहरु मिलेर नेपाली चलचित्रलाई निकै ब्यबस्थित रुपमा देखाउँन सकेकोमा आयोजकको खुलेर प्रंशसा गरे। 

माउन्ट एभरेष्ट गुप्रका सुरेश शर्माले नेपाली चलचित्रलाई हेर्न यति ठुलो संख्यामा उपस्थिति रहेकोले आँफूलाई झनै हौसला मिलेको बताए। उनले कार्यक्रम सम्पन्न गर्न सहयोग पुर्याउँने संघ सँस्था तथा नेपाली समुदाय प्रति कृतज्ञता ब्यक्त गरे।

यसै सुजुरन ब्वाईजका साङ्गे शेर्पाले चलचित्र प्रदर्शनीबाट केहिँ रकम समेत बचत भएकाले युवालाई लक्षित गरी खेल प्रतियोगिताको आयोजना गर्ने बारे सोचिराखेको प्रतिक्रिया दिए। पछिल्लो क्रममा नेपाली युवाहरुको जमात बार्सिलोनामा बढ्दै जाँदा,खेलकुद,मनोरन्जन तथा सामाजिक काममा समेत उनीहरुको सक्रियता बढ्दै गएको छ।  

हाकु काले र चार युवाको लडाइँलाई नै मुख्य केन्द्रमा राखिएको चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, कर्मा, विपिन कार्की, कामेश्वर चौरासिया, ऋचा शर्मा, एलिसा राई लगायतका कलाकारले अभिनय गरेका छन्।