ल हेरौ आज प्रकाशित दैनिक पत्रिकाको फ्रन्टपेजमा के छ


उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको भारत भ्रमणदेखि प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी चैत १० गतेदेखि गर्ने चीन भ्रमणसम्बन्धी समाचारलाई शनिबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुले महत्वका साथ छापेका छन् ।

यससँगै, ‘छाती र टाउकोमै गोली किन दाग्छन् प्रहरी ?’ शीर्षकमा मुख्य समाचार छापेको नागरिक दैनिकले मधेस आन्दोलनमा दलहरुको स्वार्थका कारण राजनीतिक एजेण्डा ओझेलमा परेको विश्लेषणात्मक समाचारले महत्व पाएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको एकवर्षे कार्यकालको समीक्षा गर्दै नयाँ पत्रिका दैनिकले मुख्य समाचार छापेको छ ।

अन्नपूर्ण पोस्ट् दैनिकले प्रधानमन्त्री पुष्पकमल दाहालको आगामी चैत १० गतेदेखि हुने चीन भ्रमणमा चिनियाँ राष्ट्रपतिसँग भेटघाटको कार्यक्रम तय भएकोलाई मुख्य समाचार बनाएको छ । त्यस्तै निर्वाचन आयोगले राप्रपाको विधानबाट ‘हिन्दु राष्ट्र’ र ‘राजतन्त्र’ हटाएकोलाई प्राथमिकताका साथ छापेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिसित ‘दस महिनामै ३ चुनाव होला त ?’ भनेर प्रश्न गरेको समाचारलाई खास महत्व दिएको कान्तिपुर दैनिकले महत्वपूर्ण कानुनहरु अडि्कएको समाचारलाई पनि प्राथमिकता दिएको छ ।

मेची-महाकाली अभियानपछि एमालेले ‘सत्ता संरक्षित फाँसीवाद उदयको संकेत देखेको’ भन्दै राजधानी दैनिकले महत्वका साथ समाचार छापेको छ । त्यस्तै, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई नेपाली कांग्रेसमा भित्राउने तयारी भएको समाचारले पनि प्राथमिकता पाएको छ ।

कञ्चनपुर घटनाका दोषीलाई कारबाही गर्न भारत तयार भएकोलाई मुख्य समाचार बनाएको गोरखापत्र दैनिकले सांसदले अवकाशपछि पनि सरकारी सुविधा मागेको समाचारलाई एंकर बनाएको छ ।