पोखरा – लेखनाथ महानगरपालिकाको औपचारिक शुभारम्भ, ३३ वटै वडामा सचिव खटाइयो


पोखरा – साविकका पोखरा उप–महानगरपालिका र लेखनाथ नगरपालिकाले सोमबार पोखरा लेखनाथ महानगरपालिकाको रुपमा शुभारम्भ गरि कार्यारम्भ गरेका छन् । पोखरा लेखनाथ महानगरपालिका कार्यालयको सभाहलमा सम्पन्न कार्यक्रममा महानगरका कार्यकारी अधिकृत नवराज ढुङ्गानाले कर्मचारीहरुलाई महानगरपालिकाको रुपमा कार्य गर्न निर्देशन दिँदै पोखरा लेखनाथ महानगरपालिकाको शुभारम्भ गरेका हुन् ।

कार्यकारी अधिकृत ढुङ्गानाले मुलुककै ठुलो महानगर बन्नु सौभाग्य भएको भन्दै महानगरका रुपमा प्राप्त काम, कर्तव्य र अधिकारलाई कर्मचारीले उच्च मनोवलका साथ पालना गर्नुपर्ने बताए । साविकका कतिपय गाविससहित गाभिएर बनेको महानगरका बासिन्दालाई महानगरबासी हुनुको बोध गराउने दायित्व कर्मचारीको हुने भएकाले अझ बढि जिम्मेवारी र मेहनतका साथ काम गर्न कर्मचारीलाई निर्देशन समेत दिए ।

शुभारम्भका अवसरमा महानगरपालिकाले ३३ वटै वडाका वडा सचिवहरुको टुङ्गो समेत लगाएको छ । अन्य कर्मचारीहरुको व्यवस्थापन, वडा केन्द्रको टुङ्गोलगायतका विषय क्रमिक व्यवस्थापन गर्ने गरि पहिलो चरणमा वडा सचिवहरुलाई खटाइएको कार्यकारी अधिकृत ढुङ्गानाले जानकारी दिए । जसअनुसार वडा नं. १ मा महेन्द्र खवास, २ मा यम बहादुर क्षेत्री, ३ मा सविता तामाङ्ग, ४ मा केशवराज कोइराला, ५ मा कुम बहादुर तामाङ्ग, वडा नं. ६ मा राजु बहादुर कोइराला, ७ मा रमेश पौडेल, ८ मा दिप बहादुर कोइराला, ९ मा लोकदर्शन कोइराला, १० मा नवराज थापा, काहुँ र फुलवारी मिसिएको ११ मा सुर्यमोहन पौडेल, १२ मा श्रीकान्त तिमिल्सिना, मियाँपाटन र आर्वा मिसिएर बनेको १३ मा हर्क बहादुर कुँवर, साविकको १४ र १८ मिसिएर बनेको १४ मा अर्जुन प्रसाद पौडेल वडा सचिवका रुपमा खटिएका छन् ।

यस्तै, वडा नं. १५ मा विष्णु प्रसाद लामिछाने, साविकको १६ र २८ मिसिएर बनेको १६ मा एकबहादुर बस्नेत, १७ मा प्रजापती बराल, साविकको पोखरा २६ सराङ्गकोट एवम् हालको पोखरा १८ मा रुद्र प्रसाद बस्ताकोटी, पुरञ्चौर १ देखि ९ एवम् लामाचौर मिसिएर बनेको पोखरा १९ मा हरि प्रसाद अधिकारी, भलाम र मौजाको १ देखि ९ मिसिएर बनेको २० मा चेतराज आचार्यलाई वडा सचिवका रुपमा खटाइएको प्रशासन महाशाखा प्रमुख अनन्त प्रसाद कोइरालाले जानकारी दिए ।

यसैगरि साविक पोखरा उप–महानगरपालिकाको २३ र २४ मिसिएर बनेको वडा नं. २१ को वडा सचिवका रुपमा मुक्तिनाथ पोखरेल, २२ मा रामप्रसाद पौडेल, चापाकोटको १ देखि ९ एवम् भदौरे तामागी ३ देखि ९ मिसिएर बनेको २३ मा शेर बहादुर कुँवर, कास्कीकोट १ देखि ९ सम्म थप भएको वडा नं. २४ मा नारायण अधिकारी, साविकका २७ र २९ एवम् हालको २५ मा इश्वरी प्रसाद बास्तोला, साविक लेखनाथ ३ देखि ५ सम्मको २६ मा सावित्री बराल, लेखनाथ २, ६ र ७ मिसाएर बनेको वडा नं. २७ मा लिलामणी भण्डारी, माझठाना र कालिकाको १ देखि ५ मिसिएर बनेको २८ मा शोभाखर ढकाल, २९ मा सावित्रा पौडेल, लेखनाथ ८ र १२ मिसिएर बनेको ३० मा मीना भट्टराई भण्डारी, साविक लेखनाथ ९ देखि ११ तथा महानगरको वडा ३१ मा रेशमलाल पौडेल, साविक लेखनाथको १३ देखि १५ तथा हालको ३२ मा जीवनाथ पराजुली एवम् वडा नं. ३३ मा विष्णु प्रसाद बराललाई वडा सचिवका रुपमा खटाएको कोइरालाले जानकारी दिए । यसरी खटाइएका कर्मचारीहरुमध्य ५ जना निजामती र अन्य महानगरपालिकाका कर्मचारी हुन् ।

यसैविच, वडा सचिवका रुपमा खटिएका कर्मचारीलाई स्थानीय तहको शासन सञ्चालन सम्वन्धमा जारी गरिएको आदेश २०७३ लाई महानगरपालिकाका महाशाखा प्रमुखहरुले जानकारी गराएका छन् । कार्यक्रमका विच महानगरपालिकाको सम्वन्धित वडाको बोर्ड, आधिकारिक छाप तथा स्ट्याम्प लगायतका आवश्यक सामाग्री वडा सचिवहरुलाई हस्तान्तरण गरिएको थियो ।

नेपाल सरकारको मन्त्रिपरिषदको फागुन २२ को निर्णय फागुन २७ मा राजपत्रमा प्रकाशित भएपछि स्थानिय तह ४ महानगरसहित ७ सय ४४ स्थानिय तहको कार्यान्वयन भएको हो । कास्कीमा १ महानगरपालिकासहित ४ वटा गाउँपालिका छन् ।