नगरबासी भएको अनुभुत गर्न नपाएको अर्मलाबासीको गुनासो


पोखरा – पोखरा २८ अर्मलाका नागरिकहरुले उपमहानगरपालिकामा समायोजन भएको तीन बर्ष वितिसक्दा पनि आँफुहरुले नगरबासी भएको अनुभुत गर्न नपाएको गुनासो गरेका छन् ।

शुक्रबार भएको पोखरा उपमहानगरपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागीहरुले नगरपालिकामा हुने आधारभुत ब्यवस्था समेत नभएको गुनासो गरे । ‘अर्मलामा नगरबस चल्दैन । खोलामा पुल छैन, स्थानीय जयलाल भट्टराई भन्छन्–नगरपालिकाले यसको ब्यवस्थापन गरिदिनुप¥यो ।’ आधारभुत संरचना पनि नहुँदै महानगरपालिका बनेकोमा अर्का स्थानीय धर्मराज आचार्य गुनासो गर्छन् । ‘उपमहानगरपालिका बन्दा ठूलै चिज पाईयो भनेर छात्ति फुलेको थियो । ३ बर्षअघि जस्तै छ, अर्मला, उनले भने–तीनबर्षमा गाविसबाट महानगर बनिसक्यो । हामी कहिले बन्छौं नगरबासी ?’

सहभागीहरुले लक्षित बर्गको बजेटबारे जानकारी नपाएको गुनासो गरे । यस्तै फोहोरमैला ब्यवस्थापन, सार्वजनिक जग्गा संरक्षण लगाएतका बिषयमा सुझाव र प्रश्न गरे । प्रश्नको सुनुवाई गर्दै नगरपालिकाका सामाजिक बिकास महाशाखा प्रमुख, बरिष्ठ अधिकृत ओमराज पौडेलले नगरपालिका सँधै वडाबासीकै साथमा रहेको प्रष्ट्याए । ‘स्वभाविक रुपमा शहरी वडा भन्दा ग्रामीण वडाहरु हाम्रो प्राथमिकतामा छन्, उनले भने–यो अवसरबाट अर्मला बञ्चित छैन । श्रोत अनुसार लगानी गरेकै छौं, अझै बढाउन पहल गर्छौं ।’ उनले लक्षित बर्ग तर्फका बजेट मागका आधारमा खर्च भएको भन्दै अर्मलामा पनि लगानीका लागि तयार रहेको बताए ।

बरिष्ठ इञ्जिनियर शारदा मोहन काफ्लेले वडा तहको सार्वजनिक सम्पत्ती संरक्षणका लागि र पुल निर्माणका लागि आवश्यक समन्वय तत्काल थाल्ने प्रतिबद्धता जनाए । उनले नयाँ वडा भएकाले ग्रामिण भेगजस्तै रहेको भन्दै शहरको स्वभावका आधारमै विकास निर्माणका काम गर्ने बताए । ‘नयाँ वडाहरुमा सार्वजनिक सम्पत्ति र संरचना निर्माणमा केही समस्या परेको गुनासो छ, उनले भने–केही समयमै देखिनेगरी समस्या समाधान हुन्छ । अर्मलामा पनि यो अभियान चल्छ ।’ प्रशासन महाशाखा प्रमुख तथा बरिष्ठ अधिकृत अनन्त प्रसाद कोइरालाले पनि नगर बस ब्यवसायी समितिसँग समन्वय गरेर निरन्तर बस सञ्चालनका लागि पहल गर्ने प्रतिबद्धता जनाए । उनले बजार क्षेत्रमा भएका फोहोर संकलनका लागि गरिएको माग नगरपालिकाको बैठकमा प्राथमिकताका साथ प्रश्तुत गर्ने र गुनासोको सम्बोधन हुने बताए ।

सेवाग्राही नागरिकले नगरपालिकामा सेवा लिन निकै झण्झट ब्यहोर्नुपरेको, बिद्युत खानेपानी जस्ता पूर्वाधार विस्तारमा पनि नगरपालिकाले कञ्जुस्याईँ गरेको, जनसहभागीता बापतको रकम बढी भएको, पर्यटकीय ठाउँहरुको विकासमा चासो नदिईएको लगाएत गुनासो गरे । जवाफमा प्रमुख जवाफदेह ओमराज पौडेलले आगामी दिनमा जनताको गुनासो नदोहोरिने गरी काम गर्ने प्रतिबद्धता जनाए । ‘तपाईँहरुका सबै गुनासो हामी नोट गरेर तत्तत् महाशाखामा पु¥याउँछौं । आवश्यक सम्बोधनका लागि आग्रह गरौंला, उनले भने–अर्को पटक यो गुनासो दोहो¥याउनु पर्दैन । विश्वस्त हुनुस् ।’ कार्यक्रममा वडा तहका राजनीतिक दलका प्रमुखहरु पनि सहभागी थिए । नेपाली काँग्रेसका इकाई सभापति दिननाथ आचार्य, एमाले अध्यक्ष चुडामणी आचार्य, माओबादी केन्द्रका अध्यक्ष बसन्त शर्मा भट्टराई, राप्रपा अध्यक्ष तिलक बहादुर केसी लगाएतले महानगरको जस्तो सेवा प्रबाह गर्न सुझाए ।

वडा सचिव बसन्तराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण पत्रकार प्रकाश ढकालले गरेका थिए भने नागरिक निगरानी समूहका सदस्य गणेश बहादुर श्रेष्ठ यसअघिको कार्यक्रममा गरिएका सार्वजनिक प्रतिबद्धता र कार्यान्वयन बारे जानकारी गराएका थिए ।