कम्युनिस्टहरुको राष्ट्रवाद खोक्रो हो :- काँग्रेस महामन्त्री कोइराला

नेपालले भारत र चीन दुवै संग सुमधुर सम्बन्ध बनाउदै मिलाएर लैजान सक्नु पर्छ


कोपेनहेगन/ नेपाली काँग्रेसका महामन्त्री डा. सशांक कोईरालाले,भारतलाई गाली गर्ने र चिनसँग टाँसीए जस्तो गर्ने कम्युनिष्टहरु कहिल्यै पनि राष्ट्रबाद हुन नसक्ने आरोप लगाएका छन्। नेपाली जनसम्पर्क समिति डेनमार्कले शुक्रबार कोपेनहेगनमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कोईरालाले नेपालका कम्युनिस्टहरु दुवै छिमेकी देशहरुलाई मिलाएर लैजाने क्षमता नभएको भन्दै उनले यस्तो बताएका हुन् ।

नेपालको संबिधान कार्यान्वयन र राष्ट्रियताको सवालमा नेपाली काँग्रेसको भूमिका विशेषक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै कोईरालाले भने,” कम्युनिष्टहरु कहिँल्यै पनि राष्ट्रबाद हुनै सक्दैनन्। कम्युनिष्टहरुलाई सोध्नु पर्ने, के- हो उनीहरुको राष्ट्रबाद ? भारतलाई गाली गर्दैमा र चिनसँग टास्सीएर मात्र राष्ट्रबाद हुने ? उनले अगाडी थपे ”न हामी भारतलाई गालि गर्छौ न चिनलाई” । नेपालले भारत र चीन दुवै संग सुमधुर सम्बन्ध बनाउदै मिलाएर लैजान सक्नु पर्छ

आज भोलि सामाजिक संजाल गालीले नै रंगिएको बताउँदै उनले नेपाली काँग्रेससँग आस्थावानहरु भने सच्चा राष्ट्रभक्त भएको दाबी गरे। नेपालमा बिदेशी हस्तक्षेप भएको स्विकार गर्दै कोईरालाले राजनीतिक अस्थिरताको फाईदा उठाउँदै यस्तो हस्तक्षेप हुने गरेको बताए। उनले भने,” हो राजनीतिक अस्थिरता भएको बेलामा बिदेशी हस्तक्षेप हुने गरेको छ। त्यसैले भुकम्पले थला परेको बेला मुलुकले नाकाबन्धी खेप्नु पर्यो।”

के- के बिषयमा संबिधान संसोधनको गर्ने बारे अहिले छलफल नभएको भन्दै कोईरालाले भने,”पाँच नम्बर प्रदेशलाई तराई र पहाडमा टुक्राएर संबिधान संशोधन स्विकार्य हुँदैन।” किनकी त्यहाँका लाखौ जनताहरुको भाव नटुक्रियोस् भन्ने नै छ।” तर उनले विकेन्द्रीकरणको अन्तिम रुप नै संघियता रहेको भन्दै,नब्बे प्रतिशतले बनाएको संबिधान उत्कृष्ट रहेको पनि दाबी गरे। संघियता अलि नयाँ बिषय भएकाले मुलुकमा लागु गर्न केहि अप्ठारो देखिएको पनि कोईरालाले बताए।

डा. कोईरालाले दश महिना भित्र मुलुकमा स्थानीय,प्रदेश र संघीय गरी तीन वटै निर्बाचन गर्नु पर्ने चुनौती रहेको भन्दै सबै दलहरुले यतै ध्यान केन्द्रित गर्नु पर्नेमा जोड दिए। नेपाली जनसम्पर्क समिति डेनमार्कका नवनिर्बाचित अध्यक्ष बिरेन्द्र सिंह कार्कीको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा डेनमार्क स्थित बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा काँग्रेस नेताहरु एनपी साउद, चन्द्र भण्डारी र सुरेन्द्र पाण्डेले पनि सम्बोधन गरेका थिए।