सहिद बेनोजको डेनमार्कमा सम्झना


– महेशकुमार खाती/कोपनहेगन

सहिद वेनोज अधिकारीको १५ औं स्मृतिमा बुधवार डेनमार्कमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । अखिल क्रान्तिकारीका तत्कालिन केन्द्रिय उपाध्यक्ष अधिकारीको जनयुद्धको क्रममा साहदत भएको थियो । अधिकारीकी आमा हरीमाया हाल डेनमार्कमा रहेकाले नेपाली जनप्रगतिशील मञ्च (एनपिपीएफ) डेनमार्कले श्रद्धाञ्जली कार्यक्रम गरेको हो । श्रद्धाञ्जली कार्यक्रममा अधिकारीका आफन्त तथा एनपिपीएफका नेता कार्यकर्ताले सहिदको सपना पुरा गर्नुपर्नेमा जोड दिएका थिए ।

तनहुँको क्यामिनमा जन्मिएका अधिकारीको २०५८ साल फागुन २४ गते मोरङको खोर्सानस्थित केराबारीमा तत्कालिन शाही सेनाले गिरफ्तार गरि हत्या गरेको थियो । सहिद अधिकारी जनयुद्धकालमा सहादत प्राप्त गरेका सबैभन्दा उच्चस्तरका विद्यार्थी नेता थिए  ।

सहिद अधिकारीकी आमा हरीमायाको अध्यक्षातामा भएको श्रद्धाञ्जली कार्यक्रममा नेकपा (माओवादी) केन्द्रका केन्द्रिय सदस्य दधीराज घिमिरे, एनपिपीएफ डेनमार्कका अध्यक्ष उदयराज गौतम र निवर्तमान अध्यक्ष गणेश ढकालले सहिदहरुले देखाएको बाटो भुल्न नहुने बताए । सहिद आमा हरीमाया हाल कान्छा छोरा अनोजसंग डेनमार्कमा भिजिट भिषामा छिन् ।