प्रहरीले चलाएको गोली लागेर, सप्तरीमा चार जनाको मृत्यु’


फोटो साभार:- बीबीसी नेपाली सेवाबाट

प्रमुख प्रतिपक्षी नेकपा एमालेको मेची-महाकाली अभियानका क्रममा सप्तरीको राजविराजमा भएको मधेशी मोर्चाको विरोधपछि भएको घटनामा प्रहरीले चलाएको गोली लागेर कम्तीमा चार जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

मोर्चाका नेताहरुको काठमाण्डूमा बसेको बैठक पछि जारी विज्ञप्तीमा जनाइए अनुसार मारिनेहरुमा सञ्जन मेहता, दिगम्बर यादव, पिताम्बरलाल मण्डल र आनन्द साह रहेका छन्। मोर्चाले कैयौं प्रदर्शनकारीहरु घाइते भएको जनाएको छ। संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सोमबार सप्तरीमा भएको घटनाको निन्दा गर्दै मङ्गलवार र बुधवार ‘मधेश बन्द’को घोषणा गरेको छ।

गोली

सप्तरी जिल्लाको मलेठमा प्रदर्शन गरिरहेका मधेशी मोर्चाका कार्यकर्ताहरुमाथि प्रहरीले गोली चलाएको मोर्चाका एकजना नेता अशोक यादवले बताए। उनले भने,” एमालेको कार्यक्रम समाप्त भैसकेपछि अचानक फायरिङ् भयो, तीन चार जना शहीद हुने स्थिति छ र १५, २० जनालाई गोली लागेको छ। उपचारको लागि धरान र विराटनगर पुराइएको अवस्था छ।”

एमालेको मेची महाकाली अभियानका क्रममा आयोजित सभामा पार्टी अध्यक्ष केपी ओलीले भाषण गरिरहेको बेला प्रदर्शन तीव्र हुँदा प्रहरीले गोली चलाएको आन्दोलनकारीहरुको भनाइ छ। एमालेको सभा भइरहेको राजविराजस्थित औद्योगिक क्षेत्र वरपर प्रहरीमाथि ढुँगामुढा हुन थालेपछि बल प्रयोग गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी उद्धव तिमिल्सिनाले बताए।

उनले भने,”ढुङ्गामुडाबाट प्रहरीहरु धेरै घाइते भए। अश्रु ग्यास, रबर गोली प्रहार जस्ता सबै पहिला गर्नुपर्ने कामहरु सकिसकेपछि अन्त्यमा प्रहरीमाथि असाध्यै धेरै ठूलो आक्रमण हुने देखिंदा गोली चलाइएको भन्ने मैले सुनेको छु।”

प्रदर्शन

सप्तरी घटना लगत्तै मध्य तराइका जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन भएका छन्। १५ दिनको लागि मेची महाकाली अभियान शुरु गरेको नेकपा एमालेले सप्तरी घटना पछि मंगलबार देखि तीन दिन सम्मका लागि आफ्नो अभियानका कार्यक्रमलाई स्थगित गर्ने निर्णय गरेको छ। सप्तरीमै बसेको बैठकले त्यस्तो निर्णय गरेको एमाले प्रचार विभागका उपसंयोजक सूर्य थापाले बीबीसीलाई बताए।

तीन दिन पछि भने अभियान पुन: अगाडि बढने एमाले नेताहरुको भनाइ छ। मोर्चाले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने विषयमा सोमबार सांझ बसेको बैठकमा छलफल भए पनि त्यसबारेमा कुनै निर्णय नभएको नेताहरुले बताएका छन्।मँगलबार दिउँसो बस्ने बैठकले त्यसबारे आवश्यक निर्णय लिने पनि बताइएको छ।-बीबीसी नेपाली सेवा