भरपर्दो शान्ति सुरक्षा प्रदान गर्न एमालेको सरकारसंग माग,एमाले देखेर अरू दल आत्तिएः ओली (छापाबाट)


नेकपा एमालेले शनिवारबाट सुरु गरेको मेची-महाकाली राष्ट्रिय अभियानलाई मधेसी मोर्चाले असफल बनाउन आक्रमणको धम्की दिएको र सरकारले समेत अप्रत्यक्ष रुपमा विफल बनाउन खोजेको भन्दै एमालेले अभियानमा भरपर्दो शान्ति सुरक्षा प्रदान गर्न सरकारसंग माग गरेको छ । मोर्चाका कार्यकर्ताहरुले सप्तरी, सिराहा जिल्ला लगायतका स्थानमा पार्टीले गरेको राष्ट्रिय अभियानलाई आक्रमणको धम्की दिनु र गृहमन्त्री बिमलेन्द्र निधिबाट एमालेलाई मेधशबाट लखेट्ने धम्की आउनु एमाले अभियानलाई अफिल बनाउने षड्यन्त्र भएको भन्दै एमालेको इटहरीमा बसेको आपत्तकालीन बैठकले शान्ति सुरक्षा माग गरेको छ ।

एमालेको मेची-महाकाली अभियान असफल बनाउन सरकारकै तर्फबाट गृहमनत्रीबाट गै्रह जिम्मेवार अभिव्यक्ति दिनु र मधेसी मोर्चाले आक्रमणको धम्की दिनु दुबैको षड्यन्त्र भएको भन्दै अभियानलाई परापर्दो सुरक्षा प्रदान गर्न सरकारसंग माग गरिएको एमालेका बरिष्ठ नेता झलनाथ खनालले बताएका छन् । इटहरीको गोर्खा डिपार्टमेण्ट स्टोरमा बसेको स्थायी समितिको बैठक पश्चात अन्नपूर्ण समाचारदातासंग करा गर्दै नेता खनालले मेची महाकाली अभियानको जनलहर देखेर सरकार र मधेसवादीदलहरु अत्तालिएर एमालेको अभियान असफल बनाउन षड्यन्त्र गरिरहेको निचोड निकाल्दै एमालेले सरकारसंग भरपर्दो सुरक्षा व्यबस्था मिलाउन माग गरेको बताए । उनले पूर्व घोषित तालिका अनुसार अभियान सुचारु हुने पनि बताए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

स्थायी समिति बैठकमा पार्टीले थालेको अभियानको समिक्षा र विभिन्न जिल्लामा एमाले विरुद्ध आक्रमण गर्ने धम्कीको विषयमा बैठक केन्द्रित रहेको पनि नेता खनालले बताए । बैठकमा अधिकांस नेताहरुले आफु संयमित भएर अभियानलाई सफल बनाउन सरकारसंग सुरक्षा व्यबस्था माग गर्ने निर्णय गरिएको पनि उनले जानकारी दिए । उनले एमाले अभियानलाई आक्रमण गर्ने धम्की आएको विषयमा सरकारलाई जानकारी गराईसकिएको बताउदै नेता खनालले सरकारले पार्टीको मेची-महाकाली अभियानलाई सुरक्षा दिन नसके एमालेले प्रतिबाद गर्ने समेत चतावनी दिएका छन् ।

एमालेले सरकारसंग शान्ति सुरक्षा माग गरेपछी सरकारको दायीत्व शान्ति सुरक्षाको व्यबस्था मिलाउने भएकाले अभियाना अराजक तत्वहरुबाट अबरोध सिर्जना गरी कुनै अप्रिय घटना घटे त्यस्को सम्पूर्ण जिम्मेवार सरकारले लिनु पर्ने खनालले बताए । उनले एमालेको मेची-महाकाली अभियान कसैले धम्की दिदैमा नरोकिने भएकाले अभियानलाई अझ व्यवस्थित बनाउन स्थायी समितिको आपत्तकालीन बैठक बसिएको प्रष्ट पारेका छन् । एमाले सचिव तथा प्रदेश नम्बर १ का संयोजक भीम आचार्यले मधेसी मोर्चा लगायतका समुहबाट अभियानलाई विथोल्ने पैयास भएपछी सोमवार गर्ने भनिएको सुनसरीको लौकही बजारको आमसभालाई स्थगित गरिएको बताए ।

एमालेलाई मधेसमा कसैले रोक्न सक्दनः नेपाल
धरानः एमाले नेता माधवकुमार नेपालले मधेसमा एमालेलाई कसैले चाहेर पनि रोक्न र छेक्न नसक्ने चेतावनी दिएका छन् । मेची-महाकाली राष्ट्रिय अभियानको दोस्रो दिन आइतबार सुनसरीको इटहरीमा आयोजित सभालाई सम्बोधन गर्दै नेपालले उक्त कुरा बताएका हुन् । उनले देशभर एमालेको जनलहर देखेर सरकार सञ्चालन गर्ने माओवादी, कांग्रेस मधेसका ठालु भनाउँदाहरू थर्कमान भएको बताए ।

नेता नेपालले आगामी चुनावमा एमाले नम्बर वान पार्टी बन्ने भएपछि मधेसी दललगायत कांग्रेस र माओवादी केन्द्र एमालेविरुद्ध खनिएको आरोप लगाएका छन् । उनले एमालेप्रति देशभरका जनताको समर्थनले अत्तालिएर प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा भित्रभित्रै एमालेविरुद्ध लागेको पनि आरोप लगाए । नेपालले मधेसमा एमालेले आयोजना गरेको आमसभा देखेर कांग्रेस, माओवादी र मधेसी दल डराउन थालेको बताए । उनले मधेसी दल र सत्ता सञ्चालन गर्नेहरूलाई मधेसमा एमालेको जत्रो कार्यक्रम गरेर देखाउनसमेत चेतावनी दिए ।

नेता नेपालले मधेसी दल तराई, पहाड र हिमालको कुरा उठाएर देशलाई विभाजन गर्न लागिपरेको भन्दै सचेत रहन सबैमा आग्रहसमेत गरेका छन् । उनले देशको हित नचाहानेहरूले एमालेलाई मधेसविरोधी पार्टी भनेर गलत आरोप लगाउने गरेको बताए । उनले मधेसको मसियार हुँ भन्नेहरू भारतीय इसारामा लागेर नेपाल र नेपालीको भावनाविपरीत गलत अभिव्यक्ति दिई राष्ट्रघात गरेको आरोप लगाएका छन् । उनले एमालेको मेची-महाकाली अभियान जो-कसैविरुद्ध नभएको पनि बताए ।

नेता नेपालले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न र कुनै पनि जुझाव सल्लाह नदिन भारतीय नेतालाई चेतावनी दिए । उनले नेपालको आन्तरिक मामिला आफैं समाधान गर्न नेपाली सक्षम रहेकाले आगामी निर्वाचनमा एमालेले बहुमत हासिल गरेपछि संक्रमणकाल अन्त्य हुने बताए ।
सभालाई सम्बोधन गर्दै पूर्वसभामुख तथा एमाले पोलिटब्युरो सदस्य सुवासचन्द्र नेम्वाङले नेपालको इतिहासमा पहिलो पटक जनताले चुनेका प्रतिनिधिबाट संविधान जारी भएको भन्दै कसैले चाहँदैमा संविधान संशोधन नहुने बताए । उनले संविधान रहरले संशोधन गर्ने साधन नभएको भन्दै अनावश्यक बखेडा झिक्दैमा संविधान संशोधन गर्न नसकिने बताए ।

सोमबार सुनसरीको इनरुवा र लौकहीमा आमसभा सम्पन्न गरी एमालेको अभियान सप्तरी प्रवेश गर्ने बताइएको छ । एमालेको अभियानमा अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता नेपाल, महासचिव ईश्वर पोखरेल, केन्द्रीय सदस्यलगायत पाँच सय जना सहभागी रहेको एमाले प्रचार विभागका सचिव विष्णु रिजालले बताए । एमालेको अभियानलाई मधेसी मोर्चाका कार्यकर्ताले अवरोध गरी बिथोल्ने योजना बनाएपछि सुनसरीमा व्यापक प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।

एमालेमा जनलहर देखेर अरू दल आत्तिएः ओली
मोरङः एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेप्रतिको जनलहर देखेर अन्य दल आत्तिएको बताएका छन् । एमालेदेखि अरू दलका नेताहरूको सातोपुत्लो उडेको उनको भनाइ छ । पार्टीले सुरु गरेको मेची-महाकाली अभियानको दोस्रो दिन आइतबार मोरङको कोसीहरैंचास्थित विराटचोकमा आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले एमाले आफ्नोभन्दा पनि मुलुकको स्वार्थका लागि तिलान्जली दिने पार्टी भएकाले विपक्षीलाई त्यो मान्य हुन नसक्नु स्वभाविक रहेको बताए । ‘केही दिन सरकार चलाउँदा एमालेले गरेर देखाउने भयो भनेर देशीविदेशी शक्ति थर्कमान भएका थिए’, उनले भने, ‘यति ठूलो अभियानबाट त झन् नआत्तिने कुरै भएन ।’

उनले एमाले निर्वाचन र संविधान कार्यान्वायन चाहने पार्टी भएकाले त्यसको विरुद्धमा रहेकाहरूले अनेकन भ्रम फैल्याइरहेको बताए । पार्टीले सुरु गरेको अभियान चुनावका लागि नभएको उनको दाबी थियो । ‘एमालेले चुनाव लक्षित अभियान सुरु गर्‍यो भनेर भन्नेहरू पनि कम छैनन्’, ओलीले भने, ‘यो अभियान चुनावका लागि नभएर राष्ट्रिय जागरण र एकताका लागि हो ।’ उनले पार्टीका विरुद्धमा तराई मधेसमा छरिएका विभिन्न प्रकारका भ्रम चिर्न अभियानमार्फत एमाले सफल हुने दाबी गरे ।

अध्यक्ष ओलीले अनेकथरी तत्व जनतालाई अल्मल्याउन र भड्काउन लागि रहेको बताउँदै भने, ‘यो अभियानमा त्यस्ता गलत तत्वको भन्डाफोर गरिने छ ।’ देशको कुभलो चिताउने तत्व जनतालाई भड्काएर मुलुकको अस्तित्व समाप्त पार्न लागिपरेको उनको आरोप छ । एमालेले चलाएको अभियानबाट आत्तिएकाहरूले एमालेलाई तराईमा पस्न र बोल्न नदिने उद्घोष गरेको प्रति उनको आपत्ति थियो । ‘एमाले जनतामाझ पुगेर वास्तविक कुरा छर्लंग पारेपछि आफूहरू समाप्त हुने डरले एमालेमाथि निषेधको राजनीति गर्न खोजिरहेका छन्’, उनले भने, ‘तर पार्टीको यो अभियानलाई कसैले रोक्न र छेक्न सक्दैन ।’

ओलीले जनताका बीचमा पुगेर अन्य राजनीतिक दलहरूले जनभावनामाथि गरिरहेको कुठाराघातलाई छर्लंग पार्न पनि एमालेले मेची-महाकाली अभियान सञ्चालन गरेको उनले स्पष्ट पारे । कसैले छेकेर, रोकेर र अवरोध गरेर एमालेको कार्यक्रम नरोकिने भन्दै ओलीले जनतामाझ सबै कुरा राखेपछि एमालेले मुलुक र जनताका लागि के गरिरहेको छ भन्ने प्रष्ट हुने बताए । सबै जनताको समर्थनमा मुलुकको हित चिताउने एक मात्र पार्टी एमाले रहेको उनको दाबी छ ।

कार्यक्रममा एमाले उपाध्यक्ष भीम रावलले कसैले आगो लगाएर संविधान जलाउन खोज्नु भनेको जनताको भावनामा आगो लगाउनुजस्तै भएको बताए । उनले सद्भाव भाँडेर दुरभाव फैल्याउनेलाई जनताले चिनिसकेका कारण त्यसको हिसाबकिताब केही समयमा हुने बताए । अरूको राजदूतावासमा गएर भात खाएर मुलुकको विरोध गर्नेहरूलाई जनताले ठेगान लगाउने उनको चेतावनी छ । ‘हामी सबैलाई मान्य हुने हिसाबमा मुलुक चलाउनुपर्छ भनिरहेका छौं’, रावलले भने।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले एमालेलाई बाजा बजाएर बिदा गर्छौं भन्नेहरूको मनमा ढ्याङ्ग्रो ठोक्न थालिसकेको बताए । ‘एमाले मुलुकबाट सकियो भन्ने सोचेका थिए होलान्’, उनले भने, ‘एमालेप्रतिको जनसागर देखेर उनीहरू आफैं सकियौं भन्न थालेका छन् ।’ नेम्वाङले देश र जनताको पक्षमा अभियान चलाएको एमालेविरुद्ध अब जतिसुकै षडयन्त्र गरे पनि त्यो टिक्न नसक्ने दाबी गरे । ‘एमालेले अभियान चलाएपछि एमाले आयो, सूर्य आयो भन्नेहरू मात्र भेटिन्छन्’, नेम्वाङले भने, ‘अरू दलका साथीहरूले पनि अब एमालेलाई कसैले रोक्न नसक्ने भयो भनिरहेका छन् ।’

संविधानसभामार्फत सर्वमान्य संविधान जारी गर्ने महत्ववपूर्ण भूमिका खेलेको पार्टी एमालेले जनता र मुलुकबाहेक अरूलाई नचिन्ने उनको भनाइ छ । नेपालको नाम र झन्डा परिवर्तन गर्न खोज्नेलाई जनताले चुनावमा जवाफ दिने बताउँदै उनले भने, ‘मुलुकको हितविपरीतका गतिविधि गर्नेहरू कहिल्यै टिक्न सक्दैनन् ।’ कार्यक्रममा तीन सयभन्दा बढी अन्य पार्टीका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको एमाले मोरङका अध्यक्ष विनोद ढकालले बताए ।

एमालेको अभियान विफल पार्न मसाल जुलुस
राजविराज – एमालेको मेची-महाकाली राष्ट्रिय अभियानलाई विफल पार्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले आइतबार साँझ राजविराजमा मसाल जुलुस प्रदर्शन गरेको छ । नगर परिक्रमापश्चात् सहिद दर्शन चोकमा आयोजित कोणसभामा वक्ताले कुनै पनि हालतमा सप्तरीमा कार्यक्रम हुन नदिने घोषणा गरे । एमालेको अभियान सप्तरीमा हुन नदिने उद्घोष गरेका मोर्चाका नेताले सोमबार हुने कार्यक्रमको प्रतिकार गर्ने बताए ।

एमालेको कार्यक्रम बिथोल्ने रणनीतिअनुरूप मोर्चाले सोमबार चक्काजाम र लाठीजुलुस प्रदर्शन गर्ने घोषणा गरेको छ । एमालेको अभियान प्रतिकार गर्न अपिल गर्दै मोर्चाले गाउँ-गाउँमा माइकिङ र पर्चा वितरण गरिरहेको छ । एमालेको कार्यक्रम बिथोल्न खोज्दा हुन सक्ने सम्भावित झडपलाई लिएर तीन दिनयता प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखबीच सुरक्षा रणनीतिबारे निरन्तर छलफल भइरहेको छ । यसको तयारीस्वरूप जिल्लाको संवेदनशील स्थान तथा चोक-चोकमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।